२०७२ असार ११,
दोस्रो टेस्ट क्रिकेट
कोलम्बो : पाकिस्तानी ब्याट्सम्यानले श्रीलंकाविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा निराशाजनक प्रदर्शन गरेका छन्।
पाकिस्तानी टोली पहिलो दिन बिहीबार पहिलो पालीमा केवल एक सय ३८ रनमा समेटियो। जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले पहिलो दिनको खेल समाप्त हुँदासम्म एक विकेट गुमाएर ७० रन जोडेको छ।
पाकिस्तानलाई सस्तोमा समेट्न थारिन्दु कौशलले पाँच, धामिका प्रसादले तीन र दुस्मन्था चामिराले एक विकेट लिए। पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान मोहम्मद हाफिजले सर्वाधिक ४२ रन जोडे।
अजर अलीले २६, यासिर शाहले १५ र सरफराज अहमदले १४ रन बनाए। अहमद सेहजादले एक, युनिस खानले ६, कप्तान मिसवाह उल हकले सात, असाद सफिकले दुई र वाहब रियाजले चार रन थपे।
पाँच रन जोड्दा पहिलो विकेट गुमाएको पाकिस्तानले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरेको थियो। पाकिस्तानले ७४ रन जोड्दा तेस्रो र ८९ रन जोड्दा चौथो विकेट गुमायो।
धामिकाले पाकिस्तानका सुरुका चारमध्ये तीन ब्याट्सम्यानलाई पवेलियन फर्काए। कौशलले चौथो विकेटका रूपमा हाफिजलाई आउट गरेका थिए।
पाकिस्तानले आफ्नो अन्तिम आठ विकेट ६५ रनका लागि खर्चिएको थियो। पाकिस्तानले आफ्नो पहिलो पालीमा ४२.५ ओभरमात्र ब्याटिङ गर्न पायो। कौशलले १०.५ ओभरमा ४२ रनमात्र खर्चिएका थिए।
२२ वर्षीय बायाँहाते स्पिनर कौशलले यसअघि एकपटक मात्र टेस्ट खेल्दै त्यसमा दुई विकेट लिएका थिए।
उत्कृष्ट बलिङ गरेको श्रीलंकाले ब्याटिङमा पनि राम्रो सुरुआत गरेको छ। दिमुथ करुणारत्ने २८ रन जोडेर आउट भए।
कुमार सांगाकारा १८ र कौशल सिल्भा २१ रन बनाएर खेलिरहेका छन्। सांगाकारा र सिल्भाबीच २३ रनको साझेदारी भएको छ। सिल्भा र करुणारत्नेबीच पहिलो विकेटका लागि ४७ रनको साझेदारी भएको थियो। पाकिस्तानी बलर जुनैद खानले एक विकेट लिए।
तीन खेलको शृंखलामा भ्रमणकारी टोली पाकिस्तान १-० ले अगाडि छ।
भारतको सान्त्वना जित
मिरपुर : बंगलादेशले भारतविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट शृंखला २-१ ले जितेको छ। तेस्रो तथा अन्तिम खेलमा बुधबार राति ७७ रनको जित हात पारेपछि भारतले केही राहत अनुभव गर्यो।
यसअघि सुरुका दुई खेल जित्दै बंगलादेशले भारतलाई पहिलो पटक एकदिवसीय शृंखलामा हराएको थियो। टस हारेपछि पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय १७ रन जोडेको थियो।
भारतको पालीमा शिखर धवनले ७५, महेन्द्र सिंह धोनीले ६९, अम्बाती रायुडुले ४४, सुरेश रैनाले ३८, रोहित शर्माले २९ र विराट कोहलीले २५ रन बनाए।
बंगलादेशी बलर मस्राफ मोर्ताजाले तीन, मुस्ताफिजुर रहमानले दुई र सकिब अल हसनले एक विकेट लिए।
बंगलादेशले ४७ ओभरमा सबै विकेट गुमाएर दुई सय ४० रनमात्र जोड्न सक्यो।
बंगलादेशका सौम्य सरकारले ४०, सब्बिर रहमानले ४३, लिट्टोन दासले ३४, नासिर हुसेनले ३२, मुसफिकर रहिमले २४ र सकिबअल हसनले २० रन बनाए।
भारतीय बलर सुरेश रैनाले तीन, धवल कुलकर्नी र रविचन्द्रन आश्विनले दुईदुई तथा स्टुवार्ट बिन्नी, अक्सर पटेल र अम्बाती रायुडुले एकएक विकेट हात पारे।
गत एकदिवसीय विश्वकपको क्वार्टरफाइनलमा भारतसँगै पराजित भएको बंगलादेशले त्यसयता एकदिवसीय क्रिकेटमा हार व्यहोरेको थिएन। घरेलु मैदानमा बंगलादेशको १० वटा एक दिवसीय खेलको अपराजित यात्रा पनि टुंगिएको छ।
बंगलादेशका युवा बलर मुस्तफिजुर रहमान प्लेयर अफ दि सिरिज घोषित भए। राष्ट्रिय टोलीका लागि पहिलो पटक खेल्ने क्रममा उनले शृंखलाभर १३ विकेट लिए।
स्रोत : अन्नपुर्णपोस्ट