ताजा खबर

२० विद्यालय मर्ज

लमजुङ, २०७२ असार ११,

लमजुङका २० वटा प्राथमिक विद्यालय अर्को विद्यालयमा गाभिएका छन्। यीमध्ये बिचौर र इलमपोखरीका दुई/दुई विद्यालय अन्यत्रै सारिने भएको छ।

केही विद्यालयमा शून्य र केही विद्यालयमा विद्यार्थी संख्या ज्यादै न्यून भएपछि जिल्ला शिक्षा समितिले ‘मर्ज’ गराएको हो। ‘अन्य १० प्राविको तह घटाइएको छ,’ शिक्षा समिति सचिव एवं जिल्ला शिक्षा अधिकारी सुरेन्द्रप्रसाद पराजुलीले भने, ‘तह घटुवा भएका सबै प्राविका १ देखि ३ सम्मका सञ्चालनमा राखेर ४ र ५ कक्षा बन्द गरिएको छ।’

केहीमा कक्षा भए पनि विद्यार्थी नभएकाले तह घटाउनु परेको उनले बताए। ‘समितिले मात्रै गर्दा विरोध हुने भएकाले यसअघि निर्णय गरेर पठाउन विद्यालय व्यवस्थापन समितिलाई पत्राचार गरेका थियौँ,’ जिशिअ पराजुलीले भने, ‘कुरा पहिल्यैदेखि उठे पनि ५ महिनाको प्रयासपछि विद्यालय मर्ज गर्न सफल भएको छ।’

मर्ज भएका र तह घटाइएका विद्यालयको कार्यान्वयन बर्खे बिदाभित्र हुनेछ। ‘असार १५ बाट बर्खे बिदा छ। यही बीचमा शिक्षक दरबन्दीको मिलानदेखि सबै काम हुन्छ,’ उनले भने, ‘साउन १७ गते विद्यालय खुल्दा निर्णयअनुसार काम गरिनेछ।’ उनले मर्ज भएका विद्यालयका दरबन्दी शिक्षकलाई अपुग विद्यालयमा पठाउन सकिने बताए। विद्यालय मर्ज वा तह घटाउन यसअघि पेसागत संघ–संगठन तयार थिएनन्।

५ कक्षासम्मका लागि २० र ३ सम्मका लागि १० विद्यार्थी अनिवार्य पुर्‍याउनुपर्ने र पुर्‍याउन नसके मर्ज वा तह घटाउनुपर्ने निर्णय गरेर पठाउन विद्यालय र व्यवस्थापन समितिलाई पत्राचार गरेकोमा केहीले बाहेक सबैले निर्णय गरेर पठाएको कार्यक्रम अधिकृत बाबुराम बरालले बताए। यसअघि विद्यार्थी अभावका कारण बन्द भएका दुई विद्यालयलाई पनि मंगलबार औपचारिक निर्णय गरेर मर्ज गराएको उनले बताए।

शिक्षा कार्यालयका अनुसार बिचौरको सूर्यज्योति प्रावि र विद्याज्योति प्राविलाई समायोजन गरी अर्को छुट्टै विद्यालय निर्माण गरिने भएको छ। यस्तै, इलमपोखरीको जयबालदेवी प्रावि र चम्पावती प्राविलाई समायोजन गरी अर्को विद्यालय बनाइने भएको छ। ‘भूकम्पका कारण विद्यालय वरपरका बस्ती गाउँ नै सर्ने भएपछि विद्यालय समायोजन गर्नुपर्ने भएको हो,’ जिशिअ पराजुलीले भने, ‘भत्किएको विद्यालय बनाउन र अर्को विद्यालय बनाउने खर्च उत्तिकै लाग्ने भएकाले बस्ती बसालेको ठाउँमा अर्को विद्यालय स्थापना गर्न कुनै समस्या हुँदैन।’

उनले विद्यालयको भौतिक सामग्रीको व्यवस्थापन विद्यालय व्यवस्थापन समितिको निर्णयमा अर्को विद्यालयमा राखिने, आवश्यक नपरे लिलाम बिक्री गरिने र विद्यालय निर्माण कार्यमा योगदान पुर्‍याउनेलाई आदरका साथ उनीहरूको अभिलेख राखिने बताए।

शिक्षा कार्यालयका अनुसार खुदीको हिमालय पञ्चकन्या प्राविलाई अमर उच्च मावि, परेवाडाँडाको थानी प्राविलाई कान्तिमन्दिर माविमा, दुराडाँडाको शिवमन्दिर प्रावि संस्कृति सदन माविमा, तार्कुघाटको बुद्धशान्ति प्रावि अमरज्योति प्राविमा, धमिलीकुवाको विरशान्ति प्रावि वीरेन्द्रदीप प्रावि, ढोडेनीको लक्ष्मीदेवी प्रावि भगवान् निमावि र हिलेटक्सारको लक्ष्मी प्राविलाई वराहमिलन निमाविमा मर्ज गराइएको छ। यसैगरी, बिचौरको देउराली प्राविलाई हिमालय निमावि, भारतेको रत्नज्योति प्राविलाई सरस्वती मिलन प्राविमा, गाउँसहरको शान्ति प्राविलाई बालकल्याण उच्च माविमा, सुन्दरबजारको अन्नपूर्ण प्रावि आदर्शबाल उच्च माविमा, भोटेओडारको चण्डिका प्रावि कालिका शिक्षा मन्दिर प्राविमा, भलायखर्कको सूर्योदय प्रावि ज्ञानोदय उच्च माविमा, दुराडाँडाको शान्ति सिर्जना प्रावि गाउँफर्क प्राविमा, प्यारजुङको रत्न प्रावि जनता मावि कुँडुलेमा, सूर्यपालको लामाचौर प्रावि रामबालोदय निमाविमा र मालिङको जलकन्या प्रावि शारदा मावि मालिङमा मर्ज भएका छन्। यीमध्ये लक्ष्मी प्रावि र रत्न प्रावि यसअघि नै बन्द भइसकेको शाखा अधिकृत बरालले बताए।

दुई खारेज
खोटाङ (कास)– जिल्लाको दिक्तेल नगरपालिकास्थित दुई विद्यालय खारेज भएका छन्। दिक्तेल नगरपालिका ४ जनजागृति निमावि र नपा २ स्थित बालमन्दिर प्रावि खारेजीमा परेका हुन्। विद्यार्थीविहीन भएकाले बिहीबार खारेजीको निर्णय गरेको शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले बताए। यहाँका शिक्षक अन्य विद्यालयमा स्थानान्तरण गरिएको भट्टराईले जनाए।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *