ताजा खबर

धनवान् छोराछोरीका बेहाल बाबुआमा !

२०७२ असार ११,

नेपाली आख्यान छ, भएर नपाउनुभन्दा नभएकै ठीक । आफ्नो भन्ने कोही छ, तर हुनु र नहुनुमा कुनै फरक छैन भने त्यहाँनेर निश्चय पनि पीडा हुन्छ । नेपालको जस्तो समाजमा बुढेसकालको सहारा बन्नुपर्ने छोराछोरी, बुबाआमाका लागि घृणा गर्ने पात्र बनिदिँदा बुढ्यौली मन कस्तो होला ! शरीरका छाला झोलिएका छन्, आँखा र कानले आफ्नो जिम्मेवारी पूरा गर्न छाडिसकेका छन्, यही अवस्थामा उच्च प्रेम र साथ दिनुपर्ने छोराछोरीले पनि जिम्मेवारी त्यागिदिएपछि ? घरपरिवार नभएकालाई त बाध्यता पर्छ । तिनलाई वृद्धाश्रममा बस्नुको विकल्प रहन्न । तर, घरपरिवार भएका, छोराछोरी डाक्टर, व्यापारी, जागिरेदेखि विदेशमा पुगेर हुने खाने भएका । तिनैका बुबाआमा पनि छन् पशुपति वृद्धाश्रममा ।

नेपाल आर्मीको रिटायर्ड, भारतस्थित नेपाली दूतावासबाट पेन्सन पकाएका । आजको जुँगाले नै हिजोको उनको जीवन प्रतिबिम्बित गरिरहेझैँ लाग्छ । घुम्रिएको बुढो जुँगा बयान गर्न लायक छ । वृद्धाश्रममा आश्रित सबैले जुँगाकै हैसियतअनुसार उनको नाम बोलाउँछन्, जुँगे खड्का । तर, उनको खास नाम भने मेहरमान खड्का रहेछ । सिन्धुपाल्चोक जलबिरेका मेहरमानको बाहिरी आवरण बडो तगडा देखिन्छ, तर मन भित्रभित्रै पाकेको छ । दुई छोरा र तीन छोरीका बुबा मेहरमान सहारा खोज्दै वृद्धाश्रमसम्म किन आइपुगे त ? मेहरमानले विस्तारमा सुनाए, ‘बाबु, छोराछोरीको चकचकी दंग खाँदो छ, मेरो आफ्नै पेन्सन आउँछ, मासिक ३०–४० हजार रुपैयाँ । तर, म परिवारको प्रेमबाहिर विक्षिप्त छु ।’ मेहरमानले सुनाउँदै गए, ‘बाबु, छोराहरूले पैसा मागे चाहिँदो दिन्छन्, तर बुढेसकालमा पैसाभन्दा ठूलो प्रेमपूर्ण सहारा रहेछ । आफ्नै घरभित्रको व्यवहारले मलाई वृद्धाश्रमसम्म धकेल्यो ।’ मेहरमानका अनुसार जेठो छोरा महादेव भारतको राजधानी दिल्लीमा पान पराग कम्पनीको हाकिम अनि कान्छो छोरा गोविन्द अस्ट्रेलियामा डाक्टर छन् रे । जेठी छोरी कल्याणी र ज्वाइँ बज्रबहादुर माझी भारतस्थित नेपाली दूतावासमा उच्च ओहोदाका कर्मचारी रहेको बताउने मेहरमान अरू छोरीहरूको पनि गतिलो कमाइ रहेको सुनाउँछन् । दुई वर्षदेखि पशुपति परिसरको वृद्धाश्रममा आश्रय लिएका मेहरमान पहिले भारतमै जेठो छोरा महादेवसँग बस्दा रहेछन् । भन्छन्, ‘दिल्लीको नोयडामा ६–७ वटा फ्ल्याट छन्, तर छोराबुहारीले घरमा स्विकार्दैनन् । पेन्सन बुझ्न दिल्ली जाउआउ भइरहन्छ, जाँदा साथीको घरमा बस्छु । छोरालाई बाहिरै भेट्न बोलाउँछु, आउँछ । छोराले पैसा पनि दिन्छ, तर घरमा प्रवेश गर्न मलाई बर्जित छ, सायद बुहारीका कारण ।’ कुराकानी लम्बिँदै जाँदा गम्भीर बन्दै गएका मेहरमानले अन्तिममा एउटा कुरा सुनाएर बसाइबाट उठे, ‘बाबु, कुरा गर्‍यो कुरैको दु:ख । कोही केही पिरले भाग्छ । कोही–कोही त यस्तै पिरले मर्छन् पनि…।’ ००० मेहरमान खड्काले आफ्नो व्यथा सुनाइरहँदा सँगै थिए ७७ वर्षे भीमलाल दुलाल । सायद, उनको पनि मन छचल्किसकेको थियो । त्यसैले त उनले आफँै आग्रह गरे, ‘म पनि बोल्छु बाबु । सबैका छोराछोरीले बुबाआमाको मर्म बुझ्ने पाठ बन्न सक्छ कि मेरो पीडाका दुई शब्द ।’ ठूलादुर्लुङ–७ ललितपुरका भीमलालका एक छोरा र एक छोरी छन् । बिहे गरिसकेकी छोरीका धेरै सन्तान भइसकेको भन्ने थाहा छ भीमलाललाई । उनी भन्छन्, ‘छोरीले धेरै नाति–नातिना जन्माएकी छिन्, उनको आफ्नै पीडा छ ।’ भएको एउटा छोराले बुढेसकालमा मतलब नगर्दाको भारी पीडा सँगालेर वृद्धाश्रममा आश्रित छन्, भीमलाल । हामीसँग कुरा गर्दै जाँदा भीमलालले विगत सम्झिए– ‘३५ वर्षको हुँदा श्रीमती खसिन्, उनीबाट भएका यिनै दुई छोराछोरी हुर्काउनका लागि पनि दोस्रो बिहे गरेँ । सानीआमाकै मायामा हुर्किए यिनीहरू । कान्छीबाट कुनै सन्तान नभएकाले यिनीहरूलाई आफ्नै सन्तान मानेर पालनपोषण गरिन् । तर, ५८ वर्षको हुँदा कान्छी पनि बितेर गइन् । कान्छी बित्नुअघि नै छोराछोरीको बिहे भइसकेको थियो । ड्राइभर पेसा अँगालेको छोरो त्यतिखेर कालोपुलमा बस्थ्यो, बिहे गरेर । म र कान्छीचाहिँ ठूलादुर्लुङमै बस्यौँ । सानीआमाको मृत्युमा काजकिरिया पनि छोरोले नै गर्‍यो । तर, … ।’ यति भन्दाभन्दै भारी भयो भीमलालको मन । उनका आँखा रसाइसकेका थिए । सायद, पीडाको त्यो दिन सम्झिए उनले । यतिखेर भीमलालले एउटा मार्मिक वाक्य ओकले, ‘आफ्नैले छोडे, भोको बाख्रा छोड्दाझैँ ।’ ‘कान्छीको मृत्युपछि म बिमारी परेँ । अस्पतालमा नौ महिनासम्म छटपटाएँ । तर, छोरो एकपटक भेट्नसमेत आएन । सहारा ठानेकाले नै हेला गर्दा पीडा हुँदो रै’छ । त्यसैवेलादेखि छोरोसँग मेरो मन टुट्यो ।

भीमलालले थपे– ‘सम्पत्ति भएको भए माया गर्दा हुन् कि π सम्पत्ति भएन । भाग्यले गर्दा मरेर पनि बाँचँे, यहाँ खुसी नै छु । उनीहरू राम्रो गरून्, खाऊन् ।’ भीमलालले आफ्नो मनको बह पोख्दै गर्दा वरिपरि सुनिरहेका वृद्धवृद्धा भावुक बनिसकेका थिए । ००० अर्का वृद्ध लक्ष्मीप्रसाद अधिकारी (अमृतानन्द स्वामी)को कथा भने अलिक फरक छ । ९९ वर्षीय अमृतानन्द सायद पशुपति वृद्धाश्रमकै सबैभन्दा बढी उमेरका हुन् । काठमाडौं बाँसबारीका अमृतानन्द उवेला काठमाडौं नगरपालिकामा जमदारको जागिरे रहेछन् । अहिले पनि पेन्सन भरिरहेका उनी ७–८ वर्ष देवघाटमा बसेर विगत एक वर्षदेखि पशुपति वृद्धाश्रम आएका रहेछन्, देवघाटको गर्मी थेग्न नसकेर । अमृतानन्दका दुई छोरा छन् । जेठो मुकुन्दप्रसाद जापान र कान्छो माधवप्रसाद अमेरिका बस्छन् । छोराबुहारी, नातिनातिना विदेशतिर भएकाले अमृतानन्दलाई घरमा खाना बनाएर खाने समस्या पर्‍यो ।

अमृतानन्द भन्छन्, ‘छोराबुहारी आफ्नै प्रगतिको सिलसिलामा विदेश रहेकाले मेरो बास वृद्धाश्रममा भएको हो । छोराबुहारी फोन गरिरहन्छन्, पैसा पठाउँछन्, दु:ख छैन । उनीहरू फर्किएपछि म घरमै गएर बस्ने हो ।’ अमृतानन्दको पनि उस्तै जीवन दर्शन छ, ‘बुढेसकालमा सबैभन्दा ठूलो आधार प्रेम रहेछ । प्रेमलाई पैसाले जित्नै सक्दैन, मेरो भोगाइ भन्दै छु । बुढ्यौली लागेपछि सकेसम्म छोराछोरीकै काखमा बस्न मन लाग्दो रै’छ, यदि बाध्यताले टाढा बनायो भने पनि छोराछोरीले पूर्ण प्रेम दर्शाए भने खुसी नै होइँदो रहेछ ।’ अमृतानन्दका अनुसार पशुपति वृद्धाश्रममा अरू पनि बुबाआमाहरू छन््, छोराछोरी हुने खाने भएर पनि हेलामा परेका । केही वृद्धहरूले मनको पीडा पोखे पनि वृद्धाहरू बोल्न चाहँदैनन् । कतै छोराछोरीले आजको दिनमा दिएको पीडासामु उनीहरूलाई जन्माउँदाको प्रसव पीडाको याद मिलन भयो भने मन थाम्न गाह्रो हुन्छ कि उनीहरूलाई ?

स्रोत  : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *