ताजा खबर

पोखरामा चाहेजस्ता उमावि

२०७२ असार ८,

रोहितराज पराजुली एसएलसी दिएर बसेका पोखरा–८, सिर्जनाचोकका रामु थापा भविष्यमा के बन्ने भन्ने निर्णय नगरे पनि +२ मा विज्ञान विषय लिएर पढ्ने सोचाइमा छन् । पोखरा–२, विन्ध्यवासिनीकी शर्मिला पुन नर्सिङ पढ्ने योजनमा छिन् । अन्य विषयभन्दा रोजगारीको राम्रो अवसरका कारण आफू नर्सिङप्रति आकर्षित भएको पुनको भनाइ छ । सानैदेखि विदेश जाने इच्छा राखेका पोखरा लामपाटनमार्गका समीर गुरुङले ए लेभल पढ्ने तयारी गरेका छन् । विदेश जान सजिलो हुने भएकाले ए लेभल रोजेको उनले बताए । थापा, पुन र गुरुङजस्तै हजारौँ विद्यार्थीमध्ये केहीले के पढ्ने भन्ने निर्णय गरिसकेका छन् र केही योजना बनाउँदै छन् ।

विद्यार्थीहरूका फरक–फरक इच्छाअनुसार विषय पढाउनका लागि कास्कीमा दर्जनौँ शैक्षिक संस्था खुलेका छन् । हाल ती संस्था एसएलसी दिएर बसेका विद्यार्थीहरूको पर्खाइमा छन् । पर्यटकीय सहरका रूपमा परिचित पोखरा शैक्षिक सहरको रूपमा समेत विकास हुँदै गएको छ । एक दशकअघि गुणस्तरीय उच्च शिक्षाका लागि काठमाडांै वा विदेश जाने पोखरेली र वरिपरिका विद्यार्थीका लागि अब बाहिर जानुपर्ने बाध्यता छैन । विद्यार्थीहरूले चाहेका सबैजसो विषय याहाँका उच्च माविहरूमा पढाइ हुने गरेको छ ।

हिसान कास्कीका सदस्य एवं स्पाइरल ग्यालेक्सी उच्च माविका प्राचार्य नारायणप्रसाद चापागाईं एसएलसीपछि सबै विषयको पढाइ हुने र पढ्नकै लागि बाहिर जानुपर्ने आवश्यकता नरहेको बताउँछन् । छिमेकी जिल्लाबाट पढ्न आउने विद्यार्थीहरूको संख्यासमेत प्रत्येक वर्ष बढेको उनको भनाइ छ ।

उच्च शिक्षाका लागि कास्कीमा ६० सामुदायिक, ५१ संस्थागत उच्च माविमा र ६ क्याम्पस छन् । तिनीहरूमध्ये ३५ उमाविमा विज्ञान, एक सय १० उमाविमा वाणिज्य, ३२ उमाविमा मानविकी र ६० उमाविमा शिक्षा संकायअन्तर्गत विभिन्न विषयमा पढाइ हुने गरेको छ । सँगै निजी क्षेत्रबाट खुलेका अस्पताल, नर्सिङहोम, क्याम्पससँगै अन्य संस्थामा ए लेभल, होटल म्यानेजमेन्ट, फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, सिएमएसँगै इन्जिनियरिङलगायतका विषयसमेत यहीँ नै अध्ययन गर्न सकिन्छ । यहाँ रहेका ६ निजी अस्पताल/नर्सिङहोम र अन्य संस्थामा गरी १० स्थानमा चार सयजनाले नर्सिङ विषयमा पढ्न पाउँछन् । तीनवटा संस्थाहरूबाट ए लेभल र ओ लेभलका गरी करिब दुई सय विद्यार्थी पढ्न पाउँछन् ।

त्यसैगरी, एचएमा ४० जना, फार्मेसीमा ४० जना, डेन्टलमा ४० जना, सिएमएमा एक सय ६० जना, ल्याब असिस्टेन्टमा ८० जना, रेडियोलोजीमा ३० जनाले पढ्न पाउँछन् । इन्जिनियरिङतर्फ पोखरा इन्जिनियरिङ कलेजमा डिप्लोमा इन सिभिल, इलेक्ट्रोनिक्स र कम्प्युटर गरी तीन विषयमा ४०/४० जनाका दरले पढाइ हुने गरेको छ । यसैगरी, सिटिइभिटी आफैँले डिप्लोमा इन होटल म्यानेजमेन्ट विषयमा ४० जनालाई पढाउँदै आएको छ ।

पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम भएका कारण पनि पोखरामा छिमेकी जिल्लाहरूबाट अध्ययनका लागि वार्षिक रूपमा हजारौँ विद्यार्थी आउने गर्दछन् । विद्यार्थीको चापसँगै पोखरामा शैक्षिक संस्थाहरू खुल्ने क्रम पनि बढेको छ । विद्यार्थीले पढ्न चाहेको विषयका लागि कुनै समस्या नभए पनि सीमित सिट र कोटाका कारण सबैले पढ्न पाउने कोटा भने छैन । मेडिकल, इन्जिनियरिङ, विज्ञान, ए लेभल, व्यवस्थापनलगायतका प्राविधिक विषयमा भर्ना हुनेहरूको चर्को होड भएकाले उच्च अंक नल्याए सफल नहुने भन्दै अधिकांश विद्यार्थीले ब्रिज कोर्ष गरेका छन् । पढाइ पूरा हुनेबित्तिकै काम, भनेजस्तो दाम आउने विषय पढ्ने धेरैको चाहना हुने गरेको छ । रोजगारीको अवसर मिल्ने भएकाले नर्सिङ, हेल्थ असिस्टेन्ट, डेन्टल हाइजेनिस्ट, ल्याब टेक्निसियन, फार्मेसी, रेडियोग्राफर, ओभरसियरलगायतका विषय रोज्नेहरू निकै छन् ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *