‘बेजुबान इश्क’ र ‘मिस टनकपुर हाजिर हो’

२०७२ असार ११,

बेजुबान इश्क

निर्देशक : जसवन्त गंगानी

कलाकार : मुग्धा गोड्से, स्नेहा उल्लाल, निशान्त मल्कानी, फरिदा जलाल तथा सचिन खेडेकर ।

संगीतकार : बबली–रुपेश

शुक्रबार सार्वजनिक हुने बलिउड चलचित्र ‘बेजुबान इश्क’ प्रेम कथामा आधारित छ । चलचित्रमा एउटा रमाइलो प्रेम सम्बन्धलाई चित्रण गरिएको छ जुन आजको समयको त हो तर परम्परागत मूल्य–मान्यताले सजिएको छ । चलचित्रको कथा यसका तीन मुख्य पात्र सुहानी, स्वागत तथा रुमझुमबीचको प्रेमसम्बन्धमा आधारित छ । मुम्बईकी एउटी अत्याधुनिक युवती हुन् सुहानी, जो इन्टर्मिटेन्ट एक्स्प्लोजिव डिसअर्डर (आईईडी) बाट ग्रसित छिन् । रोगले च्यापेपछि उनी आफ्नो रीसलाई नियन्त्रण गर्नै सक्दिनन् र कुनै पनि हदसम्म जान्छिन् । उनी आमा बुवाको व्यापारिक साझेदारका छोरा स्वागतसँग प्रेम गर्छिन् । स्वागतसँग रहँदा सुहानीले आफूलाई शान्त र सुखी पाउँछिन् । स्वागतसँगको विवाहको खबर सुनेर सुहानी निकै खुसी हुन्छिन्, किनभने उनी स्वागतलाई प्रेम गर्छिन् । स्वागत भने परिवारको इच्छा पूरा गर्नका लागि मात्र विवाहका लागि तयार भएका हुन्छन् ।

स्वागतका लागि सुहानी राम्रो साथी मात्र हुन् । इन्गेज्मेन्टको क्रममा स्वागत र सुहानीको भेट रुमझुमसँग हुन्छ । भेटलगत्तै तीनै जना घुम्न राजस्थान जान्छन् जहाँ स्वागत र रुमझुमबीच प्रेमसम्बन्ध गाँसिन्छ । प्रेमले त्रिकोणात्मक रूप लिएपछि सुहानी निराश हुन्छिन् । चलचित्रको क्लाइमेक्समा स्वागतले सुहानी र रुमझुममध्ये एक जनालाई छनौट गर्नुपर्ने परिस्थितीलाई रोमाञ्चक शैलीमा प्रस्तुत गरिएको छ ।

मिस टनकपुर हाजिर हो

निर्देशक : विनोद कापडी

कलाकार : अन्नू कपूर, हर्षिता भट्ट, राहुल बग्गा, ओम पुरी, रवि किशन तथा सन्जय मिश्रा ।

संगीतकार : पलक–सुष्मित

आज शुक्रबार नै प्रदर्शन हुने चलचित्र ‘मिस टनकपुर हाजिर हो’ एउटा राजनैतिक व्यंग्य हो । टनकपुर हरियाणाको एउटा गाउँ हो । हरियाणाको गाउँमा ग्राम प्रधान निकै सशक्त हुन्छन् । उक्त गाउँमा पनि त्यस्तै प्रधान छन्– सुआलाल (अन्नू कपूर) । आफ्ना समकालीन प्रधानहरू झैं सुआलाल पनि आफूमा निहित शक्तिको उपयोग गर्दै गाउँमा राज्य गर्छन् । सुआलालमा राज्यको प्रशासन (प्रहरी तथा प्रदेशको कानुन) लाई समेत उपभोग गर्ने क्षमता छ । यी दुष्ट प्रवृत्तिका शासकले आफूभन्दा आधा उमेर कमकी युवती माया (हर्षिता भट्ट) सँग विवाह गरेका छन् । माया भने गाउँकै एक युवक अर्जुन (राहुल बग्गा) सँग प्रेम गर्छिन् । चलचित्रको व्यंग्यात्मक कथाले त्यतिबेला गम्भीर मोड लिन्छ जब सुआलाल तथा उनका साथीहरूले अर्जुनमाथि मिस टनकपुरको बलात्कार गरेको आरोप लगाउँछन् र उनलाई सार्वजनिक रूपले अपमानित गर्छन् । चलचित्रले भारतका कम विकसित ग्रामीण बस्तीको तस्बिर प्रस्तुत गर्ने जमर्को गरेको छ ।

स्रोत : साप्ताहिक

Related posts