के बन्न चाहन्छन् यस वर्षका एसएलसी उत्कृष्ट ?

२०७२ असार ८,

०७१ सालका एसएलसी उत्कृष्ट छात्रछात्राले भविष्यमा डाक्टर बन्ने लक्ष्य राखेका छन् । सार्वजनिक नतिजाअनुसार ९४ प्रतिशत अंक ल्याएका दीक्षित पौडेल र सामुदायिक विद्यालयका तर्फबाट तथा छात्राका तर्फबाट सबैभन्दा धेरै ९३ दशमलव ८७ प्रतिशत ल्याउने भावना अर्याल दुवैको चाहना डाक्टर बन्ने रहेको छ । राम्रो नतिजा ल्याउन सफल भएका पौडेलले उच्च माध्यमिक तहमा साइन्स पढ्ने लक्ष्य राखेका छन् । अहिले उनी राम्रो कलेजको छनोटमा लागेका छन् । पौडेलले भने, ‘प्लस टुमा साइन्स पढ्छु । पछि डाक्टर बन्ने लक्ष्य छ ।’ ०७१ सालको एसएलसी परीक्षामा दीक्षित पौडेलले ९४ प्रतिशत ल्याएका छन् । कुल आठ सय पूर्णाङ्कको परीक्षामा सात सय ५२ अर्थात् ९४ प्रतिशत अंक प्राप्त गरेका छन् । काठमाडौंको बानेश्वरस्थित भ्याली भ्यु इंग्लिस स्कुलमा चार कक्षादेखि पढ्दै आएका थिए । उनले यो सफलतामा बुबाआमा, दिदीका साथै गुरुहरूको भूमिका रहेको बताए । राम्रो नतिजाका लागि उनले रट्नेभन्दा बुझेर पढ्नुपर्ने सुझाब दिए । उनले सुरुमा दुई/तीन घन्टा र परीक्षाका वेला चार घन्टा नियमित रूपमा पढ्ने गरेको बताए ।

रुपन्देहीको मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयबाट एसएलसी दिएकी भावनाले पनि डाक्टर बन्ने लक्ष्य राखेकी छिन् । उनलाई धेरै कलेजमा पढ्न अफर आएको छ । तर, कहाँ र कुन कलेजमा पढ्ने टुंगो नलागेको उनले बताइन् । उनले भनिन्, ‘मरो प्लस टुमा साइन्स विषय पढ्ने सोचाइ छ । त्यसपछि छात्रवृत्तिमा नाम निकालेर एमबिबिएस पढ्ने लक्ष्य छ ।’ भवनाले भनिन्, ‘मैले पढेको विद्यालय सामुदायिक भए पनि पढाइ निकै राम्रो छ । अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुन्छ । म ६ कक्षासम्म बोर्डिङ स्कुलमा पढेर सात कक्षामा सामुदायिकमा भर्ना भएकी थिएँ ।’ भावनाले शैक्षिक वातावरण राम्रो र शिक्षक योग्य भए सामुदायिकमा समेत राम्रो नतिजा ल्याउन सकिने बताइन्।

स्रोत  : नया पत्रिका

Related posts