ताजा खबर

सरल कृषि कर्जा विवरण पेस गर्न निर्देशन

काठमाडौं, २०७२ , असार १०,

संसद्को कृषि तथा जलस्रोत समितिले युवालाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०७१ कार्यान्वयन अवस्थाबारे विवरण पेस गर्न निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले राष्ट्र बैंकलाई कार्यविधिअनुसार प्रत्येक जिल्लामा सरल कृषि ऋणका लागि आएका निवेदन र कर्जा विवरण पेस गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले तयार गरेको कार्यविधिअनुसार बैंकहरूले अधिकतम १० प्रतिशत ब्याजदरमा कृषि कर्जा प्रवाह गर्नुपर्ने प्रावधान छ । त्यसमा सरकारले ४ प्रतिशत अनुदान दिने व्यवस्था छ । यस्तो व्यवस्थापछि किसानले ६ प्रतिशत ब्याजदरमै कृषि कर्जा पाउन सक्छन् । चालू आव ०७१/७२ मा सरल कृषि कर्जाका लागि १ अर्ब रुपैयाँ विनियोजन गरे पनि आव अन्त्यसम्म १० लाख रुपैयाँ मात्रै वितरण हुने स्थिति देखिएको समिति सभापति गगन थापाले जानकारी दिए । ‘सम्बन्धित निकायबाट बैठकमा प्रस्तुत प्रगति विवरणका आधारमा हालसम्मको प्रगति अवस्था हेर्दा चालू आवमा १ अर्ब रुपैयाँ ब्याज अनुदान विनियोजन भएकामा १० लाख रुपैयाँभन्दा पनि कम खर्च हुने अवस्था आउनुले कार्यक्रम कार्यान्वयन अवस्था अत्यन्त निराशाजनक देखियो,’ सभापति थापाले भने । राष्ट्र बैंकसँग ब्याज अनुदान वितरण  मागिएको पनि उनले जानकारी दिए ।

उनले किसान तहमा ब्याज अनुदान कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइएको थापाको भनाइ छ । ‘महत्त्वका रूपमा हेरिएको कार्यक्रमलाई सबैले सकारात्मक रूपमा लिएको अवस्थामा पनि प्रभावकारी कार्यान्वयन हुन सकेन भन्ने विषयमा तत्काल सरोकारवाला निकायलाई समन्वय गर्नु जरुरी छ,’ उनले भने । त्यसका लागि कार्यक्रम कार्यान्वयनका क्रममा कर्जा अनुदान सीमा र दायरा बढाउने, परियोजना विस्तार कर्जा उपलब्ध गराउने, जनतालाई कार्यविधि सम्बन्धमा सुसूचित गर्न र कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउन अर्थलाई निर्देशन दिइएको थापाले बताए । त्यस्तै, समितिले भूकम्पबाट कृषि क्षेत्रमा पुगेको क्षति र कृषि विकास मन्त्रालयले भूकम्पीय क्षतिमा गरेको कामको विवरण पनि पेस गर्न निर्देशन दिएको छ ।

स्रोत : नयाँ पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *