काठमाडौं, २०७२ असार १०,
श्रम मन्त्रालयले वैदेशिक रोजगारमा फ्री भिसा र फ्री टिकट (शून्य खर्च) को निर्देशिकाको तयारी पूरा गरेको छ । म्यानपावर व्यवसायीको चर्काे विरोध हुँदाहुँदै मन्त्रालयले शून्य खर्च निर्देशिकाको तयारी पूरा गरेको हो । मन्त्रालयले २१ असारबाट यसलाई कार्यान्वयनमा ल्याउने भएको छ ।
श्रम तथा रोजगार मन्त्रालयले कतार, बहराइन, साउदीअरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, कुबेत र मलेसिया गरी सुरुमा सात मुलुकबाट यो प्रावधान कार्यान्वयन हुनेछ । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले शून्य खर्चको निर्देशिकाको तयारी पूरा भएको बताए । ‘विदेशी रोजगारदाता कम्पनी थप नेपाली कामदार लिन चाहिरहेका छन्,’ उनले भने, ‘नेपाली म्यानपावर कम्पनी भने विदेशी एजेन्सीलाई अनावश्यक कमिसन दिइरहेका छन् ।’ श्रम मन्त्रालयले निर्देशिका कार्यान्वयन गर्न व्यवसायीको सुझाब लिन लागेको छ । तर, विदेशी म्यानपावर एजेन्सीलाई अत्यधिक कमिसन दिने नेपाली म्यानपावर कम्पनीको सुझाब भने नलिने मन्त्रालयले जनाएको छ । शून्य खर्च कार्यान्वयन भएपछि यसभन्दाअघि सरकारले निर्धारण गरेको कामदार खर्चको प्रावधान यी सात मुलुकमा खारेज हुनेछ ।
इन्डोनेसिया र फिलिपिन्सले फ्री कोटाबाट नै आफ्ना कामदार वैदेशिक रोजगारमा पठाइरहेको श्रम मन्त्रालयले जनाएको छ । राज्यमन्त्री गुरुङले चर्काे कमिसन हटाउन शून्य खर्च आवश्यक भएको बताए । रोजगारदाता मुलुकले नेपाललाई दिने कामदार कोटा घटाउँदैनन्, व्यवसायी शून्य खर्चले नेपालले पाउने रोजगार कोटा जोखिममा पर्ने तर्क गरिरहेका छन् ।
संघका उपाध्यक्ष उद्धव खड्काले द्विपक्षीय श्रम सम्झौता गरी क्रमिक रूपले कामदारको लगानी घटाउँदै शून्य खर्च निर्देशिक ल्याउनुपर्नेमा सरकारले हतार गरेको बताए । ‘हाल मलेसियामा ८० हजार र खाडीमा ७० हजार रुपैयाँ रहेकामा त्यसलाई समय तालिका बनाएर घटाउँदै शून्यमा ल्याउनु व्यावहारिक हुनेछ,’ उपाध्यक्ष खड्काले भने । उपाध्यक्ष खड्काले इन्डोनेसिया र फिलिपिन्सले सीप सिकाएर कामदार पठाउने भएकाले शून्य खर्च सम्भव भएको जिकिर गरे । ‘नेपालले अदक्ष कामदार पठाउने भएकाले रोजगारदाता मुलुकले सबै सुविधा दिँदैनन्,’ उनले भने ।
साउदी अरेबिया र मलेसिया सकारात्मक साउदी अरेबिया र मलेसियाले नेपाली कामदारलाई फ्री भिसा र नि:शुल्क हवाई जहाज टिकट दिन सकारात्मक देखिएका छन् । जेनेभास्थित नेपाली नियोग प्रमुख दीपक धितालले साउदी अरेबियाका श्रममन्त्री मोफारेज अल हाजदानी र मलेसियाका मानव स्रोत उपमन्त्री इस्माइल बिन अब्दुल मुखालिफसँगको भेटमा उनीहरूले फ्री भिसा र नि:शुल्क टिकट उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
परराष्ट्रमार्फत श्रम मन्त्रालयमा आएको पत्रमा साउदी अरेबियाका श्रममन्त्री मोफारेजले साउदी अरबले विदेशी कामदार लिँदा पैसा लिने म्यानपावर एजेन्सीलाई सीधै जेलसजाय दिने नीति लिएको उल्लेख छ । मलेसियाले सुरक्षागार्डलगायात केही क्षेत्रमा कोरियाको जस्तै सरकारदेखि सरकारसम्म ( जिटुजी) मार्फत नेपाली कामदार लिने तयारी गरेको त्यहाँका मानव संसाधन उपमन्त्रीले नियोग प्रमुख धितालसँगको भेटमा बताए । यसभन्दाअघि नेपाल, कतार र बहराइनले पनि सम्पूर्ण खर्च बेहोर्दै नेपाली कामदार लिने प्रतिबद्धता जनाइसकेका छन् ।
स्रोत : नया पत्रिका