२०७२ असार १०,
राजधानी काठमाडौंलगायत देशैभर गर्मीको राप बढिरहेको छ । बढ्दो गर्मीबाट जोगिन सबैले आ–आफ्नो उपाय अपनाएका छन् । सेलिब्ेरटीहरू त गर्मी र घामबाट छालामा खराब असर पर्ने हो कि भनेर बढी नै सजग हुने गर्छन् । अभिनेत्री प्रियंका कार्की ड्रेसअप र स्किन केयरमा निकै सचेत हुने स्टाइलिस सेलिब्रेटीका रूपमा चिनिन्छन् ।
कार्कीसँग गरिएको गर्मी–संवाद :
गर्मीले औडाहा हुँदा सबैभन्दा कसलाई मिस गर्नुहुन्छ ?
-जाडोलाई । मलाई जाडो महिना नै मन पर्छ । गर्मीमा शरीर च्यापच्याप बढी हुने भएकाले असहज फिल हुन्छ । त्यसैले पनि जाडो मौसम राम्रो।
गर्मीमा बढी चिन्ता केको लाग्छ ?
-सबैभन्दा बढी चिन्ता त छालाकै लाग्छ नि । घाममा बाहिर निस्किँदा छाला डढ्ने भएकाले केयर गर्नै गाह्रो।
कसरी गर्नुहुन्छ त केयर ?
-प्राय: सन्सक्रिम प्रयोग गर्छु । छाला चिल्लो या फुस्रो हुन नदिन राति सुत्नेवेला मोस्चराइजिङ क्रिम लगाउने गर्छु।
गर्मीदेखि खुबै सचेत हुनुहुँदो रहेछ, बाहिरको काम कसरी म्यानेज गर्नुहुन्छ ?
-काम पर्दा त बाहिर निस्किनैपर्यो । नभए सकेसम्म घरमै बस्न रुचाउँछु । हल्काफुल्का कामका लागि गर्मी मौसममा बाहिर जान मनै लाग्दैन । गर्मीसँग सकेसम्म भाग्ने नै हो ।
गर्मीमा मन पर्ने खास परिकार ?
-दही । स्वास्थ्यमा पनि फाइदा पुग्ने भएकाले अन्य चिसो पेय पदार्थ र आइसक्रिमभन्दा दही नै मेरो खास परिकार हो ।
गर्मीमा होल बडी गेटअप कसरी गर्नुहुन्छ ?
-हल्का लुज खालका क्याजुअल ड्रेस पहिरिन सहज लाग्छ । कपाललाई सर्लक्क माथि लगेर जुरो पार्छु, कान र घाँटीसम्म कपाल लत्रिन नपाओस् भनेर । जे होस्, सकेसम्म हल्का ड्रेसअपमै आनन्द लाग्छ । तर, जति नै गर्मी भए पनि गाजलचाहिँ छुटाउँदिनँ । राम्रो ब्रान्डको गाजल लगाउँदा लतपतिने झन्झट नै हुँदैन ।
सनग्लासेस त झन् छुटाउने बानी छैन नि है तपाईंको ? कुन ब्रान्डको लगाउनुहुन्छ ?
-हो, सनग्लासेस लगाउन मनपर्छ । ‘स्टिभ म्याडन’ ब्रान्डको सनग्लासेस इच्छाअनुसार विभिन्न कलरमा लगाउने गर्छु ।
स्रोत : नया पत्रिका