काठमाडौ, २०७२ असार ९,
प्रधानमन्त्री सुशील कोइरालाले लोकतन्त्र, राष्ट्रिय एकता र विकासका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका छन् । एक भएर अघि बढ्न सके मात्रै विपत् व्यवस्थापन गर्न सकिने र त्यसबाट आधुनिक नेपालको पुनर्निर्माण सम्भव हुने कोइरालाले बताएका हुन् ।
भूकम्पपीडितहरूको सहयोगका लागि कान्तिपुर मिडिया ग्रुपको कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनद्वारा सञ्चालित अभियानमा जम्मा भएको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई हस्तान्तरणपछि बोल्दै प्रधानमन्त्री कोइरालाले संविधान चाँडै घोषणा गरेर पुनर्निर्माणमा जुट्नुपर्ने आवश्यकता औंल्याए । उनले राजनीतिक स्थायित्व र शान्ति नभएकाले नै देश पछाडि परेको बताउँदै अब यो अवस्था मुलुकले थेग्न नसक्ने बताए । ‘अहिले प्राप्त उपलब्धिलाई संस्थागत गर्न शान्ति र स्थिरता आवश्यक छ । त्यसका लागि चाँडो संविधान जारी हुनुपर्छ,’ कोइरालाले भने, ‘अब पनि लड्ने र लडाउने काम भयो भने यो मुलुक उठ्न सक्दैन । समस्या समाधान गर्न नेपाल एक भएर जानुपर्छ । विकास, लोकतन्त्र र राष्ट्रियताका लागि एकता आवश्यक छ । एक भयौं भने हामीलाई कसैले केही गर्न सक्दैन ।’
कान्तिपुर मिडिया ग्रुप एवं कान्तिपुर फाउन्डेसनका अध्यक्ष कैलाश सिरोहियाले आफ्नो संस्थाको संयोजनमा सञ्चालित अभियानमा जम्मा भएको ४ करोड ४३ लाख ५१ हजार ३ सय १० रुपैयाँ ६ पैसाको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । गत वैशाख १२ गते भूकम्प गएपछि भूकम्पपीडितहरूको सहयोगार्थ कान्तिपुरले सुरुमा सेन्चुरी बैंकसँग र पछि अन्य बैंकहरूसँगको सहकार्यमा बैंक खाता खोली रकम संकलन गरेको थियो । ‘खातामा हामीले १० लाख रुपैयाँ राख्यौं र अरूलाई सहयोग गर्न अपिल गर्यौं,’ सिरोहियाले भने, ‘यसमा सय रुपैयाँदेखि ५० लाख दिने दाताहरूसमेतको रकम संकलन भएको छ ।’
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल, कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा, दी काठमान्डु पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्याय, सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड, सेन्चुरी बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालगायतको उपस्थिति थियो । प्रधानमन्त्री कोइरालाले विपत्को घडीमा सहयोग जुटाएकोमा कान्तिपुर र यसको अभियानमा सम्बद्ध अन्य दाताहरूलाई धन्यवाद दिए ।
‘नेपालको भविष्य राम्रो छ/हुन्छ’
– सुशील कोइराला, प्रधानमन्त्री
अहिले हामी ठूलो विपत्को सामना गरिरहेका छौं। सँगसँगै संविधान निर्माणको काम पनि अघि बढिरहेको छ। संविधानका विषयमा केही जटिल समस्या थिए। त्यसलाई समाधान गरेर राष्ट्रलाई सकारात्मक सन्देश दिने दिशामा हामी राजनीतिक दलहरू फेरि एकपटक एक भएर लागेका छौं। समाचार माध्यमले अहिलेको अवस्थामा अन्योलको विषय नउठाएर राष्ट्रलाई अघि बढाउन सही समाचार सम्प्रेषण गर्दै जाऊन् भन्ने मेरो आग्रह छ।
यतिबेला हामी सबै एक भएर मुलुकका सामु उत्पन्न चुनौतीको सामना गर्नुपर्छ। चुनौतीसँगै हाम्रा अघि धेरै सम्भावनाहरू पनि छन्। हामी राजनीतिक दलका नेताहरू पनि यो घडीमा एक भएर जान्छौं। संविधान निर्माण अब चाँडै हुन्छ भन्ने विश्वास पलाएको छ र यो एउटा प्रक्रियामा अघि बढेको छ। यसलाई चाँडोभन्दा चाँडो टुंग्याउन म कृतसंकल्पित छु। हामी हिजोका कमीकमजोरी हटाएर आधुनिक नेपाल बनाउन लागेका छांै। त्यसका लागि पनि छिटोभन्दा छिटो संविधान आओस् भन्ने पक्षमा म छु। संविधान चाँडै ल्याउन सकियो भने मुलुकले नयाँ गन्तव्य र दिशा पक्रन सक्छ भन्ने मलाई लागेको छ।
आज लाखौं युवाहरू खाडीका मुलुकमा पसिना बगाइरहेका छन्। उजाड मरुभूमिलाई हराभरा बनाउन लागिरहेका छन्। तातो हावा र बालुवामा काम गर्न विवश छन्। त्यसरी काम गर्न कति गाह्रो होला? नेपालमा प्रकृतिप्रदत्त जति स्रोतसाधन छ, त्यसलाई परिचालन गरेर राम्रो वातावरण बनाउन सकियो भने भविष्यमा सबै नेपालीलाई यहीं काम दिन सकिन्छ। कामको खोजीमा बाहिरिनुपर्ने अवस्था हँुदैन। म त धेरै आशावादी छु, नेपालको भविष्य राम्रो छ र हुन्छ।
विपत्का बेला कान्तिपुर मिडियाले सहयोग संकलन गरेकोमा धेरै–धेरै धन्यवाद दिन चाहन्छु। हिजो पनि म उत्तरी धादिङको भूकम्प प्रभावित क्षेत्र घुमेको थिएँ। कतिपय ठाउँमा तत्कालका लागि राहत लैजान पनि कठिनाइ परिरहेको छ। पहाडबाट बाढीपहिरो आइरहेको छ। हिँड्ने बाटो पनि छैन। सडक छ, तर पुरिएको छ। यस्तो कठिनाइका बाबजुद सरकारले राहत पुर्याउने काम गरिरहेको छ।
भूकम्पपीडितका लागि आएको राहत रकम र सामग्रीको सदुपयोग होस् भन्नेमा सरकार अत्यन्त सजग छ। मैले पत्रपत्रिकामा सुनेको छु, राहत सामग्रीको दुरुपयोग भएको सम्बन्धमा। म राहत रकम र सामग्री कुनै पनि हालतमा दुरुपयोग हुन दिन्नँ। मैले यो कुरा क्याबिनेटमा पनि उठाएको छु। गल्ती गर्ने कारबाहीमा पर्छन्। कति कुरा अख्तियारमा पनि पुगेको छ। बीचमा एउटा अन्योल पनि भयो, प्रधानमन्त्री राहत कोषमा पैसा दियो भने सदुपयोग हुन्न भनेर। प्रधानमन्त्री कोषमा करोडौं रुपैयाँ दियो भने दुरुपयोग हुन्छ पनि भने। प्रधानमन्त्री राहत कोष भनेको राज्यको कोष हो, व्यक्तिको होइन। जुन उद्देश्यका साथ यसमा रकम जम्मा गरिएको हुन्छ, त्यसभन्दा बाहिर खर्च हुँदैन। म सबै नेपालीलाई विश्वास दिलाउन चाहन्छु, प्रधानमन्त्री राहत कोषको रकम दुरुपयोग हुँदैन।
हामी यतिबेला दाता सम्मेलनको तयारीमा छौं। नेपाललाई विपतबाट कसरी माथि उठाउने भन्ने सबैको चिन्ता छ। संयुक्त राष्ट्रसंघले गम्भीरतापूर्वक लिएको छ। राष्ट्राध्यक्ष र नेपालस्थित राजदूतहरूसँग मेरो कुरा हँुदा सबैलाई अति चिन्तित भएको पाएको छु। अमेरिकाका राष्ट्रपति ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मेरो कुरा भयो। उहाँहरूले नेपालको अवस्थालाई गम्भीरतापूर्वक लिनुभएको छ। त्यस्तै चाइनाले पनि सक्दो सहयोग गर्ने वचन दिएको छ, नेपालमा आएको विपत्लाई गम्भीरतापूर्वक लिएको छ। हाम्रो ‘परफर्मेन्स’ कस्तो हुन्छ, त्यसमा धेरै कुरा निर्भर हुन्छ।
हिजो भूकम्प प्रभावित क्षेत्रमा जाँदा देखेको दृश्यले मलाई रुन मन लाग्यो। मर्ने–बाँच्ने ठेगान छैन तर विद्यार्थीहरू एकटकले स्वागत भनेर बसिरहेका थिए। एकातिर पहाड चिरा परेको छ, अर्कोतिर बस्ती छ, के हुने हो भन्ने सन्त्रास कायम छ। तर, नेपालीहरू धैर्यसाथ बसिरहेका छन्।
आज हामी प्रकृतिले गर्दा यस्तो अवस्थामा पुगेका छौं। तर, हामी आधुनिक नेपाल बनाउन एकजुट हुनुपर्छ। आधुनिक नेपाल बनाउनैपर्छ।हाम्रोमा कहिल्यै पनि शान्ति, स्थायित्व र दिगो विकास हुन सकेन। यो मुलुकले झन्डै एक शताब्दीदेखि स्थायित्व पाएन। त्यसैले हामीले दु:ख पाएका हौं। नत्र यो मुलुक कहाँ पुगिसक्थ्यो। अब हामी एक भएर जान्छौं। नेपालमा छोटो समयमा मिडियाको विकास भएको छ।
लोकतान्त्रिक गणतन्त्रका लागि हामीसँगै मिडियाले पनि लडेको छ। लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई बचाउन काम मिडियाले पनि गर्नुपर्छ। नेपालीहरूको पहिचान, भाषा, वेशभूषा, समावेशी, महिला, जनजाति, अल्पसंख्यकलगायत सबैको हक–अधिकारको रक्षाका लागि शान्ति र स्थायित्व चाहिन्छ। अब पनि लड्ने र लडाउने काम भयो भने यो मुलुक उठ्न सक्दैन। नेपाल र नेपाली एक भएर जानुपर्छ। विकास, लोकतन्त्र र राष्ट्रियताका लागि एकता आवश्यक छ। एक भयौं भने हामीलाई कसैले केही गर्न सक्दैन।
(भूकम्पपीडितका लागि कान्तिपुर मिडिया ग्रुपको संयोजनमा संकलित रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गर्ने क्रममा मंगलबार प्रधानमन्त्री कोइरालाद्वारा व्यक्त विचार।)
स्रोत : कान्तिपुर