ताजा खबर

प्रमुख पर्यटकीय स्थानमा एमाले नेता खटिने

काठमाडौं, ८ असार
एमालेले १० जेठदेखि भूकम्प प्रभावित स्थानमा पुनर्निर्माणका लागि स्वयंसेवकका रूपमा खटाएको कार्यकर्तालाई मंगलबार भने देशका प्रमुख पर्यटकीय गन्तव्यमा परिचालित गर्ने भएको छ ।
शीर्ष नेताहरूको नेतृत्वमा प्रमुख पर्यटकीय गन्तव्यमा सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिने एमालेद्वारा सञ्चालित स्वयंसेवा अभियानका संयोजक गोकर्ण विष्टले बताए । र्‍यालीमार्फत पर्यटकलाई नेपालमा पर्यटकीय गन्तव्य सुरक्षित छ भन्ने सन्देश दिन लागिएको उनको भनाइ छ ।

प्रमुख पर्यटकीय गन्तव्य काठमाडौं, चितवनको सौराहा, जनकपुरधाम, लुम्बिनी, पोखरा, प्युठानको स्वर्गद्वारी, मुस्ताङको मुक्तिनाथ, खोटाङको हलेसी, मुस्ताङको मुक्तिनाथ र सोलुखुम्बुको लुक्लामा र्‍याली निकालिने एमालेले जनाएको छ । एमाले कार्यकर्ता नेपाल सुरक्षित भएको सन्देश दिने नारा लेखिएका प्लेकार्ड र टिसर्ट लगाएर र्‍यालीमा सहभागी हुने अभियानका संयोजक विष्टले बताए । र्‍यालीमा पर्यटकहरूलाई अग्र भागमा सहभागी गराउने बताइएको छ ।

काठमाडौंमा हुने कार्यक्रमलाई विशेष तामझामका साथ सम्पन्न गर्नेगरी एमालेले योजना बनाएको छ । अध्यक्ष केपी ओली उपस्थित हुने काठमाडौंको कार्यक्रममा कम्तीमा १० हजार कार्यकर्ता उतार्न एमालेले मातहत कमिटीलाई विशेष निर्देशन दिएको छ ।
बेलुकी ४ बजे वसन्तपुरबाट सुरु भई ठमेलमा सांस्कृतिक कार्यक्रमसहित समापन हुने कार्यक्रममा एमालेले संख्या तोकेर कार्यकर्ता उपस्थित गराउन विभिन्न कमिटीलाई निर्देशन दिएको छ । जसमा सम्पर्क समन्वय कमिटीले दुई हजार, उपत्यका समन्वय कमिटीले ६ हजार, पेसागत महासंघले दुई हजार जनता सहभागी गराउनुपर्ने निर्देशन छ ।

अनेरास्ववियुले तीन हजार, युवा संघले एक हजार पाँच सय, जिफन्टले दुई हजार, अखिल नेपाल महिला संघले पाँच सय, पर्यटन व्यवसायसँग सम्बन्धित संघ–संगठनले हजार र किसान महासंघ, बुद्धिजीवी परिषद्, मुस्लिम इत्तेहाद, मुक्ति समाज, जनसांस्कृतिक महासंघलगायतका अरू जनवर्गीय संगठन प्रत्येकले दुई सयका दरले उपस्थिति जनाउनुपर्ने निर्देशन दिइएको छ ।
को नेता कहाँ ?

  • अध्यक्ष केपी ओलीले नेतृत्व गर्ने काठमाडौंको कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्षहरू वामदेव गौतम, विद्यादेवी भण्डारी, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई उपस्थित हुने । त्यस्तै, स्थायी समिति सदस्यहरू मुकुन्द न्यौपाने, छविलाल विश्वकर्मा, किरण गुरुङ, अमृतकुमार बोहरा र डा. पुष्प कँडेल सहभागी हुने ।
  • जनकपुरमा वरिष्ठ नेता माधवकुमार नेपाल, पोलिट्ब्युरो सदस्यहरू योगनारायण यादव र शत्रुघन महतो, केन्द्रीय सदस्यहरू श्रीप्रसाद साह र लक्ष्मण पौडेल सहभागी हुने
  • लुम्बिनीमा उपमहासचिव विष्णुप्रसाद पौडेल, केन्द्रीय सदस्यहरू बैजनाथ चौधरी, लीला गिरी र खिमलाल भट्टराई सहभागी हुने
  • पोखरामा सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य सोमनाथ अधिकारी प्यासी, पोलिट्ब्युरो सदस्यहरू जगत विश्वकर्मा र तुलबहादुर गुरुङ, केन्द्रीय सदस्यहरू सीता गिरी ओली, पद्मा अर्याल, प्रतापलाल श्रेष्ठ र सीता सुन्दास सहभागी हुने
  • स्वर्गद्वारीमा स्थायी समिति सदस्य शंकर पोखरेल, केन्द्रीय सदस्यहरू खेममान खड्का र गुलाबजंग शाह, सहभागी हुने
  • सौराहामा स्थायी समिति सदस्य सुरेन्द्रप्रसाद पाण्डे, केन्द्रीय सदस्यहरू केदार न्यौपाने, विरोध खतिवडा र कृष्ण खनाल सहभागी हुने
  • मुक्तिनाथमा पोलिट्ब्युरो सदस्य गणेश तिमिल्सिना सहभागी हुने
  • हलेसीमा वैकल्पिक पोलिट्ब्युरो सदस्य जगन्नाथ खतिवडा, केन्द्रीय सदस्यहरू यज्ञराज सुनुवार, बलदेव चौधरी, सुमन प्याकुरेल, लीलानाथ श्रेष्ठ, विशाल भट्टराई र राजन राई सहभागी हुने
  • लुक्लामा वैकल्पिक केन्द्रीय सदस्य किशोर अधिकारी सहभागी हुने

स्रोत : नया पत्रिका

Related posts