ताजा खबर

चरम संकटपछिका ग्रिसका पाँच अवस्था

एजेन्सी
एथेन्स, ७ असार
सन् २००९ को आर्थिक मन्दीको असर सबैभन्दा बढी युरोपमा परेको थियो । युरोपका धेरैजसो राष्ट्र आर्थिक मन्दीबाट बाहिरिसकेका छन् । तर, ग्रिस अहिलेसम्म पनि आर्थिक मन्दीको सिकारबाट बाहिर आउन सकेको छैन । ग्रिसको आर्थिक अवस्था सुधार गर्न युरोपियन संगठन (युरोजोन), केन्द्रीय बैंक (इसिबी) र जर्मनीले निरन्तर रूपमा आर्थिक सहयोग गरिरहेका छन् । अर्बौँ डलरको सहयोग र ऋण प्राप्त हुँदासमेत ग्रिसले आफ्नो अवस्था सुधार गर्न सकेन । जुनको अन्त्यसम्म ग्रिसले युरोजोन तथा इसिबीबाट लिएको ऋण चुक्ता गर्नुपर्छ । ग्रिसले डेटलाइनभित्र ऋण चुक्ता गर्न नसक्ने जनाइसकेको छ । युरोजोनले समयभित्र ऋण नतिर्दा ग्रिसलाई आफ्नो क्षेत्रबाट बाहिर राख्ने चेतावनी दिएको छ ।

१. आइएमएफ र इसिबीद्वारा सहयोग रोक्का
बेल आउट प्याकेजविना आर्थिक सुधार गर्न खोजिए सरकार चरम आर्थिक संकटमा पर्न सक्छ । गत मेमा सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट एक अर्ब युरो सहयोग पाएको थियो । तर, आइएमएफ, युरोपियन केन्द्रीय बैंक (इसिबी) ले छोटो अवधिभित्र ग्रिस सरकारले संकट पार गर्न नसक्ने जनाउँदै सहयोग रोक्का गरेका छन् । सरकारले महत्त्वपूर्ण संस्था अस्पताल र सार्वजनिक क्षेत्रमा समेत अंकुश लगाएपछि आर्थिक संकटतर्फ धकेलिएको हो ।

२. युरोजोनबाट बाहिरिन सक्ने
सरकारले तत्कालै ऋण चुक्ता नगर्दा इसिबीले आर्थिक सहयोग बन्द गर्न सक्ने सम्भावना छ । इसिबीले बलियो बैंकिङ भएका राष्ट्रहरूमा ऋण तथा सहयोग प्रदान गरेको छ । दिनप्रतिदिन जनताले आ–आफ्नो खाताबाट रकम झिकेपछि ग्रिसको बैंकिङ क्षेत्र पनि अत्यन्तै कमजोर बनेको अवस्थामा छ । आपत्कालीन अवस्था सुधार गर्न ग्रिस सरकारकालाई ८४ अर्ब डलर चाहिन्छ । ग्रिसलाई त्यतिका ठूलो रकम केबल इसिबीले उपलब्ध गराउन सक्छ । इसिबीले अघिल्लो किस्ता ३० जुनसम्म चुक्ता गर्न भनिएको छ । सरकार भने त्यो रकम चुक्ता गर्न सक्ने अवस्थामा छैन । यसैकारण ग्रिसले ऋण चुक्ता नगर्दा युरोजोनबाट बाहिरिन सक्ने सम्भावना छ ।

३. ग्रिस अर्जेन्टिनाकै बाटोमा
२० जुनको युरोपियन केन्द्रीय बैंकले ग्रिसको बैंकिङ क्षेत्र सुधार निर्देशन दिएको छ । बैंकिङ क्षेत्र सुधार गर्न नसके इसिबीले आर्थिक प्रतिबन्ध लगाउने सम्भावना छ । बैंकिङ क्षेत्र जटिल हुनुको पछाडि ग्राहकले आ–आफ्नो खाताबाट रुपैयाँ झिक्नु नै । अहिलेसम्म ग्राहकहरूले २ अर्ब ४० करोड डलर बैंकबाट झिकेका छन् । यता लन्डनको इकोनोमिक्स कलेजका प्रोफेसर इयान वेगले ग्रिसलाई अर्जेन्टिनासँग तुलना गरेका छन् । सन् २००२ मा अर्जेन्टिना चरम आर्थिक संकटमा परेको थियो । त्यसवेला अर्जेन्टिनी जनताले बैंकबाट रुपैयाँ झिकेका थिए । लगातार १० वर्ष अर्जेन्टिना आर्थिक मन्दीमै परेको थियो । ग्रिसले आर्थिक पक्ष सुधार गर्न नसक्दा त्यसको असर अन्तर्राष्ट्रिय बजारमा पर्न सक्छ । प्रो. वेगले ग्रिस सरकारले तत्काल यसबारे सोच्न सुझाब दिएका छन् ।

४. जर्मनीलाई धेरै नोक्सान
युरोपियन संगठन ग्रिसको आर्थिक संकट सुधार गर्न चाहेको छ । तर, ग्रिसले युरोजोन र इसिबीसँग लिएको ऋण यति धेरै छ, त्यो तत्काल चुक्ता गर्न सक्दैनन् । युरोजोनमा रहेको जर्मनीले ग्रिसलाई सबैभन्दा बढी सहयोग गरेको छ । जर्मनीले ग्रिसलाई ५६ अर्ब डलर सहयोग गरेको छ । यस तथ्यांकअनुसार जर्मनी नै सबैभन्दा बढी नोक्सानी बेहोरेको राष्ट्र हो । जर्मनी सरकारलाई ग्रिसबाट आफ्नो लगानी कसरी उठाउने भन्ने चिन्ता छ ।

५. घाटामा इसिबी
सन् २००९ मा आर्थिक मन्दीको ठूलो असर ग्रिसमाथि पर्‍यो । ग्रिस अहिलेसम्म त्यो असरबाट बाहिर आउन सकिरहेको छैन । पछिल्लो ६ वर्षदेखि ग्रिस आर्थिक अवस्था सुधार गर्न इसिबीले ऋण र सहयोग गर्दै आइरहेको छ । ग्रिसले डेट लाइनभित्र ऋण चुक्ता गर्न नसक्दा त्यसको ठूलो नोक्सानी इसिबीले सामना गर्नुपर्छ । इसिबीले ग्रिसलाई अहिलेसम्म १ खर्ब १० करोड डलर ऋण दिएको छ । यसका अतिरिक्त इसिबीले थप २० अर्ब डलर सहयोग गरेको एजेन्सीले जनाएको छ ।

– See more at: http://www.enayapatrika.com/2015/06/12181#sthash.FTwB6Rkx.dpuf

Related posts