२०७२ असार ११,
२ लाख १० हजार विद्यार्थीका पाइला १० वर्षे स्कुले अध्ययनलाई औपचारिक रुपमै ‘बाई–बाई’ गर्दै अघि लम्किएका छन् । यो ‘जर्नी’ अर्थात् यात्राका निम्ति माथिल्लो तहको शिक्षाले पनि उनीहरूलाई सहर्ष स्वागत गरिरहेको छ । किशोर उमेरको मध्यावधि मानिने १६–१७ को चञ्चल अवस्थामा निर्णायक नयाँ बाटो तय गर्नु नै यो उमेर समूहका निम्ति मुख्य चुनौती हो । त्यसैले बलियो आत्मविश्वास, धैर्यता र धेरै कुरा बुझेर मात्र अघि बढ्नुपर्छ । एसएलसीको परिणाम लगत्तै भर्ना प्रक्रिया सुरु भैसकेको छ । उत्तिर्ण विद्यार्थीमा कहाँ अध्ययन गर्ने, कस्तो शिक्षण संस्था रोज्ने, कुन विषय लिएर अध्ययन गर्नेजस्ता प्रश्नले डेरा जमाएको छ ।
एसएलसीपछिको यात्रा तय गर्ने क्रममा अधिकांश विद्यार्थी तथा उनीहरूका अभिभावक अन्यौलमा हुनु स्वभाविक पनि हो । अबको यात्राका क्रममा जुन निर्णय लिइन्छ, लगभग उसको करियर त्यही निश्चित हुन्छ । मुख्य कुरा, प्लस टु सरहको शिक्षालाई उच्च शिक्षाका क्रममा सबैभन्दा आधारभुत तह मानिन्छ । यो समयमा विद्यार्थीले लिएको निर्णय र यो तहको अध्ययनमा गरेको मेहनतले उसको भविश्य तय गरेको हुन्छ । विषयगत रूपमा अहिले रोजेको विषयमा नै उसले भविष्यमा विशेषज्ञता हासिल गर्ने भएकाले अहिलेको समयमा सही निर्णय लिन सक्नुपर्छ । यसका लागि उत्कृष्ट शिक्षण समूह भएको सही शिक्षण संस्था रोज्नुपर्छ भने त्यस्तो संस्था आफू बस्ने स्थानबाट दुरीका हिसाबले नजिक हुनुपनि उत्तिकै आवश्यक हुन्छ ।
‘मुलुककै सर्वोत्कृष्ट टिचिङ फ्याकल्टी, इ–लाइब्रेरी, डिजिटलाइज्ड क्लास रुम, हाई ब्यान्डविथ इन्टरनेट नेटवर्किङ सिस्टमको व्यवस्था, इन्डस्ट्रियल टुर आदि सबै सुविधा छन्,’ अहिलेका निजी उमाविहरूले विद्यार्थी आकर्षित गर्न भनिने कुरा हुन् यी । यसबाहेक राष्ट्रिय स्तरमै ख्याति कमाएका खेलकुद (फुटवल, क्रिकेट, भलिबल, स्वीमिङ, टेनिस, जनरल नलेज) का सर्वोत्कृष्ट प्रशिक्षक भएको पनि उनीहरू बताउँछन् । विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ती एउटा शिक्षण संस्थाले यसरी सबै पक्ष भएको बताउनु राम्रो कुरा त हो, यसले विद्यार्थीलाई फाइदा पनि पुर्याउँछ तर यो तह विशेष रूपमा अध्ययनमा मेहनत गर्नुपर्ने तह भएकाले विद्यार्थीले मुख्य रूपमा उत्कृष्ट टिचिङ फ्याकल्टिज नै रोज्नुपर्छ । विद्यार्थी भर्ना गर्ने समयमा उमाविहरूले देखाउने सपनाको संसारमा नउडी यथार्थमा आफ्नो अनुकूलको विषयमा रहन सक्नुपर्छ । शैक्षिक वातावरण दिने विषयमा मात्र केन्द्रित नरहेर एडिसनल सुविधाका कुरा पनि सुनाउनु विद्यार्थी आकर्षित गर्ने मेसो मात्र हो ।
यो समयमा सबै शिक्षण संस्थाले ‘मेरो राम्रो’ भन्ने भएकाले पनि किशोर–किशोरीहरू अन्यौलको सकसमा पर्छन् । महाभूकम्प पछि सहर खासगरि काठमाडौं नै हान्निने पुरानो ट्रेन्ड यसपटक कम हुने भएकाले अब काठमाडौंकै विद्यार्थीलाई आ–आफ्नो शैक्षिक संस्थामा ल्याउन हुने कसरत पनि उत्तिकै हुनेछ । त्यसैले यसको फाइदा एसएलसी उत्तिर्ण विद्यार्थीहरूले लिन सक्नुपर्छ । एउटा विद्यार्थीले दशौं उमाविको अवस्था बुझेर सही उमावि छनौट गर्न सक्नुपर्छ । यस्तै मोफसलको हकमा मुलुकका विभिन्न सहर तथा सदरमुकाममा राम्रा शिक्षण संस्था सञ्चालनमा छन् । मेहनती विद्यार्थीले स्थानीय शिक्षण संस्थामा अध्ययन गरेर पनि उपलब्धि हासिल गरेका थुप्रै उदाहरण छन् । त्यसैले प्लस टु गर्नकै लागि काठमाडौं धाइरहनु पर्दैन । राम्रो कुरा पछिल्ला वर्षहरूमा मोफसलमा पनि राम्रा शैक्षिक संस्थाहरू उपलब्ध भएपछि केही विद्यार्थी त्यतै अड्किन थालेका छन् ।
एउटा जग्गा खरिद गर्न होस् वा नयाँ घर बनाउन नै किन नहोस्, त्यो काम फत्ते गर्ने क्रममा मानिसको जुत्ता अवश्य फाट्छ, भन्नुको तात्पर्य त्यो समयमा उसले अथक मेहनत गर्नुपर्ने हुन्छ । शिक्षाविदहरूका अनुसार एसएलसी पछिको २ वर्षे शिक्षालाई त्यसरी नै बुझ्नुपर्छ । यो समय विद्यार्थीले अथक मेहनत गरेर सुनौली भविष्यको जग निर्माण गर्न सक्छन् । त्यसैले सुरुवातमा जतिसक्दो धेरै उमाविका बारेमा बुझेर सही उमावि छनौट गर्नुपर्छ । धेरै कलेज भ्रमण गर्दा आफूलाई उपयुक्त शैक्षिक वातावरण कहाँ छ भन्ने कुरा विद्यार्थीले बुझ्न सक्छन्, यो विद्यार्थीका लागि सबैभन्दा राम्रो पक्ष हो । मनले खाएको उमाविमा उसले मन लगाएर अध्ययन गर्न सक्छ । साथसाथै कुनै उमावि कस्तो छ, त्यहाँको शैक्षिक स्तर कस्तो छ भन्ने बुझ्नु छ भने विगतमा उक्त उमाविबाट उत्तीर्ण गरेको सिनियर विद्यार्थीसँग परामर्श लिन सकिन्छ । यसले शैक्षिक संस्थाको अवस्था दुरुस्त थाहा हुन्छ ।
हुन त यो उमेरमा १० वर्षको विद्यालयजीवनबाट उन्मुक्त भएको मान्छन्, किशोर किशोरीहरू । एसएलसीपछिको शिक्षालाई स्वतन्त्र मान्ने विगतदेखिकै मान्यताले पनि यसलाई थप बल पुर्याएको छ । अहिले स्वच्छन्द वातावरणमा रम्ने दृष्टिकोण राख्नु आफ्नै निम्ति घातक हुन्छ । किशोर–किशोरीकै भाषामा भन्ने हो भने ‘मोनोटोनस’ स्कुले जीवनपछि उन्मुक्तिको श्वास फेर्दै जीवनको अर्को चरण अर्थात ‘करिअर–ओरिएन्टेड’ पाठ्यक्रमतर्फ उनीहरू लम्किएका हुन् । त्यसैले उनीहरूले अबको यात्राचाहिँ आफ्नो जीवनको टर्निङ प्वाइन्ट हो भन्ने मान्नुपर्छ ।
एसएलसी विशिष्ट श्रेणीमा उत्तीर्ण सलोनी भट्टराईलाई अहिले उच्च शिक्षाका क्रममा दुईवटा विषयमध्ये कुन विषयमा उच्च शिक्षा हासिल गर्ने भनेर छनौट गर्न गाह्रो भएको छ । अवसरका हिसाबले दुवै आकर्षक लाग्छन् । अन्यौलको यो अवस्थामा दुवै विषयका बारेमा प्रशस्त जानकारी हासिल गरेर निर्णय लिनुपर्ने सल्लाह सुझाव उनले पाएकि छिन् । ती विषयमध्ये अहिलेको समयमा कुनमा धेरै अवसर छ भनेर बुझिराछु, सलोनी भन्छिन्– ‘त्यस्तै दुई विषयमध्ये कुनै एकको के कुराले उक्त विषयप्रति आफू आकर्षित भएको हो थाहा पाए पनि विषय छनौट गर्न सजिलो हुने सल्लाह पाएकी छु ।’ दुव विषयका सम्भावनाहरूका बारेमा जानकारी लिइयो भने त्यसबाट पनि भविष्यमा कस्तो किसिमको काम गर्न आफूलाई रुचि हुनेछ भन्ने थाहा पाइन्छ । त्यसपछि यो समस्या पनि सहजै हल हुन्छ ।
जसले जे भनेर सल्लाह दिए पनि कुनै विषयप्रति विद्यार्थीको लगाव छ भने उसले त्यसका बारेमा सुनेका तमाम नकारात्मक कुरा बिर्सिएर आफ्नो रुचिको विषय नै छनोट गर्नुपर्छ । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा वा भोकेसनल कोर्स नै होस्, सबैमा राम्रोसँग उच्च शिक्षा हासिल गर्ने व्यक्तिले जीवनमा सफलता प्राप्त गर्ने निश्चित छ । विद्यार्थी आफ्नो रुचिको विषयमा स्पष्ट भए उसले त्यो विषयमा राम्रो गर्न सक्छ । आफ्नो रुचिको विषय कुन हो भन्ने थाहा पाउन नसके, पछिल्लो परिणामको मार्कसिट हेरेर रुचिको विषय थाहा पाउन सकिन्छ । जुन विषयमा राम्रो नम्बर आएको छ, त्यो नै विद्यार्थीको रुचिको विषय हुन्छ ।
शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार कुनै संकाय रोजेर त्यसमा उच्च शिक्षा हासिल गर्ने बाटोमा अघि बढेका विद्यार्थीहरूले त्यो विषय अध्ययन गरेर भविष्यमा कस्तो–कस्तो सम्भावना वा अवसर पाइन्छ भनेर अहिले नै जानकारी लिनुपर्छ । त्यतिमात्र होइन, संकाय छनोट जत्तिकै महत्त्वपूर्ण कुरा राम्रो कलेज छनोट पनि हो । महँगो शुल्क तिर्दैमा राम्रो शिक्षा पाइने अवश्य होइन । भविष्यमा अध्ययन गर्न चाहने मेडिकल, इन्जिनियरिङ, सीएजस्ता विषय अध्ययनका लागि कहाँ गएर प्रवेश परीक्षाको तयारी गर्ने, अध्ययन गर्ने भन्ने कुरा मध्यनजर गर्नुपर्छ । यसका लागि उक्त संकाय वा विषयका बारेमा स–साना जानकारी पनि हासिल गर्नुपर्छ । जानकारीका लागि इन्टरनेटको प्रयोग गर्न सकिन्छ । त्यसभन्दा महत्त्वपूर्ण कुरा आफूले जुन संकाय वा विषयका बारेमा अध्ययन गरिँदैछ त्यही पढिरहेका विद्यार्थी वा त्यो विषय पढिसकेका विद्यार्थीसँगको अनुभव सेयर गर्न सकिन्छ ।
सही शिक्षण संस्था रोज्नुपर्छ
ऋषि तिवारी, प्रिन्सिपल, पिनाकल एकेडेमी लगनखेल
प्लस टुमा भर्ना हुने विद्यार्थीले कस्तो उमावि रोज्ने ?
विद्यार्थीले मुलत ६ वटा कुरामा ध्यान दिनु आवश्यक छ । पहिलो उमाविको विगतको शैक्षिक परिणाम । दोस्रो अनुभवी शिक्षण र व्यवस्थापन समूह । तेस्रो उमाविको शैक्षिक एवं भौतिक वातावरण । चौथो उमाविको स्थानिय समाजसँगको सम्बन्ध । पाँचौ अतिरिक्त क्रियाकलाप । छैटौंमा उमाविबाट अध्ययन पुरा गरेका विद्यार्थीहरूको प्रतिक्रिया । यी कुराको ख्याल गरे सही शिक्षण संस्था सहजै फेला पार्न सकिन्छ ।
तीव्र प्रतिस्पर्धाका कारण मेरो कलेज राम्रो अरूको नराम्रो भन्ने ट्रेन्ड पनि विकास भएको देखिन्छ नि ?
स्वस्थ प्रतिस्पर्धा हुनु एकदमै राम्रो पक्ष हो तर गलत तरिकाले विद्यार्थीलाई झुक्याउने गरी विज्ञापन प्रकाशित गर्ने वा भ्रम सिर्जना गर्नु उपयुक्त होइन । राम्रा शिक्षण संस्था उसको शैक्षिक उपलब्धिले स्थापित हुँदै जान्छन्, गलत सोचबाट अभिप्रेरितहरू समयक्रममा हराउँछन् । अहिले त एसएलसीमा उत्तीर्णदर कम तथा उमाविको संख्या बढी हुनुले पनि प्रतिस्पर्धा बढेको हो । तर, एसएलसी उत्तीर्ण भएर राम्रो उच्च शिक्षाको खोजीमा भौतारिएका विद्यार्थीका लागि पनि यो प्रतिस्पर्धाले राम्रो गरेको छ । शैक्षिक मर्यादा नाघेर विद्यार्थी तान्ने प्रयास गर्नु हुँदैन । यो समयमा मर्यादित प्रतिस्पर्धा आवश्यक छ ।
विद्यार्थीका लागि केही टिप्स ?
प्लस टु तह उच्च शिक्षाको सबैभन्दा महत्वपूर्ण तह हो । चिकित्सक, इन्जिनियर, बैंकर्स, चार्टड एकाउन्टेन्ट, अधिकृतजस्ता क्षेत्रमा जान यो तहमा अध्ययन गरेको पृष्ठभूमिले काम गर्छ । यो समयमा विद्यार्थीले आफ्नो स्वार्थ हेर्नुपर्छ न कि कलेजको । उच्च शिक्षाको लक्ष्यप्राप्त गर्न माथि उल्लेखित कुरालाई ध्यान दिएर उमावि छनौट गर्नु आवश्यक छ । साथीभाइ तथा विज्ञापनको भरमा मात्र कलेज छनौट गर्नु हुँदैन ।
विद्यार्थीहरूलाई सामुदायिक उमावितर्फ अभिप्रेरित गर्न के गर्नुपर्ला ?
निजी उमाविमा अध्ययन गर्नु विद्यार्थीको बाध्यता पनि हो । सामुदायिक उमाविमा पर्याप्त रिसोर्सेज हुँदा हुँदै पनि त्यहाँको परिणाम राम्रो छैन, किनभने त्यहाँको टिचिङ लर्निङ प्रोसेस इफेक्टिभ छैन । नियमित कक्षा हुँदैन । कुनै पनि सामुदायिक उमाविले विद्यार्थीको क्षमता हेरेर उसलाई अतिरिक्त कक्षाको आवश्यकता छ–छैन हेर्दैन । हामीले त प्रतिस्पर्धाकै लागि भएपनि विद्यार्थीलाई सफल बनाउन सक्दो प्रयास गर्छौं । भविश्यमा उसले रोजगारी प्राप्त गर्ने बाटो निर्माण गर्छौं । विद्यार्थीले मेडिकल, इन्जिनियरिङको प्रवेश परीक्षामा सहजै सफलता हासिल गरुन भनेर त्यसलाई सपोर्ट गर्ने किसिमका नियमित कक्षाहरू सञ्चालन गर्छौ ।
तपार्इंको उमाविका बारेमा केही भन्नु छ ?
पिनाकल उमावि, लगनखेलले राजधानीका उमाविहरूबीच छुट्टै परिचय स्थापित गरिसकेको छ । हामी प्लस टुमा बोर्डटपर जन्माउने उमाविका रूपमा पनि चिनिएका छौं । विद्यार्थीलाई लक्षित गन्तव्यमा पुर्याउन सक्ने उमाविका रूपमा पिनाकलको यो उपस्थितिलाई हामी सञ्चालक एवं प्राध्यापकहरूको टिमले तल झर्न दिँदैनौं । सीपमूलक शिक्षा र करियर काउन्सिलिङलाई पनि प्लस टु शिक्षासँगै लाने यो वर्षदेखिको नयाँ कार्ययोजना हो, जुन समाज र राष्ट्रका लागि आवश्यक पनि छ ।
स्रोत : साप्ताहिक