२०७२ असार ११,
डायल अप इन्टरनेटको समय गइसकेको छ। १२८ केबीपीएसमा ब्राउजर घुमाइरहने समय पनि अब रहेन। नेपालभित्रै एक सय एमबीपीएस स्पिडको इन्टरनेट सुरु भइसकेको छ।
नेपालका ठूला आईएसपी वल्र्डलिंक, भायनेट, सुबिसु, क्लासिकटेक, वेब सर्फरलगायत बीच हाइस्पिडमा प्रतिस्पर्धा भइरहेको छ।
गत वर्षको क्यान इन्फोटेकमा यी आईएसपीले १० एमबीपीएसदेखि १०० एमबिपिएससम्मका प्याकेज सार्वजनिक गरेका थिए।
यो सेवा काठमाडौंका केही स्थानमा मात्र उपलब्ध भए पनि समयको क्रमसँगै इन्टरनेट स्पिड बढिरहेको छ भने मूल्य घटिरहेको छ।
भर्खरै नेपाल टेलिकमले एफटीटीएच सेवा सुरु गरेको छ। अप्टिकल फाइबरबाट दिइने इन्टरनेट स्पिड राम्रो रहेको बताइएको छ।
यसलाई देशभर विस्तार गर्न समय त लाग्ला तर कर्पोरेट क्षेत्र र काठमाडौंलगायत प्रमुख सहरका उपभोक्ताले पनि अब हाइस्पिडको इन्टरनेटको सुविधा लिन सक्ने अवस्था सिर्जना भएको छ।
नेपाल टेलिकमको हाइस्पिडको वाइम्याक्स सेवा सोचे अनुरूप अघि बढ्न सकेको छैन। ग्रामीण क्षेत्रसम्म इन्टरनेटको पहुँच विस्तार भइनसकेको अवस्था छ।
२०७० चैत र २०७१ पुससम्मको प्राधिकरणको तथ्यांकमा आठ प्रतिशतले मात्र इन्टरनेट पहुँच बढेको देखिएको छ।
यसमा आईएसपी अर्थात् ब्रोडब्यान्ड इन्टरनेटको पहुँच विस्तार खासै बढेको देखिँदैन। बरु एनटीसीको थ्रीजी इभीडीइयो इन्टरनेटको विस्तार राम्रो भएको छ।
आईपी र डिजिटल टीभी
नेपाल सरकारले आईपी टीभीका लागि लाइसेन्स दिने तयारी गरेको छ। नेट टीभी र सुबिसु केबल नेटले यो सेवा दिने तयारी गरिरहेका छन् भने नेपाल टेलिकम पनि इच्छुक देखिएको छ।
नेट टीभीले दुई आईएसपी वल्र्डलिंक र भायनेटसँग समन्वय गरी ‘नेट टीभी’ ब्रान्डमा आईपी टीभी सञ्चालन गर्ने बताएको छ।
उता सुबिसुले ‘क्लियर आईपी टीभी ब्रान्डमा यो सेवा ल्याउन लागेको छ।
त्यसैगरी केबल बिजनेसमा १५ वर्षदेखि सक्रिय सुबिसु केबलनेटले तीन महिनाअघि नेपालमा पहिलो पटक डिजिटल केबल टेलिभिजन सेवा क्लियर टीभी ल्याइसकेको छ।
नेपालको डिजिटल केबल बिजनेसमा आक्रमक रणनीतिका साथ आएको सिम टीभीले देशभर सेवा विस्तार गरिरहेको छ।
स्रोत : अन्नपुर्णपोस्ट