ताजा खबर

‘छनोट मात्र होइन, जित्ने नै लक्ष्य’

काठमाडौ, २०७२ असार ९,

काठमाडौं– नेपाल लगातार दोस्रोपटक ट्वान्टी–२० विश्वकपमा छनोट हुने तयारी गरिरहेको अवस्थामा कप्तान पारस खड्का र प्रशिक्षक पुबुदु दसानायकेको लक्ष्य उपाधि जितेर आउनेछ ।

नेपाली टिम अभ्यासका लागि मंगलबार राति इंग्ल्यान्ड उडेको छ । एक साता इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले चार अभ्यास खेल खेल्नेछ । नेपाली टिम त्यसपछि चार ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न नेदरल्यान्ड्स जानेछ । जुलाई ९ बाट सुरु हुने विश्व ट्वान्टी–२० छनोटका लागि नेपालले यो सबै तयारी गरेको हो ।

गत वर्ष यही प्रतियोगितामा नेपाल तेस्रो हुँदै पहिलोपटक ट्वान्टी–२० विश्वकपका लागि छानिएको थियो । यसपटक पनि शीर्ष ६ मा परेमा नेपाल अर्को वर्ष भारतमा हुने विश्वकपमा छानिनेछ । ‘सबैले विश्वकपमा छनोट हुनुपर्छ भनेर भनिरहेका छन्, तर हामी छनोट प्रतियोगिता नै जित्ने लक्ष्यका साथ गइरहेका छौं,’ मंगलबार बिदाइ कार्यक्रममा पारसले भने । ट्वान्टी–२० विश्वकप छनोटमा नेपालको यो तेस्रो सहभागिता हो । ‘पहिलो पटक यो प्रतियोगितामा खेल्दा हामी सातौं भएका थियौं, अघिल्लो पटक तेस्रो भयौं, अब हाम्रो लक्ष्य उपाधि जित्नु हो । हाम्रो टिममा त्यो क्षमता पनि छ,’ पारसले भने ।

भारतीय क्रिकेट बोर्डको हिमाचल प्रदेशमा नेपालले राम्रो तयारी गरेकाले दसानायके पनि विश्व ट्वान्टी–२० छनोटको लक्ष्यमा आफ्ना कप्तानसँग सहमत थिए । ‘भारतमा हाम्रो तयारी राम्रो भयो, हामी बिस्तारै लयमा आइरहेका छौं,’ दसानायकेले भने, ‘हामी निश्चय पनि यो प्रतियोगिता जित्ने आशामा बसिरहेका छौं । केही राम्रा प्रतिद्वन्द्वीहरू पनि छन् तर हामी जुन स्तरमा खेलिरहेका छौं, त्यो अनुसार हामी समूहमा शीर्ष स्थान रहँदै फाइनलतर्फ बढ्ने छौं ।’ यस्ता प्रतियोगिता खेल्दा दबाब सधैं हुने उनले बताए । दसानायकेले अगाडि भने, ‘एउटा सकारात्मक पक्ष के हो भने यो सफलताका लागि भोकाएको छ र त्यसका लागि अगाडि बढ्न चाहन्छ । पछिल्ला ६ देखि ८ महिनामा युवा खेलाडीले आफ्नो खेलमा निकै राम्रो सुधार गरिरहेकाले म खुसी छु । यो टिमले आफ्नो स्तर उचाइमा पुर्‍याएको छ । हामी एउटा अन्तर्राष्ट्रिय टोलीजस्तै देखिएका छौं, त्यसैले हामीबाट धेरै आशा गरिएको छ ।’

जुलाई ६ र ७ मा ओमान र यूएईसँग अभ्यास खेल खेलेपछि नेपालले विश्व ट्वान्टी–२० छनोट प्रतियोगिताको समूह चरणमा अमेरिका, नामिबिया, आयोजक आयरल्यान्ड, हङकङ, जर्सी र पपुवा न्यु गिनीसँग खेल्नेछ । अर्को समूहमा सहआयोजक स्कटल्यान्ड, अफगानिस्तान, नेदरल्यान्ड्स, यूएई, ओमान, केन्या र क्यानडा छन् । प्रतियोगिता जुलाई २६ सम्म चल्नेछ ।

नगद पुरस्कारको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकपमा छनोट भए नगद पुरस्कार दिने घोषणा गरेको छ । क्यानका कार्यवाहक अध्यक्ष दीपक कोइरालाले विश्वकपमा छनोट भएमा नेपाली खेलाडीलाई जनही २ लाख ५० हजार दिने घोषणा गरे । क्यानको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको उनले जनाए ।

सिँचाइ मन्त्री एनपी साउदसँगै राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गर्न पुगेका युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले क्रिकेट खेलाडीले जितेर आउँदाका लागि मन्त्रालयले छुट्टै कार्यविधि बनाइरहेकाले अबका दिनमा क्रिकेट खेलाडीलाई पुरस्कृत गर्दा मन्त्रिपरिषद्को बैठकसम्म कुर्नु नपर्ने बताए ।

महेश र अविनाश पनि जाने

विकेटकिपर–ब्याट्सम्यान महेश क्षेत्री र तीव्र गतिका बलर अविनाश कर्ण पनि युरोप भ्रमणमा जाने भएका छन् । क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यका अनुसार हवाई टिकटको बन्दोबस्त भएपछि अविनाश केही दिनमै इंग्ल्यान्ड लाग्नेछन् । महेशले इंग्ल्यान्डमा कर्णवाल क्रिकेट क्लबबाट २ महिना प्रशिक्षण लिनुका साथै सो क्लबबाट खेल्ने पनि छन् । महेशलाई युरोप भ्रमणमा गएको नेपाली टोलीको चार सदस्यीय वैकल्पिक टोलीमा पनि राखिएको थिएन । तर कर्माचार्यका अनुसार महेश विश्व ट्वान्टी–२० छनोटपछि स्कटल्यान्डसँग खेलिने विश्व क्रिकेट लिग च्याम्पियनसिपको २ खेलमा नेपाली टोलीमा हुनेछन् ।

दसानायकेको छोटो सम्झौता

प्रशिक्षक दासानायकेलाई क्यानले साढे ५ महिनाको सम्झौता थपेको छ । नेपालको युरोप भ्रमण सकिएसँगै दसानायकेको सम्झौता सकिँदै थियो । उनले छोटो करारमा आफूलाई बस्न अप्ठेरो हुने बताउँदै आएका थिए । मंगलबार राष्ट्रिय टोलीको बिदाइ कार्यक्रममा दसानायकले नयाँ सम्झौतामा हस्ताक्षर गरे । क्यानबाट कार्यवाहक अध्यक्ष कोइरालाले हस्ताक्षर गरेका थिए ।

क्यानले गत वर्ष आर्थिक अभावका कारण दसानायकेलाई राख्न नसक्ने जनाएपछि सरकारले हस्तक्षेप गरेर श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षकलाई १ वर्षको अनुबन्धन दिएको थियो । ३ दिनअघि सम्पन्न क्यानको साधारण सभापश्चात् कार्यवाहक अध्यक्ष कोइरालाले एसियाली क्रिकेट परिषद्ले डिसेम्बरसम्म आर्थिक अनुदान दिने भएकाले सो समयसम्म दसानायकेलाई अनुबन्धन थप्न आफूहरू तयार रहेको जनाएका थिए ।

‘म सबैको समस्या बुझ्न सक्छु, क्यानसँग केही आफ्ना समस्या छन् । मन्त्रालयले गत वर्ष मलाई एक वर्ष सम्झौता दिएर सहयोग गरेका थिए । छोटो सम्झौता हुँदा मलाई निकै गारो हुन्छ,’ दसानायकेले भने, ‘खासमा छनोट प्रतियोगितापछि म बाहिरिन चाहन्थे । मैले नेपाललाई प्रशिक्षण नगरे पनि, नेपाल छाडे पनि, नेपाल मेरो सधैं मुटुमा रहिरहन्छ ।’ २०११ को सेप्टेम्बरदेखि दसानायके नेपाली टोलीसँग छन् ।

स्रोत  : कान्तिपुर

Related posts