उत्कृष्ट विषयहरू

२०७२ असार ११,

एसएलसी परीक्षाको नतिजापछि सबै उत्तीर्ण विद्यार्थीको ध्यान उच्च शिक्षामा केन्द्रीत भएको छ । एसएलसीसम्मको अध्ययनमा लगभग सबै विद्यार्थीले एकै प्रकारको पाठ्यक्रम अध्ययन गरे पनि एसएलसीपछि रोजाइको संकाय अध्ययन गर्न पाउँछन् । यतिबेला विद्यार्थीले जुन संकाय रोज्छन्, उनीहरूको करियर पनि लगभग त्यही क्षेत्रसँग जोडिन्छ । एसएलसी उत्तीर्ण भएपछि विज्ञान संकाय रोज्ने विद्यार्थीले प्लस टु वा प्रमाणपत्र तह उत्तीर्ण गरेपछि अन्य संकायमा गएर अध्ययन गर्ने अवसर पाए पनि व्यवस्थापन, मानविकी वा शिक्षा संकाय अध्ययन गर्नेले विज्ञान संकायमा जान पाउँदैनन् । त्यस्तै व्यवस्थापन संकाय अध्ययन गर्ने विद्यार्थीले स्नातक तहमा मानविकी संकायमा जान पाउने भए पनि मानविकी संकायका विद्यार्थीलाई व्यवस्थापनमा जान गाह्रो हुन्छ । यो दृष्टान्तले पनि विद्यार्थीले कुन विषय रोज्ने भन्ने निर्णय अहिले नै गर्नुपर्ने हुन्छ । नेपालमा परम्परागत रूपमा लोकप्रियताको सूचीमा दरिएका केही विषय :

चिकित्साशास्त्र

चिकित्सक वा डाक्टर बन्न मेडिकल अर्थात् चिकित्साशास्त्र विषयको अध्ययन आवश्यक छ । प्लस टुमा विज्ञान विषय लिएपछि मेडिकल विषय अध्ययन गर्न सकिन्छ । मेडिकलमा पनि विभिन्न विधा हुन्छन् । आफूलाई रुचि लाग्ने कुनै एक विधाको विज्ञ बनेर काम गर्न सकिन्छ ।

इन्जिनियरिङ

इन्जिनियरिङ पहिलेदेखि नै धेरैको रोजाइको विषय हो । प्लस टुमा विज्ञान पढेकाहरूले प्रतिस्पर्धात्मक रूपमा विभिन्न शैक्षिक संस्थामा इन्जिनियरिङ पढ्न पाउँछन् । इन्जिनियरिङमा पनि सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्युनिकेसन, आर्किटेक्चर आदि विभिन्न विधा हुन्छन् । एसएलसीपश्चात् विज्ञानमा प्लस टु अथवा आइएस्सी गरेका र ओभरसियर उत्तीर्णहरूले पनि इन्जिनियरिङका लागि आवेदन दिन सक्छन् ।

पाइलट

प्लस टुपछि पाइलट कोर्स अध्ययन गर्न सकिन्छ । पाइलट नेपालका लागि मात्र नभएर सबै देशका लागि आकर्षक कोर्स हो । यो कोर्सको गर्न अहिले नेपालमा पनि धेरै शैक्षिक संस्थाहरू उपलब्ध छन् ।

व्यवस्थापन

व्यवस्थापन जुनसुकै विषयवस्तुसँग जोडिएको हुन्छ । आफ्नै घरको समेत व्यवस्थापन आवश्यक हुन्छ भने अन्य क्षेत्रमा यो विषय नहुने कुरै भएन । एउटा राम्रो व्यवस्थापक बन्न व्यवस्थापन विषय पढ्नु आवश्यक हुन्छ ।

सिए

चार्टर्ड एकाउन्टेन्टन्सी अर्थात् सिए पहिले देखि नै सबैको रोजाइको विषय हो । कुनै पनि कार्यालयको हिसाब–किताब चुस्त–दुरुस्त राख्न सिएको भूमिका महत्वपूर्ण हुन्छ । कमाइ पनि प्रशस्तै हुने हुँदा यो कोर्समा धेरैको आकर्षण छ । विश्वको जुनसुकै स्थानमा पुगेर पनि यसको प्रयोग गर्न सकिन्छ ।

वनविज्ञान

वनविज्ञान अर्थात् फरेस्ट्री नेपालको सन्दर्भमा निकै आकर्षक विषय हो । नेपालमा भएका विभिन्न वनजंगल, निकुञ्ज र आरक्षको संरक्षण एवं तिनको प्रवद्र्धन गर्न विभिन्न निकाय कार्यरत छन् । त्यसैगरी विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले समेत यो क्षेत्रमा कार्य गरिरहेका छन् ।

आइटी अर्थात सूचना–प्रविधि

नेपालमा समेत आइटीको क्रेज बढ्दै गएको छ । अब कुनै पनि क्षेत्र आइटीबिना संचालन हुन सम्भव छैन । आइटीको क्षेत्रमा दक्ष व्यक्ति नै भविष्यमा एउटा सफल व्यक्ति बन्न सक्छ । आइटीअन्तर्गत विभिन्न विषय अध्यापन हुन्छ । प्लस टुमा कम्प्युटरसँग सम्बन्धित विभिन्न कोर्स गर्न सकिन्छ ।

अधिवक्ता

अधिवक्ताको काम न्यायालयमा पुगेर विभिन्न विषयवस्तुमा बहस अथवा कानुनका दफाहरूका बारेमा छलफल गर्नु हो । यसका लागि कानुनको अध्ययन गर्न सकिन्छ । हाल नेपालमा स्नातकपछि मात्र कानुनको अध्ययन गर्न सकिन्छ, तर त्यसका लागि अहिलेदेखि नै आफूलाई तयार राख्न सकिन्छ । प्लस टुमा जुनसुकै विषय पढे पनि स्नातकमा कानुन अध्ययन गर्न सकिन्छ ।

होटल तथा टुरिज्म म्यानेजमेन्ट

नेपाल अथाह पर्यटकीय सम्भावना भएको देश हो । सुन्दर प्राकृतिक संरचना भएकाले प्रसस्तै विदेशी पर्यटक नेपाल आउँछन् । उनीहरूलाई स्वागत सत्कार गरेकै भरमा राम्रै पैसा कमाउन सकिन्छ । स्वागत सत्कारको शैली भने उत्कृष्ट बनाउनु आवश्यक छ । यही कुरालाई मध्यनजर गरी विभिन्न शैक्षिक संस्थाले होटल एवं टुरिज्मसम्बन्धी अध्यापन गराउँछन् ।

नयाँ र सम्भावनायुक्त विषय

विश्वमा अध्ययनका लागि धेरै विषय उपलब्ध छन् । सबै विषय नेपालका लागि सान्दर्भिक नहुन सक्छन् । कतिपय विषय नेपालको भौगोलिक परिवेश र परिस्थितिका लागि उपयुक्त पनि छन् । कतिपय विषय विश्व बजारका लागि नौला भए पनि निकै सम्भावनायुक्त छन् । त्यस्ता केही विषय :

बायो–मेडिकल इन्जिनियरिङ

बायो–मेडिकल इन्जिनियरिङ बिज्ञान र प्रविधिको यस्तो क्षेत्र हो, जसलाई जीव विज्ञान र इन्जिनियरिङको सेतु मानिन्छ । यो कोर्सअन्तर्गत जेनेटिक्स, बायोकेमिस्ट्री, माइक्रोबायोलोजी, केमिकल रियाक्सन आदिका बारेमा अध्ययन गरिन्छ । यसले बायोलोजिकल र हेल्थ सिस्टमको विकासमा गणित र वैज्ञानिक सिद्धान्तको प्रयोग गर्छ । स्वास्थ्य क्षेत्रका बिज्ञहरूले प्रविधिको प्रयोगले उपचारलाई अझै सहज बनाउन सक्छन् । स्वास्थ्य क्षेत्रका विभिन्न उपकरण, प्रणाली तथा प्रक्रियाको विकास गर्ने र स्वास्थ्य एवं चिकित्सकीय समस्याको समाधानका लागि तिनको प्रयोगका बारेमा यो विषयमा अध्ययन गरिन्छ । सन् २०१८ सम्म बायोमेडिकल इन्जिनियरिङका क्षेत्रमा काम गर्ने मानिसहरूको माग ७२ प्रतिशतले बढ्ने अमेरिकाको ब्युरो अफ लेबर स्ट्याटिस्टिक्सको अनुमान छ । नेपालमा पनि यसको माग बढिरहेको छ ।

रिह्याब थेरापिस्ट

मानिसहरू भौतिक वा मानसिक रूपमा कमजोर हुने क्रम बढ्दो छ । कुनै कारणले शारीरिक दुर्घटनासमेत हुन्छ । यसका कारण शारीरिक तथा मानसिक समस्या पनि बढ्छ । फुटबल, क्रिकेट तथा अन्य खेलमा नेपालको बढ्दो लोकप्रियताका साथै खेलाडीलाई पनि विभिन्न प्रकारका थेरापीको आवश्यकता पनि बढ्दै गएको छ । विभिन्न दुव्र्यसनमा लागेर फेरि पहिलेकै राम्रो अवस्थामा फर्कन चाहनेहरू पनि प्रशस्तै हुन्छन् । सबैका लागि शारीरिक तथा व्यवसायिक थेरापीको आवश्यकता पर्छ । यी सबै कार्यका लागि दक्ष थेरापिस्टको आवश्यकता हुन्छ । यो एउटा सामाजिक जिम्मेवारी पनि हो । त्यसैले यस्ता विषय पढेर त्यसैअनुसारको योजना बनाउन सकिन्छ ।

डिजास्टर म्यानेजमेन्ट

भूकम्पले हाल सबै नेपालीको मनमा गहिरो डेरा जमाएको छ । त्यसबाहेक बाढीपहिरो र अन्य प्राकृतिक प्रकोप पनि नेपालीहरूका लागि बाध्यता बनेको छ । यी सबै प्राकृतिक प्रकोपको क्षतिलाई कम गर्नुका साथै नेपालीलाई सुरक्षित गराएर उचित व्यवस्थापन गर्नु आवश्यक हुन्छ । त्यसैले अहिले र भविष्यमा समेत विभिन्न सरकारी, गैरसरकारी तथा जोखिमयुक्त क्षेत्रमा डिजास्टर म्यानेजमेन्टसँग सम्बन्धित व्यक्तिहरूको माग बढिरहेको छ । यसका लागि डिजास्टर म्यानेजमेन्टका बारेमा ज्ञान हुनुका साथै तुरुन्तै निर्णय लिने क्षमता आवश्यक हुन्छ । त्यसैगरी शारीरिक एवं मानसिक रूपमा मजबुत हुनुका साथै कुनै पनि समय आकस्मिक मद्दतका लागि तयार रहनु आवश्यक हुन्छ ।

सोसल मिडिया म्यानेजर

सोसल मिडिया पछिल्लो समयमा विकसित प्रविधि हो । आर्ट्स, कमर्स वा इन्जिनियरिङ सबै विषय पढेकाहरू तथा सबै क्षेत्रका लागि यस्ता सोसल मिडियाको राम्रो व्यवस्थापन आवश्यक हुन्छ । धेरै कार्यालयले सोसल मिडिया म्यानेजरका रूपमा कर्मचारी भर्ना गर्न थालेका छन् । यसका लागि अन्य कुराका अतिरिक्त कम्प्युटर प्रविधि तथा सोसल मिडियाका बारेमा समेत जानकार हुनु आवश्यक हुन्छ । उनीहरूले विभिन्न वेबसाइटको समीक्षा गरेर बजार रणनीति निर्माण गर्छन् र वेब कन्टेन्टको गुणस्तर सुधार्न पहल गर्छन् । यसका लागि अनलाइन ब्रान्डिङका वारेमा समेत जानकारी हुनु आवश्यक छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध

अहिले संसार सम्बन्धका हिसाबले साँघुरिदै गएको छ । विभिन्न वाद, विचार एवं राजनीतिक विचारका आधारमा विभिन्न देशका बीचको सम्बन्धमा पनि उतारचढाव आइरहन्छ । यो अवस्थामा सबै देशसँग सुमधुर सम्बन्ध कायम राख्नका लागि देशमा योग्य जनशक्तिको आवश्यकता हुन्छ । यो आवश्यकता पूरा गर्न अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययनले सहयोग पुर्‍याउँछ ।

पोलिटेक्निकल विषयहरू

प्रविधिको बढ्दो प्रयोगसँगै छोटो समयका सीपमूलक विषयहरूको अध्ययन पनि धेरैको रोजाइमा पर्न थालेको छ । नेपालको सन्दर्भमा कुरा गर्दा १५ महिनादेखि ३ वर्षसम्मको समयमा सम्पन्न गरिने हेल्थ असिस्टेन्ट, ओभरसियर, ल्याब असिस्टेन्ट, नर्सिङ, विभिन्न प्रकारका टेक्निसियनजस्ता विषयको अध्ययनले जीवनयापनका लागि सहज मार्ग अपनाउन सहयोग पुर्‍याउँछन् । यही कुरालाई मध्यनजर गर्दै यो वर्ष नै प्राविधिक एसएलसीको व्यवस्था गरिएको छ भने देशका विभिन्न भागमा पोलिटेक्निकल इन्स्टिच्युटहरू स्थापना गर्ने क्रम पनि बढिरहेको छ ।

कमर्सियल एग्रिकल्चर

नेपाल कृषिप्रधान देश हो, तर पनि उन्नत प्रविधिको प्रयोग गरी कृषि कार्य गर्ने चलनको विकास अझै भैसकेको छैन । पछिल्लो समयमा पशुपालन र अन्नबाली उत्पादनमा धेरै युवासमेत सक्रिय भएको पाइन्छ, तर पनि उनीहरूले यसका लागि आवश्यक अध्ययन भने गरेका छैनन् । वास्तवमा कृषिलाई व्यवसायीकरण गर्न यो क्षेत्रको अध्ययन गरेका व्यक्तिहरूको पनि आवश्यकता हुन्छ ।

वातावरण विज्ञान

पृथ्वी वरिपरिको वातावरण निकै परिवर्तन भैरहेको छ । मानवीय एवं अन्य गतिविधिका कारण पृथ्वीको अस्तित्वमै खतरा आउने अनुमानसमेत गरिन्छ । यो अवस्थामा वातावरणलाई स्वच्छ राख्न यो क्षेत्रको अध्ययन गरेका दक्ष जनशक्तिको आवश्यकता हुन्छ ।

विषयको फ्युजन

प्लस टुमा विषयलाई नै बढी ध्यान दिइएको पाइन्छ, तर अबको जमानामा विभिन्न विषयको फ्युजनको समेत आवश्यकता छ । नेपालकै कुरा गर्दा अहिले इन्जिनियरिङ अध्ययन गरेका धेरै बिद्यार्थीले म्यानेजमेन्ट समेत पढ्न थालेका छन् । एउटा राम्रो इन्जिनियरले आफ्ना कामदार र कार्यालयलाई व्यवस्थापन गर्नु पनि आवश्यक छ । अन्य देशको कुरा गर्दा विज्ञान पढेकाहरूले मनोविज्ञान समेत पढ्न थालेका छन् ।

जुनसुकै विषय अध्ययन गरे पनि आइसिटी अर्थात् इन्फोर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजीको अध्ययन सबैले गर्नु आवश्यक छ । पछिल्ला केही वर्षयता शिक्षा विषयमा समेत यो विषयलाई समेटिएको छ । प्लस टुपछि शिक्षा विषयमा स्नातक वा स्नातकोत्तर अध्ययन गर्नेहरूले आइसिटी पनि रोज्न सक्छन् ।

स्रोत : साप्ताहिक

Related posts