ताजा खबर

फेरि मैदानमा फर्कंदै ४३ वर्षे रिभाल्डो

२०७२ असार ११,
साओपाउलो : ब्राजिलले जन्माएका ठूला खेलाडीमध्ये एक हुन्, रिभाल्डो। सन् १९९९ मा उनले फिफा वर्ष फुटबल खेलाडी अवार्ड पनि जिते।
सन् २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा पनि यी एट्याकिङ मिडफिल्डर टोलीका महत्त्वपूर्ण सदस्य थिए। तर त्यसको एक वर्षपछि उनी राष्ट्रिय टोलीमा परेनन्। यद्यपि उनको व्यावसायिक खेल जीवन भने त्यसपछि पनि लामो समयसम्म चल्यो।
रिभाल्डोले गत वर्षमात्र व्यावसायिक खेल जीवनबाट संन्यासको घोषणा गरेका थिए। त्यसयता उनी ब्राजिलको दोस्रो डिभिजन क्लब मोगी मिरिमको अध्यक्ष भएर काम गरिरहेका छन्।  ४२ वर्षको उमेरमा संन्यास घोषणा गरेका रिभाल्डो पुन: खेलमा फर्कने समाचार छ। उनी आफैं अध्यक्ष रहेको मिरिमका लागि खेल्न उनले संन्यासको निर्णय फिर्ता लिन लागेका हुन्।
जारी घरेलु लिगमा मिरिमको प्रदर्शन कमजोर देखिएपछि टोलीलाई उकास्न रिभाल्डो आफैं खेल्न तम्सिएका छन्। ‘म क्लबका लागि केही खेल खेल्ने योजनामा। मेरो अनुभवले टोलीलाई कठिन अवस्थाबाट माथि उठाउन सहयोग पुर्‍याउला भन्ने विश्वास लिएको छु’, रिभाल्डोले भनेका छन्।
मिरिमले ब्राजिलको दोस्रो डिभिजन लिगको जारी सिजनमा आठ खेल खेलेर केवल तीन अंक जोडेको छ। जारी संस्करणमा एउटा पनि खेल नजित्ने मिरिम एकमात्र टोली हो। २० टोली रहेको उक्त लिगमा मिरिम अन्तिम स्थानमा छ।
रिभाल्डोले यसअघि एक पटकमात्र मिरिमका लागि खेलेका छन्। उनले सन् १९९१ देखि व्यावसायिक फुटबल खेल्न थालेका हुन्। उनले स्पेनिस क्लब बार्सिलोना र इटालीको एसी मिलानका लागि पनि खेलेका थिए। उनले बार्सिलोनाका लागि चार वर्ष खेल्दै एक सय ५७ घरेलु लिगमा ८६ गोल गरेका थिए। उनले क्लब फुटबलमा आठ सय १३ खेल खेल्दै तीन सय ८० गोल गरेका छन्।
रिभाल्डोले राष्ट्रिय टोलीका लागि १० वर्ष खेल्दै ७४ खेलमा ३५ गोल गरेका छन्। गत वर्ष संन्यास लिने क्रममा उनले भनेका थिए,’खेलाडीको रूपमा मेरो इतिहास यहीँ अन्त्य भएको छ।  आज म भगवान्, परिवार र मलाई खेल्न प्रोत्साहित गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।’
त्यसअघि नै मिरिमका अध्यक्ष भइसकेका रिभाल्डोले त्यतिबेला क्लबलाई राम्रोसँग चलाउन र छोरा रिभाल्डिन्होको लालनपालनमा ध्यान दिन संन्यास लिएको बताएका थिए।

स्रोत  : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *