ताजा खबर

उच्च माविको अध्ययन : वार्षिक १८ अर्बको कारोबार

२०७२ असार १०,

सरकारले त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र तह विस्थापन गरेपछि एउटा शैक्षिक सत्रमा करिब ३६ सय सामुदायिक र निजी उच्च माविमा प्रवेशिका उत्तीर्ण विद्यार्थीले अध्ययन गर्ने गरेका छन् । ती उमाविमा वार्षिक करिब सवा ४ लाख विद्यार्थी अध्ययनका लागि भर्ना हुने गरेको उच्च माध्यमिक शिक्षा परिषद्को तथ्यांक छ ।

एसएलसीपछि उमाविमा अध्ययन गर्ने विद्यार्थीबाट वार्षिक करिब १८ अर्ब रुपैयाँको कारोबार हुने गरेको अनुमान छ । परिषद्का अनुसार कक्षा ११ को परीक्षामा सहभागी विद्यार्थीको तथ्यांकलाई आधार मान्दा करिब सवा ४ लाख विद्यार्थी ३५ सय ९६ उच्च माविमा भर्ना हुन्छन्।

परिषद्का अनुसार मापदण्डअनुसार सञ्चालन भएको फेला नपरेपछि यो वर्ष ७२ उमाविको सम्बन्धन खारेज गरिएको छ । गत वर्ष सामुदायिक र निजी गरी ३५ हजार ९६ उमाविमा भर्ना भएका विद्यार्थीको संख्या करिब सवा ४  लाख थियो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ५ हजार ३३८ मध्ये १ लाख ९२ हजार २६७ जना उत्तीर्ण भएका छन् ।

विशिष्ट श्रेणीमा २१ हजार २४७, प्रथम श्रेणीमा ९० हजार ४७६ र दोस्रोमा ७६ हजार ४८२ जना पास भएका छन् । तृतीय श्रेणीमा ४ हजार ३६२ जना पास भएका छन् ।

उपत्यकमा ४३२ सहित देशभर करिब ८५० निजी उच्च मावि सञ्चालनमा छन् । बाँकी सामुदायिक र  सरकारी हुन् । सवा ४ लाख विद्यार्थीमध्ये  निजी उमाविमा एक शैक्षिक सत्रमा करिब २  लाख भर्ना हुने गरेको उच्च मावि संघ (हिसान)का अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार निजी उमाविमा विद्यार्थीले विज्ञान विषय अध्ययन गर्दा वार्षिक १ लाख खर्चिन्छन् भने व्यवस्थापन अध्ययन गर्दा ५० देखि ६० हजार रुपैयाँ खर्चिने गरेका छन् । मानवीकी अध्ययन गर्नेले २५ देखि ३० हजार वार्षिक खर्चिने गरेको अनुमान छ । “निजी कलेजमा साइन्स र व्यवस्थापन अध्ययनको मासिक शुल्क क्रमशः २५ सय र १५ सय रुपैयाँ पर्न आउँछ,” उनले भने । यो शुल्क सस्ता र महँगा कलेजबाट सरदरमा औसत निकालिएको शुल्क हो ।

निजी उच्च माविअन्तर्गत विज्ञान संकाय र व्यवस्थापनमा भर्ना हुने विद्यार्थीको संख्या उच्च छ ।  हिसानका अनुसार निजी उमाविमा भर्ना हुने संख्या प्रतिउमावि सरदर २४० हुन आउँछ ।  उमावि तह, विषय र कलेजअनुसार शुल्क असमान छ । “कलेज र विषयअनुसार फरक÷फरक शुल्क छ । सरदर प्रतिविद्यार्थी ५० हजार रुपैयाँ शुल्क हुन्छ,” श्रेष्ठले भने । गत वर्षदेखि परिषद्ले कलेजको क्षमतालाई सीमित गरिदिएपछि गत वर्षकै तुलनामा विद्यार्थी निजी उमाविमा भर्ना हुने अनुमान छ ।

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी विषय र शैक्षिक संस्थाअनुसार फरक–फरक शुल्क कायम गरिए पनि निजी उमाविमा सरदर ५० हजार र सामुदायिकमा २० हजार रुपैयाँ शुल्क मात्र खर्च हुने गरेको अनुमानित तथ्यांक रहेको जानकारी दिए । यो खर्च अनुमानित तथ्यांक भए पनि सहरी क्षेत्रका विद्यार्थीको खर्च र ग्रामीण क्षेत्रका विद्यार्थीको शुल्कमा पनि निकै असमानता रहेको उनले बताए ।

सामुदायिक उमाविमा अध्ययन गर्ने विद्यार्थीको संख्या सवा २ लाख छ । सामुदायिक उमाविमा अध्ययन गर्ने विद्यार्थीले कक्षा ११ मा भर्ना भएर अध्ययन गर्दा प्रतिविद्यार्थी वार्षिक औसत २० हजार रुपैयाँ खर्च हुने गरेको छ । २० हजार रुपैयाँका दरले सामुदायिक उमाविले यो वर्ष करिब ४ अर्ब रुपैयाँको कारोबार गर्नेछन् ।

निजी र सामुदायिक उमाविले कक्षा ११ मा भर्ना हुने विद्यार्थीबाट वार्षिक करिब १४ अर्ब रुपैयाँ शुल्कबापत असुल्ने छन् । भर्नाको समयमा मात्र उमाविले करिब ४ अर्ब रुपैयाँ अतिरिक्त खर्चबापत एकमुष्ठ रूपमा उमाविले असुल्नेछन् । ड्रेस, जुत्ता, टाइजस्ता शीर्षकबाट करिब ४ अर्ब रुपैयाँ कारोबार हुने अनुमान छ ।

अभिभावक संघका अनुसार विद्यालय पोसाकमा प्रतिविद्यार्थी १० हजार रुपैयाँ खर्च हुने गरेको छ । नयाँ शैक्षिक सत्रमा कक्षा ११ को भर्नासँगै करिब १८ अर्ब रुपैयाँको कारोबार हुने गरेको तथ्यांकले देखाएको छ ।

स्रोत : कारोबार

Related posts