ताजा खबर

कोपा अमेरिकाको क्वाटरफाइनल तयारीका लागि सोमबार अभ्यास गर्दै चिलीका खेलाडी

सान्टियागो, २०७२ असार ९ ,

ब्राजिलले कोपा अमेरिकाको पछिल्ला सात संस्करणमा पाँचौंपल्ट उपाधि हात पार्ने हो भने कठिन बाटो तय गर्नुपर्नेछ । ब्राजिलले सोमबार मात्र आफ्ना स्टार स्ट्राइकर तथा कप्तान नेयमारमाथि लागेको चार खेलको प्रतिबन्धमा अपिल नगर्ने भएको छ । नेयमारमाथि हिंसात्मक व्यवहारका कारण कारबाही गरिएको छ ।

यसको अर्थ ब्राजिलले नकआउट चरणमा नेयमारबिना खेल्नुपर्नेछ । त्यति मात्र होइन, ब्राजिलले तय गर्नुपर्ने फाइनलसम्मको बाटो पनि आफैंमा कडा छ, उसले सामना गर्नुपर्ने प्रतिद्वन्द्वीहरूका कारण । अर्जेन्टिना, कोलम्बिया र ब्राजिल एउटै समूहमा छन् । यी तीन फिफा वरीयताका तेस्रोदेखि पाँचौं स्थानसम्म छन् । नकआउट चरणको अर्को समूहमा छ, ८९ औं स्थानको बोलिभिया, ६१ औं स्थानको पेरु ।

त्यति मात्र होइन, डिफेन्डिङ च्याम्पियन तथा वरीयताको आठौं स्थानमा रहेको उरुग्वेले चिलीसँग खेल्नुपर्नेछ । अर्जेन्टिना र कोलम्बिया भने अन्तिम आठमा एक आपसमा भिड्नुपर्ने सबैभन्दा उच्च वरीयताका टिम हुन् । यो खेलको विजेता जुनै टिम रहे पनि उसले सेमिफाइनलमा ब्राजिलको सामना गर्नुपर्नेछ । त्यस अगाडि ब्राजिलले पाराग्वेलाई पन्छाउनुपर्नेछ ।

पछिल्लो संस्करणमा पाराग्वे सेमिफाइनलसम्म पुगेको थियो । त्यसपछि उसले विश्व कपमा पनि क्वाटरफाइनलको यात्रा तय गरेको थियो। तर त्यसयता पाराग्वेको प्रदर्शनमा ओरालो लागेको छ । यो क्रम अहिले वरीयताको ८५ औं स्थानमा पुगेको छ । सन् २०१० को विश्व कपलगतै १५ औं स्थानसम्म पुगेको पाराग्वेले त्यसयताका १९ खेलमा चारमा मात्र जित निकालेको छ ।

नेयमारबिना पनि ब्राजिलले पाराग्वेको चुनौती पार गर्न सक्ने विश्वास छ र यसक्रममा उसले चार वर्षअगाडि पाराग्वेको हातबाट सेमिफाइनलमा बेहोरेको हारको बदला पनि लिन सक्छ । तर ब्राजिली सेन्टर ब्याक थिएगो सिल्भा यसलाई सजिलो भने मान्ने पक्षमा छैनन् । उनी भन्छन्, ‘पछिल्लोपल्ट पाराग्वे फाइनल पुगेको हो, त्यसैले कुनै पनि स्थितिमा उसलाई सजिलो मान्न सकिन्न ।’

सम्भवत: चिलीसँग कोपा अमेरिका पहिलोपल्ट जित्ने सबैभन्दा बलियो सम्भावना छ । चिलीले चारपल्ट फाइनल खेलेको छ र त्यसमध्ये सन् १९८७ मा अन्तिम पटक हो । यसपल्ट चिलीलाई आफ्नै घरेलु मैदानमा खेल्ने अवसर मात्र छैन, टिममा त्यहाँको फुटबल इतिहासमै स्वर्णिम पुस्ताका खेलाडीको बाहुल्य छ । गत वर्षको विश्वकपमा चिलीको यही टिमले स्पेनलाई हराएको थियो ।

टिमका दुई प्रमुख खेलाडीमा आर्सनलका फरवार्ड एलेक्स सान्चेज र युभेन्ट्स मिडफिल्डर आरटुरो भिडाल रहेका छन् । बिहीबार सबैभन्दा कम सम्भावना बोकेका बोलिभिया र पेरु भिड्नेछन् । दुवै प्रतियोगिताका पूर्वविजेता भने हुन् । त्यसपछि अर्जेन्टिना र कोलम्बियाबीचको हेभिवेट खेल हुनेछ । लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनासामु यसपल्ट उपाधिविहीनको लामो यात्रा टुंग्याउने अवसर हुनेछ ।

स्रोत  : कान्तिपुर

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *