२०७२ असार ११,
अभिनेत्री करिश्मा मानन्धरले विगतमा योग गरेर आफूलाई स्वस्थ बनाउने प्रयास गरेकी थिइन् । वैशाख १२ को भूकम्पपछि भने करिश्मा धार्मिक तथा आध्यात्मिक मार्गमा अग्रसर छिन् । साध्वी ऋतम्भराले भूकम्पपीडितहरूका लागि अस्थायी घर बनाउने जिम्मा आफूलाई दिएपछि करिश्मा पनि साध्वीकै संगतमा आध्यात्मिक मार्गमा अघि बढेकी हुन् । माताको संगतले अचेल करिश्मा ध्यान तथा प्रवचनमा पनि सक्रिय हुन थालेकी हुन् । काठमाडौंमा हालै सम्पन्न साध्वी ऋतम्भराको एकदिने विशेष ध्यान शिविरमा करिश्मालाई भेट्ने जो–कोहीले उनको अध्यात्मप्रतिको आकर्षण अनुभव गर्न सक्थे ।
कोसँग जम्ला कमेस्ट्री ?
साँच्चै, अनु शाहलाई भाग्यले साथ दिएको छैन । महजोडीको टेलिफिल्म ‘आमा’बाट उदाएकी अनु पहिलो चलचित्र ‘द युगदेखि युगसम्म’मा राजेश हमालकी बहिनीको भूमिका देखिएकी थिइन् । मनीषा कोइराला र राजेश हमालको जोडी बाँधिएको चलचित्र ‘धर्मा’मा पनि उनी नायिका थिइन् । चर्चा कमाएका चलचित्रहरूमा देखिए पनि उनले अनुमान गरे जति पनि चर्चा पाइनन् । चर्चामा रहेका नायकहरूसँग उनको केमेस्ट्री पनि खासै जमेन । बोली–व्यवहारमा असल अनुलाई वर्ष–०७२ भने फाप्ने लक्षण छ । भूकम्पका कारण रिलिज समयपछि सारिए पनि एक्सन नायक निखिल उप्रेती नायक तथा निर्देशक रहेको चलचित्र भैरवमा उनी एक मात्र नायिका छिन् । कुनै बेलाका सफल नायक निखिलको ‘कमब्याक’ चलचित्रमा उनीसँग केमेस्ट्री मिलाउने अनु उक्त चलचित्रबाट आफ्नो भाग्य चम्कने आशामा छिन् भने नायक जीवन लुइँटेलसँग केमेस्ट्री जमाउन चलचित्र ‘बाजिगर’मा काम गरिरहेकी छिन् । अनुलाई कामको कमी छैन, मात्र चाहिएको छ एउटा सुपरहिट चलचित्र र सुहाउँदो केमेस्ट्री ।
ब्रेकअपपछि अमेरिका ?
अभिनेत्री निशा अधिकारी यतिबेला अमेरिकामा छिन् । करियरले खासै गति लिन नसकिरहेका बेला निशा क्रिकेटर शरद भेषवाकरसँगको प्रेमसम्बन्धका कारण चर्चामा भने आइरहन्थिन् । यतिबेला निशाको अमेरिका यात्राको कारण शरदसँगको प्रेमसम्बन्ध ब्रेक हुनुलाई मान्नेहरू प्रशस्तै छन् तर निशाले फेसबुकमार्फत शरद र आफ्नो ब्रेकअप नभएको संकेत गरेकी छिन् । अचानक अमेरिका पुगेकी निशा अमेरिकामै सेटल हुनसक्ने सम्भावना रहेको उनका साथीभाइहरू बताइरहेका छन् तर निशाले यो संभावनालाई पनि नकारेकी छिन् । बजारको हल्लामा विश्वास गर्ने हो भने निशा शरदसँग विवाह गरेर अमेरिकामै सेटल हुन चाहन्थिन््, तर क्रिकेट करियरको उत्कर्षमा रहेका शरद त्यसमा सहमत भएनन् । टी–२० विश्वकपका लागि बेलायत पुगेका शरदले निशाको अमेरिका यात्राप्रति कुनै प्रतिक्रिया जनाएका छैनन् ।
टुटेकै हो दोस्ती ?
अभिनेता आर्यन सिग्देल तथा निर्देशक सुदर्शन थापाको मित्रता कुनै बेला नेपाली चलचित्र क्षेत्रमै उदाहरणीय मानिन्थ्यो । सुदर्शनको निर्देशनमा आर्यनले हालसम्म चारवटा चलचित्र ‘मेरो एउटा साथी छ’, ‘के यो माया हो’, ‘मेरो लभस्टोरी’ तथा ‘मधुमास’ मा अभिनय गरिसकेका छन् । भविष्यमा पनि यो जोडीले थुप्रै चलचित्रमा सँगै काम गर्ने अनुमान गरिएको थियो, तर पछिल्लो समय यी दुवै नजिकका मित्र एकअर्काको अनुहारसमेत हेर्न नसक्ने अवस्थामा पुगेका छन् । दुवैबीच पानी बाराबरको स्थिति सिर्जना भएको बताइन्छ । केही साताअघि सुदर्शनले गरेको नृत्यको आर्यनले उपहास गरेपछि दुवैबीच मनमुटाव पैदा भएको थियो । त्यसक्रममा दुवैबीच वादविवादसमेत भएको जानकारहरू बताउँछन् । हालै एउटा सार्वजनिक समारोहमा सहभागी भएका दुवैले एक–अर्काको अनुहारसम्म हेरेनन् । उनीहरूको मित्रताको अन्त्य हुनुमा कसको बढी दोष छ भन्ने कुरा खोजीको विषय हुन सक्छ । आर्यन र सुदर्शन कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको टेलिश्रृंखला ‘हाउसफूल’ मार्फत यो क्षेत्रमा फेरि सँगै आएका हुन् ।
स्रोत : साप्ताहिक