ताजा खबर

आँपको स्वाद लिन ‘भृकुटीमण्डप’ जानुस्

२०७२ असार ११,
राष्ट्रिय आँप महोत्सव
काठमाडौं : फलको राजा मानिने आँपका विभिन्न प्रजातिको स्वाद लिन मन छ भने राजधानीको भृकुटीमण्डप जानुहोस्।
त्यहाँ शुक्रबार सुरु हुने राष्ट्रिय आँप महोत्सवले विभिन्न थरीका आँप, तिनका परिकार चाख्ने अवसर जुटाइदिने भएको छ। आँपको पहिचान गराउन तथा रसायन प्रयोग नगरिएका आँप उपभोग गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
नेपाल फलफूल थोक व्यवसायी संघ कुलेश्वर तथा फलफूल विकास निर्देशनालय कीर्तिपुरको सहकार्यमा चल्ने महोत्सव शनिबार सकिनेछ।
निर्देशनालयका निमित्त प्रमुख केशवराज काफ्लेका अनुसार नेपाली उत्पादनको प्रवद्र्धन तथा किसानलाई सम्मान गर्ने उद्देश्यका साथ पहिलोपटक आँप महोत्सव आयोजना गरिएको हो।
 आँपको मुख्य उत्पादन थलो सप्तरीको राजविराजमा पनि सोही दिनदेखि तीनदिने आँप तथा परिकार महोत्सव सुरु हुने भएको छ। आँपलाई फलको राजा मानिन्छ।
संघका अध्यक्ष अमर बानियाँका अनुसार महोत्सवमा पाँच खुद्रा र ६ वटा थोक गरेर ११ वटा स्टल राख्ने व्यवस्था छ।
महोत्सवमा नेपालमा पाइने १८ जातका आँप, तिनको स्वाद, फाइदा र बेफाइदा, आँपका परिकारबारे जानकारी दिनुका साथै आयातित विषादीयुक्त आँपका बारेमा पनि जानकारी दिने व्यवस्था गरिएको छ।
महोत्सवमा नेपालमा पाइने १८ जातका आँप, तिनको स्वाद, फाइदा र बेफाइदा, आँपका परिकारका साथै आयातित विषादीयुक्त आँपका बारेमा जानकारी दिने व्यवस्था छ।
‘बजारमा बिक्री हुने सबै आँप माल्दह र बम्बई जातका हुँदैनन्’, कम गुणस्तरका र अन्य जातका आँपलाई पनि माल्दह भनेर बढी मूल्य असुल गरी घुमुवा व्यापारीले उपभोक्तालाई ठग्दै आएका छन्’, बानियाँले भने।
संघले विषादीरहित आँप उपभोग गर्न कुलेश्वर बजारबाट मात्र खरिद गर्न आग्रह गरेको छ। ‘नेपाली आँपमा विषादी प्रयोग भएको छैन।
कुलेश्वर बजारमा विषादी नहालेको आँपमात्र भित्र्याइएकाले नेपाली उत्पादनमात्रै उपभोग गरौं’, उनले भने, ‘यसले गर्दा स्वदेशी उपत्पादनको प्रवद्र्धन हुनुका साथै किसानले पनि सम्मान पाउन सक्छन्।’
संघका महासचिव विनोदराज पाण्डेले अनुसार कुलेश्वर बजारमा तीन वर्षअघिसम्म विषादी रसायन (कार्बन) हालेर पकाइएको आँप पाइए पनि अहिले संघले त्यस्ता आँप भित्र्याउन नदिएको दाबी गरे।
निर्देशनालयका वरिष्ठ कृषि अर्थविद् खिमनिधि लोहनीका अनुसार नेपालमा ४६ हजार चार सय ६९ हेक्टरमा आँप खेती हुन्छ। त्यसमध्ये ३८ हजार तीन सय ५२ हेक्टरमा आँपको राम्रो उत्पादन हुन्छ।
आँपका लागि उच्च तापक्रम आवश्यक पर्ने हुनाले यसको उत्पादन मुख्यतया तराईका जिल्लामा हुने गरेको छ।
सरकारी तथ्यांकअनुसार सबैभन्दा बढी आँप सप्तरी र सिरहा उत्पादन हुन्छ। महोत्तरी, कपिलवस्तु, धनुषा, सर्लाही र रौतहटमा पनि आँप खेती गरिएको छ।
अर्थविद् लोहनीका अनुसार आँपमा नेपाललाई आत्मनिर्भर हुन ६१ लाख ९३ हजार मेट्रिक टन चाहिन्छ।
आत्मनिर्भर बनाउन कृषि विकास मन्त्रालयले गत वर्षदेखि पाँचवर्षे कार्यक्रम सुरु गरेको छ।
बजारमा अहिले वार्षिक २७ लाख ७८ हजार चार सय ७८ मेट्रिक टन आँपको खपत भइरहेको छ। नेपालबाट १२ लाख २३ हजार सात सय ६८ किलो आँप भारतलगायतमा मुलुकमा निर्यातसमेत भइरहेको निर्देशनालयले जनाएको छ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *