ताजा खबर

महाकालीमा बहाव बढ्यो

दार्चुला, २०७२ असार ११,
बिहीबार बिहानैदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा जलस्तर बढेको छ। नदीमा पानीको प्रवाह बढेपछि किनारका बस्तीमा त्रास बढेको छ।

वर्षा नरोकिएपछि नदी किनारमा पर्ने दार्चुला सदरमुकामको अपी नगरपालिका ११ बांगाबगडस्थित कैलाशपति निम्नमाध्यमिक विद्यालय बन्द भएको छ। ‘बिहानबाट वर्षा रोकिएको छैन’ विद्यालयका प्रध्यानाध्यापक राजेन्द्रबहादुर सिंहले भने, ‘पानी पर्न नरोकिएकाले विद्यार्थीमा मनोवैज्ञानिक असर पर्न सक्छ।’ नदीको सतह बढिरहेकाले जोखिम बढ्न सक्ने भन्दै विद्यालय बन्द गरिएको हो। विद्यालयका पछाडितर्फको भागबाट कटान सुरु हुन थालेपछि विद्यालय बन्द गरिएको उनले बताए।

बाढीको जोखिम रहेको बांगाबगड क्षेत्रमा तटबन्धको काम पनि ढिला गरी सुरु भएको छ। निर्माण पनि सुस्त भएकाले वर्षातको समयमा जोखिम बढेको स्थानीय मानसिंह बोहराले बताए।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले दत्तुमा राखिएको महाकालीको जलस्तर नाप्ने यन्त्रले पानीको वहाव ५ मिटर ८० सेन्टिमिटर देखाएको बताए। १२ बजे ४ मिटर ८ सेन्टिमिटर थियो’ कुँवरले भने, ‘दिउँसो बढेर ५ दशमलव ८ मिटर पुगेको छ।’ नदीमा पानीको वहाव ६ मिटर पुगेपछि खतरा मानिने उनको भनाइ छ। वर्षा नरोकिएकाले नदीको वहाव बढ्न सक्ने कुँवरले बताए।

नदी नियन्त्रणका लागि यो वर्षबाट तटबन्ध निर्माण कार्य सुरु भएको हो। तर, ढिलो गरी निर्माण सुरु भएकाले बाढीबाट ढुक्क भएर बस्ने सक्ने स्थिति नरहेको खलंगाका माधवराज भट्टले बताए। ‘झरी निरन्तर जारी रहेकाले बाढीको जोखिम बढ्न सक्छ,’ अपी नगरपालिका १३ का नारदप्रसाद जोशीले भने, ‘रातिसम्म पानी पर्न नरोकिए राति नै सुरक्षित स्थान खोज्नुपर्छ।’

नदीमा पानीको सतह बढेपछि तटबन्ध निर्माण कार्य प्रभावित भएको छ। ठेकेदारहरूले निर्माण सामग्री सुरक्षित स्थानमा राख्न थालेका छन्। तटबन्धको प्याकेज नं. १ को निर्माणमा संलग्न ठेकेदार दानसिंह तिंकरीले पानी बढेपछि काम हुन नसक्ने र महँगा निर्माण सामग्री भएकाले सुरक्षित ठाउँमा राख्न लागेको बताए।

तटबन्ध निर्माणका लागि पहिलो चरणमा नमस्कारदेखि लास्कु खोलासम्म साढे ४ किलोमिटर क्षेत्रमा ८ प्याकेजमा निर्माण भइरहेको छ। तटबन्ध निर्माणमा १३ वटा प्याकेजमध्ये पहिलो चरणमा ८ प्याकेजमा निर्माण कार्य भइरहेको महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख महेन्द्रप्रसाद बडूले बताए।

बहाव ७ मिटर पुगे खतरा
जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार सुदूरपश्चिमका पहाडी भेगसँगै तराई क्षेत्रमा भइरहेको अविरल वर्षाले महाकालीलगायतका नदीको जलस्तर बढ्न थालेको छ। दार्चुलाको दत्तु र डडेलधुराको परिगाउँमा राखिएको जलस्तर मापन यन्त्रको रेकर्डमा पनि महाकालीमा निरन्तर पानी बढिरहेको देखिएको छ। ‘पानीको बहाव ७ मिटर पुगेपछि बाढीको ठूलो खतरा उत्पन्न हुन सक्छ,’ कञ्चनपुरको आपतकालीन कार्यसञ्चालन केन्द्रका कर्मचारी जनकराज पन्तले भने, ‘बिहीबार दिउँसोसम्म दत्तुमा जलस्तर ५ दशमलव ८ मिटर पुगेको छ।’

बाढीपीडितलाई खाद्यान्न भण्डारण
बाँके– बघौडा क्षेत्रका बाढीपीडितका लागि गंगापुरमा खाद्यान्न भण्डारण गरिएको छ। वर्षाका बेला त्यहाँ पुग्न सम्भव नहुने भएकाले रेडक्रसको गोदाममा आवश्यक खाद्यान्न भण्डारण गरिएको हो। त्यस क्षेत्रका फत्तेपुर, गंगापुर, मटैया, कालाफाँटा, नरैनापुर, कटकुइयाका सयौं बासिन्दा बर्सेनि डुबानमा पर्दै आएका छन्। बाढीबाट यस वर्ष पनि डुबान हुन सक्ने सम्भावना रहेकाले गंगापुरमा १ हजार किलो चिउरा, ५/५ सय पकेट चाउचाउ र बिस्कुट, डेढ सय किलो चिनी र १ सय परिवारलाई पुग्ने भाँडाकुँडा भण्डारण गरिएको हो।

‘राप्ती नदीमा बाढी आएपछि बघौडा क्षेत्रमा विभिन्न सामग्री ढुवानी गर्न सम्भव छैन। त्यसैले पूर्वतयारीका लागि पीडितलाई आवश्यक पर्ने खाद्यान्न राखेका छौं। त्यसले दैवी प्रकोप आइपरे तत्कालका लागि सहज हुनेछ,’ रेडक्रस बाँकेका अधिकृत दोलख डाँगीले भने, ‘वर्षाका बेला सडक अवरुद्ध हुने गरेका कारण त्यस क्षेत्रमा आउजाउ गर्न सम्भव छैन।’ बाँकेका सहायक प्रजिअ गन्जबहादुर एमसीले राप्तीपारिका पीडितका लागि पूर्वतयारी गरिसकेको बताए। उनले वर्षापछि सडक अवरुद्ध हुने भएकाले गंगापुरमा खाद्यान्न र गैरखाद्य सामग्री भण्डारण गरिसकेको बताए।

स्रोत : कान्तिपुर

Related posts