ताजा खबर

भक्तपुरका चार सामुदायिक विद्यालयको नतिजा शतप्रतिशत

२०७२ असार ७,

भक्तपुर/ एसएलसी ०७१ को नतिजामा भक्तपुरका चार सामुदायिक विद्यालयका शतप्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । एसएलसीमा भक्तपुरबाट ४२ सामुदायिक विद्यालयका विद्यार्थी सहभागी थिए । भक्तपुर नगरपालिका भार्वाचोस्थित गणेश मावि, अनन्तेश्वर नपा गुन्डुको ज्योति मावि, सिरुटारको सिरुटार मावि र मध्यपुर थिमीको बालप्रेमी माविले शतप्रतिशत नतिजा ल्याएका हुन् । एसएलसीको तयारीका क्रममा गरेको मिहिनेत र परिश्रमले शतप्रतिशत नतिजा ल्याउन सफल भएको तीन विद्यालयले जनाएका छन् । गणेश माविबाट १७, ज्योतिबाट १६, सिरुटार माविबाट १३ र बालप्रेमी माविले १७ विद्यार्थी एसएलसीमा सहभागी भएको जिल्ला शिक्षा कार्यालय भक्तपुरले जनाएको छ । शिक्षकको मिहिनेत, विद्यार्थीको लगन, अनुशासन र अभिभावकको सहयोग तथा सद्भावका कारण शतप्रतिशत नतिजा आउन सफल भएको गणेश माविका प्रधानाध्यापक गंगाप्रसाद याकमीले बताए । सिरुटार मावि र बालप्रेमी माविमा मात्र मावि तहसम्मका शिक्षकको दरबन्दी छ । गणेश मावि र ज्योति माविमा माविस्तरीय दरबन्दीसमेत छैन । निजी स्रोतमा शिक्षकको व्यवस्था गरी कक्षा सञ्चालन गरेको ज्योति माविका प्रधानाध्यापक कृष्णलाल न्हेमफुकीले बताए । ती चारवटै विद्यालयले परीक्षाको तयारीस्वरूप असार महिनामा लिने पहिलो त्रैमासिक परीक्षापछि नै बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म थप कक्षा सञ्चालन गरेका थिए ।

स्रोत : नया पत्रिका

Related posts