भूकम्पपछि तंग्रिँदै पोखरा 

पोखरा,२०७२ असार १०,

सराङकोटकी सुशीला थापालाई यतिवेला पर्यटकलाई सेवा दिन भ्याइ–नभ्याइ छ । भूकम्पपछि सुनसान बनेको सूर्योदय हेर्ने स्थान ‘सन राइज प्वाइन्ट’ बिहानै पर्यटकको भीडले भरिएपछि थापाको व्यस्तता बढेको हो । अन्नपूर्ण ‘क्युरेटर सप’सँगै रेस्टुरेन्ट चलाउँदै आएकी थापाले भनिन्, ‘३–४ दिनयता घुम्न आउने बढेका छन्, व्यापारमा पनि सुधार भएको छ ।’ १२ र २९ वैशाखको भूकम्पबाट खस्किएको पोखरा पर्यटक आगमन बढ्न थालेपछि तंग्रिँदै छ । पर्यटकीय नगरी पोखरामा पर्यटकका चहलपहल केही दिनयता बढेको छ । विशेष गरी लेकसाइड र सराङकोट आसपासका क्षेत्रमा पर्यटकको आवागमन बढेको छ ।

लेकसाइडस्थित कोटी होम रेस्टुरेन्टका म्यानेजर हिरप्रसाद दुवाडीका अनुसार होटलको ७५ प्रतिशत कोठा रिजर्भ भइसकेका छन् । ‘८ दिन भयो चहलपहल बढेको छ,’ उत्साहित हुँदै उनले भने, ‘७ दिनका लागि सिंगापुरे पर्यटक प्याक भए, यसअघि काठमाडौंका टोली थिए । फेवातालका डुंगा व्यवसायीको व्यस्तता पनि पर्यटकको आगमनसँगै बढेको छ । भूकम्पपछि सधैँ सुनसान हुने फेवातालमा पछिल्ला केही दिनयता दैनिक १ हजार ५ सयले सयर गर्ने गरेको व्यवसायीले बताए ।

फेवा डुंगा व्यवसायी संगठन पोखराका दिपिन गुरुङले भूकम्पपछिका केही दिन त सुक्खा लागे पनि अहिले चहलपहल बढेको बताए । ‘भूकम्पपछि एकजना पनि हुँदैन थिए ताल सयर गर्ने,’ उनले भने, ‘अहिले दैनिक ताल सयर गर्नेको संख्या १५ सय पुग्छ ।’ होटल व्यवसायी संघ कास्कीका अध्यक्ष भरत पराजुलीले भूकम्पछि पोखरामा १५ प्रतिशतले पर्यटकको आवागमन बढेको बताए । विदेशीभन्दा पनि स्वदेशी पर्यटकको चहलपहल एकाएक बढेको उनले बताए । ‘पछिल्ला दिनमा पर्यटकको चहलपहल बढेको छ,’ उनले भने, ‘विदेशीभन्दा पनि स्वदेशी धेरै छन्, त्यसमा पनि काठमाडौंबाट बढी आउँछन् ।’ उनले समग्रमा १५ प्रतिशतले पर्यटक वृद्धि भएको जानकारी दिए ।

भूकम्पको मनोत्रास मेटाउनका लागि पोखरा आउनेको संख्या एकाएक बढ्न पुगेको संघको दाबी छ । ‘विदेशीभन्दा पनि काठमाडौंबाट पर्यटक धेरै आएका छन्,’ संघका अध्यक्ष पराजुलीले भने, ‘परिवारसहित लेकसाइड घुमेर ‘मेन्टल्ली रिफ्रेस’ हुनु नै उनीहरूको उद्देश्य हो ।’ भूकम्पका कारण पर्यटक शून्य भएपछि संघले पर्यटकलाई होटलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियो । योसँगै संघले पर्यटकको मनोत्रास हटाउन ‘म्युजिकल थेरापी’, धार्मिक पूजालगायतका अभियान सञ्चालन गर्दै आएको छ । पोखरा घुम्न जाने पर्यटकका लागि खाना पनि २० प्रतिशत छुट दिने निर्णय रेस्टुरेन्ट एन्ड बार एसोसिएसनले गरेको छ । एसोसिएसनका अध्यक्ष गोपी भट्टराईले पनि पछिल्ला दिनमा पर्यटकको चहलपहल बढेको बताए । ‘युरोपेली र चिनियाँ पर्यटक पनि देखिन थालेका छन्, यसले व्यवसायीलाई उत्साहित बनाएको छ,’ उनले भने ।

स्रोत  : नया पत्रिका

Related posts