ताजा खबर

मनको डर हटाउन के गर्नुपर्ला ?

२०७२ असार ११,

मनको डर हटाउन के गर्नुपर्ला ?

आफूलाई सक्दो व्यस्त राख्ने, के कुरामा डर लागिरहेको छ, त्यो कुरालाई बेवास्ता गर्ने । जति सक्दो खाली वा एक्लै नबस्ने, काममा बिजी हुने।
– नन्दिता केसी, नायिका

सकेसम्म परिवार वा साथीहरूसँग रमाउने, ध्यान वा रिल्याक्सेसन थेरापी अपनाउने ।
– कृष्ण मल्ल, अभिनेता

डर एउटा यस्तो कुरा हो, जसलाई सजिलै हराउन सकिँदैन । यसलाई बिस्तारै कम गर्दै लान सकिन्छ । आफ्नो वरिपरिका निडर व्यक्तिहरूलाई हेरेर प्रेरणा लिन सकिन्छ । आफू निडर हुने उपाय सिक्न सकिन्छ । मुख्य कुराचाहिँ भन्न सजिलो हुन्छ तर व्यवहारमा लागू गर्नचाहिँ आफैंलाई गाह्रो हुन्छ ।

– सुशील नेपाल, सञ्चारकर्मी

मनको डर हटाउन आफूलाई जे कुरा रमाइलो लाग्छ, त्यही कुरामा रमाउनुपर्छ, सधैं आफूलाई खुसी राख्नुपर्छ ।
– अनुप सक्सेना, इभेन्ट म्यानेजर

चट्ट लगाएर दामी कुरा सोच्नुहोस्, हरेक रात मुस्कुराउँदै सुत्ने अनि विहान उठ्दा मुस्कुराउँदै उठ्ने । मनको डर छुमन्तर भैहाल्छ ।

– अनुप बराल, अभिनेता/निर्देशक

मनको डर हटाउन नियमित रूपमा योग गर्नुपर्छ । सकेसम्म हास्य चलचित्र हेर्नुपर्छ । रमाइला कार्यक्रममा आफुलाई संलग्न गराउनुपर्छ ।
– बादल प्रसाईं, गायक

मनको डर हटाउन कहिल्यै ड्रिंक नगर्ने । म अलि–अलि ड्रिंक गरेर डर हटाउने प्रयासमा लागे । तर के गर्नु ड्रिंक नै गरे पनि जब भूकम्पको झट्का आउँथ्यो, त्यसले सबै नशा छुटाइदिन्थ्यो ।
– निर्मल सेन्चुरी, नायक

मनको डर हटाउने उपाय धेरै छन् । रोमान्टिक चलचित्र हेर्ने, मीठा–मीठा गीत सुन्ने, रोमान्टिक पुस्तक अध्ययन गर्ने । यति गर्दा पनि हटेन भनेचाहिँ जोडी नै खोज्नुपर्छ ।

– नभ ढुंगेल, निर्देशक/सञ्चारकर्मी

नयाँ साथी बनाउने, पुरानासँग भेटघाट गर्ने, समूहमा बस्ने, सरसफाइ, नाचगान, चलचित्र जस्ता सामूहिक कार्यमा लाग्ने र हाम्रा हास्य कलाकारहरूलाई टोल–टोलमा खटाउने ।
– रिमा विश्वकर्मा, नायिका

मनबाट डर भन्ने कुरा हटाउन मनमा डर नै नराख्ने ।
– मुकेश ढकाल, नायक

सलमान खानले डर के आगे जित है भनेर ड्युको विज्ञापन गरेका छन्, त्यसैले डर भगाउन अब ड्यु नै पिउनुपर्ला ।
– सुरजसुब्बा नाल्बो, निर्देशक

डर हटाउन त्यति सजिलो त छैन, मात्र सतर्कता अपनाउन सकिन्छ । जोखिमबाट जोगिन सकिने उपायमा चासो राख्नुपर्‍यो । यति गते यो बार यो समयमा भूकम्प आउँछ भन्न सकिँदैन भन्ने कुरा मात्र बुझिदिए पनि पुग्छ । काठमाडौं भूकम्पप्रभावित क्षेत्र रहेछ, त्यसैले अब केयरफुल हुनु आवश्यक छ ।
– निर्मल शर्मा गैंडा, कलाकार निर्देशक

डर मानिसको सोच हो । यो सोच मानिसको सबैभन्दा ठूलो दुस्मन हो । त्यसलाई हटाउन आफ्नो क्षमता र मेहनतमा विश्वास गर्ने, आत्मनिर्भर बन्ने, सधैं आशावादी रहने, विशेषत: सकारात्मक कुरा बढी सोच्ने ।
– सन्जोग बस्याल, सञ्चारकर्मी

मनको डर हटाउन त्यसलाई जित्नु आवश्यक छ । जबसम्म हामी डरलाई जित्न दिन्छौं, त्यसले जिन्दगीभर हामीलाई सताउँछ ।
– कपिलमणि दीक्षित, आर्टिस्ट

मनको डर हटाउन आफूलाई सक्दो कामकाजमा व्यस्त बनाउनुपर्छ । व्यस्त भएपछि कुनै पनि कुरा सोच्ने फुर्सद हुँदैन । फुर्सदमा पनि शान्त रहने, रमाइला कार्यमा मन लगाउने ।
– प्रल्हाद तिमल्सिना, गायक

मनको डर हरेक मानिसमा हुन्छ । मनको डर हटाउन आफूमा विश्वास जगाउन सक्नुपर्छ । योग र ध्यानले पनि मनको डर हटाउन मद्दत गर्छ ।
– स्मृति पोखरेल, गायिका

स्रोत : साप्ताहिक

Related posts