ताजा खबर

आज दाता सम्मेलन, सात मन्त्रीसहित दुई सय ८० अतिथि

काठमाडौं, २०७२  असार १०,

अन्तर्राष्ट्रिय दाता सम्मेलनमा विभिन्न ६ देशबाट मन्त्रीस्तरीय र एक देशबाट राज्यमन्त्रीको सहभागिता भएको छ । बुधबारसम्म विभिन्न देशबाट दुई सय ८० प्रतिनिधि सम्मेलनमा भाग लिन काठमाडौं आइपुगेका छन् । चीनका परराष्ट्रमन्त्री वाङ यी, भारतकी विदेशमन्त्री सुषमा स्वराज बुधबार काठमाडौं आएका छन् । वाङ दिउँसो र स्वराज साँझ आइपुगेकी हुन् । नर्वेका विदेशमन्त्री बोर्गे ब्रेन्डी र बंगलादेशका अर्थमन्त्री अब्दुल मल अब्दुल मुथ, जापानका विदेश राज्यमन्त्री हिनोरो किउची पनि बुधबार नै आइपुगेका छन् । श्रीलंका र भुटानका मन्त्री भने मंगलबार काठमाडौं आइसकेका छन् । युरोपियन युनियनका विकास मामिला कमिसनर, जाइकाका अध्यक्ष, विश्व बैंकका उपाध्यक्ष पनि सम्मेलनमा सहभागी हुँदै छन् । चीन, भारत, बंगलादेश, नर्वे र जापानका मन्त्रीले बुधबार नै प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गरेका छन् । काठमाडौं आइपुगेका दातृ समुदायका प्रतिनिधिलाई भूकम्पबाट प्रभावित उपत्यकाका पर्यटकीय क्षेत्रको अवलोकन गराइएको छ । सरकारले सम्मेलनका लागि विभिन्न देश, संघसंस्था र व्यक्ति गरी ७० जनालाई निमन्त्रणा पठाएको थियो । तीमध्ये ५५ ठाउँबाट सहभागिता हुने पक्का भएको छ ।

यसरी हुँदै छ सम्मेलन

  • बिहीबार बिहान ८ बजे सुरु हुने सम्मेलनमा राष्ट्रिय गीत, भूकम्पबाट निधन भएकाप्रति मौनधारण र भूकम्पबाट अधिक प्रभावित क्षेत्र तथा क्षतिग्रस्त भौतिक संरचनाको दृश्य समेटिएको वृत्तचित्र प्रदर्शनपछि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले अतिथिको स्वागत गर्नेछन् ।
  • ८:४५ बजे प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलनको उद्घाटन गर्नेछन् । अर्थमन्त्री डा. रामशरण महतले सम्मेलनबारे प्रकाश पार्नेछन् । सहभागी विदेशी पाहुनाको सम्बोधनपछि पहिलो सत्रको कार्यक्रम सम्पन्न हुनेछ ।
  • दोस्रो सत्रको अध्यक्षता सम्मेलन आयोजक समितिका संयोजक अर्थमन्त्री महतले गर्नेछन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.गोविन्दराज पोखरेलले विपत्पछिको आवश्यकता मूल्यांकन (पिडिएनए) प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
  • भूकम्पपछिको पुन:स्थापना तथा पुन:निर्माणका लागि सरकारले रु छ खर्ब ६९ अर्ब आवश्यक पर्ने क्षेत्रगत विवरणयुक्त पिडिएनए प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन पनि सम्मेलनमा प्रस्तुत हुनेछ ।
  • अर्थ सचिव सुमनप्रसाद शर्माले कार्यक्रममा स्रोत परिचालन तथा भूकम्पपछिको अवस्था र कार्यान्वयनका विषयमा जानकारी दिएपछि पिडिएनएमाथि छलफल हुनेछ ।
  • अपराह्न १ बजेदेखि पुन:निर्माणका सम्बन्धमा तयार पारिएको भिडियो प्रदर्शन गरिने र त्यसपछि ३:०० बजेसम्म सहभागीहरुलाई प्रतिबद्धता जनाउन दिन समय उपलब्ध गराइनेछ ।
  • अपराह्न ३:३० बजेदेखि सुरु हुने प्राविधिक सत्रको सहअध्यक्षता आयोगका पूर्व उपाध्यक्ष डा शंकर शर्मा र जापानका यासुमासा नागानीले संयुक्त रुपमा गर्नुहुनेछ । यस सत्रमा आयोगका सदस्यद्वय डा गोविन्द नेपाल र स्वर्णिम वाग्लेले ‘पुन:निर्माणका लागि दीर्घकालीन कार्यसूची र रणनीति’ बारे प्रस्तुति दिनुहुनेछ । यस सत्रमा जाइकाका अध्यक्ष अकिहितो तानाकाले ‘बिल्ड ब्याक बेटर’ मा आधारित पुन:निर्माण र तकिया किमियोले सहरी पुन:निर्माण सम्बन्धमा आफ्नो प्रस्तुति दिनुहुनेछ । त्यसपछि विश्व बैंकद्वारा तयार पारिएको ‘ग्रामीण बसोबास’सम्बन्धी प्रस्तुति पेस गरिनेछ । त्यसपछिको छलफलसागै यस सत्रको समापन हुने अर्थमन्त्रालयले जनाएको छ ।
  • अपराह्न ४:५० सुरु हुने दोस्रो चरणको प्राविधिक सत्रमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा सोमलाल सुवेदी र भारतका पिके मिश्रले संयुक्तरुपमा सहअध्यक्षता गर्नु हुनेछ । यस सत्रमा गृहमन्त्रालयको ‘खोजी, उद्धार र राहत’ तथा भारतका डा वेन्काटेक्लम थिरुप्पुगजबाट ‘विपद् व्यवस्थापन र क्षमता अभिवृद्धि’सम्बन्धी प्रस्तुति हुनेछ ।
  • त्यसैगरी, सम्मेलनको अन्त्यमा एसियाली विकास बैंकको ‘सार्वजनिक सेवा’सम्बन्धी प्रस्तुति हुनेछ । त्यसपछि छलफल भई सहअध्यक्षको मन्तव्यसागै अपराह्न ५:५० बजे सम्मेलन सम्पन्न हुनेछ ।
  • राजधानीको होटल सोल्टीमा सम्मेलनका सबै कार्यक्रम तय गरिएको छ । सम्मेलनमा भाग लिन आउने विशिष्ट अतिथिको सुरक्षाको प्रबन्ध सरकारले मिलाएको छ । सम्मेलनका संयोजक तथा अर्थमन्त्री महतका अनुसार सम्मेलनको सुरक्षाको व्यवस्था गृह मन्त्रालयले र पाहुनाको मर्यादा क्रमअनुसारको आतिथ्यताको प्रबन्ध परराष्ट्र मन्त्रालयले गरेको छ ।

स्रोत  : नया पत्रिका

Related posts