२०७२ असार ९,
इस्लामावाद/ पाकिस्तानमा उच्च तापक्रमका कारण सात सयभन्दा धेरैको मृत्यु भएको छ । सरकारले तापक्रम बढ्ने क्रम नरोकिएपछि आपत्कालीन अवस्था घोषणा गरेको छ । पाकिस्तानको राष्ट्रिय विपत् व्यवस्थापन अधिकारीका अनुसार पाकिस्तानमा पछिल्ला दिन ४५ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ, यो क्रम बढ्दो छ। स्वास्थ्य अधिकारीका अनुसार पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँचीमा गर्मीका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । यहीबीच त्यहाँ विद्युत् आपूर्तिमा समस्या देखिएको अधिकारीले जनाएका छन् । उता, सरकारले गर्मीमा आमजनताको बेवास्ता गरेको भन्दै कराँचीका केही स्थानमा सरकारविरोधी प्रदर्शन सुरु भएको छ । विद्युत् कटौतीमा सरकार र विद्युत् आपूर्ति कम्पनी दोषी रहेको उनीहरूको आरोप छ । यसबीच प्रधानमन्त्री नवाज सरिफले देशमा आपत्कालीन अवस्था रहेको घोषणा गर्दै अब विद्युत् कटौती नगर्ने वाचा गरेका छन् । उनले सरकारी अधिकारीलाई जनजीवन सहज बनाउन निर्देशन पनि दिएका छन् । पाकिस्तानको मौसम विभागले मंगलबारबाट तापक्रम घट्न सक्ने अनुमान गरेको छ । सन् १९७९ मा पाकिस्तानमा आजसम्मकै सबैभन्दा उच्च तापक्रम ४७ डिग्री सेल्सियस मापन गरिएको थियो । अघिल्लो महिना भारतमा गर्मीका कारण २ हजारभन्दा धेरैको मृत्यु भएको थियो ।
स्रोत : नया पत्रिका