२०७२ असार ९,
नयाँ नेपाली फिल्म ‘रेगुलर रिलिज’ हुने छेकछन्द अझैसम्म पनि देखिएको छैन । तर, फिल्म अवार्डको सरगर्मी भने निकै बढेको छ अहिले, गर्मीझैँ । अहिले फिल्म सुटिङ तथा पोस्टप्रोडक्सनको चापाचाप नभए पनि कतिपयलाई भने बडो भ्याइनभ्याई छ । भ्याइनभ्याई हुनुको कारण हो– अवार्डका लागि आफ्नो फिल्म सम्बन्धित अवार्डवालाकोमा पुर्याउने, दर्ता गर्ने, फर्म भर्ने, कसले अवार्ड पाउला, कसलाई अवार्ड देला भनेर चियोचासो, विरोध र समर्थन, समय कटाउने राम्रै मेलो बनेको छ । अहिले फिल्म नगरी अवार्डकै सेरोफेरोमा रुमल्लिरहेको छ । बर्सेनि फिल्मसम्बन्धी विभिन्न नामधारी झन्डै एक दर्जन अवार्ड हुँदै आएका छन् । त्यसमध्ये अहिले मुख्यत: तीनवटा अवार्डको गर्मी चढेको छ । बाँकी अवार्डले पनि चाँजोपाँजो मिलाउँदै छन् । चलचित्र विकास बोर्ड असार मसान्तभित्रै राष्ट्रिय चलचित्र अवार्ड प्रदान गर्ने जमर्कोमा लागेको छ ।
विगत वर्षमा बोर्डले आफ्नो वार्षिक उत्सव (असार १६)को दिन पारेर अवार्ड वितरण समारोह आयोजना गर्ने गरेको थियो । तर, यसपालि भने लामो समय बोर्ड अध्यक्षविहीन हुनुका साथै भूकम्पको विपत्तिका कारण निर्धारित मितिमा अवार्ड हुन नसकेको हो । तर, केही दिनअघि मात्रै बोर्ड अध्यक्ष नियुक्त राजकुमार राईले यसै महिनाभित्र अवार्ड आयोजना गर्ने द्रुत तयारी गरेका छन् । थोरै विधा मात्र रहने राष्ट्रिय चलचित्र अवार्ड राष्ट्रपतिको हातबाट प्रदान गरिन्छ । सरकारी निकाय चलचित्र विकास बोर्ड मात्र होइन, नेपाल चलचित्र विकास कम्पनी (एनएफडिसी) पनि तेस्रो संस्करणको अवार्डका लागि तातिसकेको छ ।
एनएफडिसीले हालै अवार्डको सर्वाेत्कृष्ट पाँच मनोनयन सार्वजनिक गर्यो । विगतका वर्षमा त्रैमासिक रूपमा नोमिनेसन सार्वजनिक गर्ने गरिएको यो अवार्डको यसपालि भने एकैचोटि फाइनल नोमिनेसन आउट गरिएको छ । अवार्ड ५ भदौमा वितरण गरिँदै छ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा फिल्म अवार्डको चहलपहल पनि सुरु भइसकेको छ । नेफ्टाले हालै राजधानीमा प्रेसमिट गरी आठौँ संस्करणको (यसपालिको) अवार्ड कतारमा आयोजना गर्ने जानकारी दिइसकेको छ । छैठौँ र सातौँ संस्करणको अवार्ड क्रमश: मलेसिया र हङकङमा आयोजना गरेको नेफ्टाले आठौँ नेफ्टा फिल्म अवार्ड भने दसैँ र तिहारको बीचमा कतारमा गर्ने तयारी गरेको छ । जसका लागि अहिले फिल्म दर्ता गर्ने तथा जुरीले हेर्ने काम सुरु भइसकेको छ ।
त्यसैगरी, छायाछवि डिजिटल फिल्म अवार्डको तयारी पनि अघि बढेको छ । छायाछवि क्रिएसनले हरेक वर्ष आयोजना गर्ने गरेको अवार्डका लागि निर्माताबाट फिल्म संकलन गर्ने कार्य सुरु भइसकेको छ । तर, अवार्ड कहिले वितरण गरिन्छ, मिति भने तय भइसकेको छैन । आयोजकले ‘राष्ट्रकै सर्वश्रेष्ठ फिल्म अवार्ड’ दाबी गर्ने गरेको बक्स अफिस फिल्म अवार्ड साउनभित्रै गरिने जानकारी प्राप्त छ । अवार्डका एक्ला आयोजक आरके सुवेदीले चौथो संस्करणको बक्स अफिस फिल्म अवार्डको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । ‘सबै तयारी पूरा भएको छ । अब केही दिनमा एकैचोटि झ्याप्पै नोमिनेसन आउट गरिन्छ,’ उनी भन्छन्, ‘यसपालि झन् भव्यताका साथ अवार्ड गर्ने चाँजोपाँजो मिलाएको छु ।’ यो नै नेपालको यस्तो अवार्ड हो, जहाँ सर्वाधिक विधामा अवार्ड प्रदान गरिनुका साथै चलचित्र क्षेत्रमा अनवरत सेवा गरेको भन्दै ‘अनलिमिटेड’ निर्माता, हलवाला, वितरक मात्र होइन, चलचित्र पत्रकारलाई पनि सम्मान गर्ने गरिन्छ । आयोजक अमेरिका नगएको भए अहिले ०७१ सालमा रिलिज भएका फिल्मका फिल्मकर्मीले एउटा फिल्म अवार्ड हात पारिसकेका हुने थिए । त्यो अवार्ड हो– अनलाइन फिल्मी खबर फिल्म अवार्ड । फिल्मी खबर डटकमका सञ्चालक सुमन गैरेले आफ्नो जन्मदिनका दिन (जेठ तेस्रो सातातिर) आयोजना गर्दै आएको यो अवार्डको यसपालि भने चाइँचुइँ सुनिएन । भूकम्प आउनुअघि नै अमेरिका उडेका गैरे स्वदेश फिर्ता भइसकेका छैनन् । त्यसकारण यो अवार्ड यसपालि आयोजना हुन्छ कि हुँदैन, यकिन छैन ।
ओफाझैँ चलचित्र समीक्षक समाजले आयोजना गर्दै आएको क्रिटिक्स अवार्डको पनि यसपालि हल्लाखल्ला सुनिएको छैन । फिल्म बनून् या नबनून्, चलून् या नचलून्, हलमा दर्शक आऊन् या नआऊन्, अवार्ड भने निरन्तर चलिरहेका छन् । अवार्डले फिल्मकर्मीलाई अझ ऊर्जा थप्ने आयोजकले दाबी गर्दै आइरहेको भए पनि केही चलचित्रकर्मीले भने असन्तुष्टि व्यक्त गर्ने गरेका छन् । त्यसमध्ये एक निर्मात्री, अभिनेत्री छिन्– रेखा थापा । उनले गत वर्षदेखि नै अवार्डको विरोध गरेकी हुन् । गतवर्ष चलचित्र विकास बोर्डले आयोजना राष्ट्रिय फिल्म अवार्ड लिन समेत उनी गइनन् । यसपाली भने उनले आधिकारिक रुपमै अवार्डहरुको विरोध गरेकी छिन् । रेखाले आफ्नो कम्पनी रेखा फिल्म्सबाट बनेका कुनै पनि फिल्म अब उप्रान्त कुनै पनि फिल्म अवार्डमा सामेल नगराउने घोषणा गरेकी छिन् । उनले मंगलबार आफ्नो फेसबुकमार्फत यो उद्घोष गरेकी हुन् । उनले फिल्मसम्बन्धी अवार्डले कलाकर्मीको मनोबल बढाउनेभन्दा गिराउने काम गरेको दाबी गर्दै आफू यो ‘खेल’बाट सधैँका लागि बाहिरिएको जनाएकी छिन् । रेखाझैँ अन्य केही फिल्मकर्मी पनि अवार्डप्रति असन्तुष्ट छन् । मात्र, आधिकारिक रूपमा खुल्न चाहेका छैनन्।
स्रोत : नया पत्रिका