योग दिवसमा मोदी र केजरिवाल सहभागी

नयाँदिल्ली, २०७२ असार ७,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित हजारौँ व्यक्ति आइतबार पहिलो अन्तर्राष्ट्रिय योग दिवसमा सहभागी भएका छन् । नयाँदिल्लीको राजपथमा ३५ हजार व्यक्तिले योगाभ्यास गरेको भारतीय मिडियाले जनाएका छन् । राजपथमा योगगुरु रामदेव र नयाँदिल्लीकै मुख्यमन्त्री अरविन्द केजरिवालसहित अन्य दलका विशिष्ट नेता पनि सहभागी भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

योगाभ्यासपछि विज्ञान भवनमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आफ्नो योग दिवस कल्पना साकार भएको बताए । ‘मैले युएनमा अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव राखेको थिएँ, त्यसवेला मलाई यो दिवस यति सफल हुन्छ भन्ने विश्वास लागेको थिएन,’ प्रधानमन्त्री मोदीले भने, ‘राजपथमा हजारौँ व्यक्ति उपस्थित हुँदा गर्व लागेको छ ।’ प्रधानमन्त्री मोदीले योगको माध्यमबाट व्यक्ति स्वस्थ र खुसी हुने बताए । ‘योग एउटा यस्तो माध्यम हो जसबाट हामी मानिस स्वस्थ र खुसी हुन्छौँ,’ उनले भने, ‘योगाभ्यासबाटै करोडौँ मानिसले स्वास्थ्य लाभ गरेका छन् ।’ युएनले २१ जुनमा योग दिवस घोषणा गरेको दिन एक सय ९३ राष्ट्रले भाग लिएका छन् । टाइम्स अफ इन्डियाका अनुसार योग दिवसमा दुई सय ५१ सहरका व्यक्तिले भाग लिएका छन् ।

सन् २००५ मा ग्वालियरमा सम्पन्न योग अभ्यासमा २९ हजार नौ सय ७३ व्यक्तिले भाग लिएका थिए । राजपथमा योगाभ्यास सकेपछि प्रधानमन्त्री मोदीले बालबालिकासँग वार्ता गरेका थिए । मोदी सरकारले राजपथमा हजारौँ सुरक्षाकर्मीले सुरक्षा प्रदान गरेको एजेन्सीले जनाएको छ । राजपथमा दुई हजारको संख्यामा ठूलो डिजिटल स्क्रिन राखिका थिए । मोदीले आफ्नो कार्यमा सहयोग गर्ने स्वदेशी र विदेशी संस्थालाई धन्यवाद दिएका छन् ।

मुस्लिम धर्मावलम्बीको अल्लाह उच्चारण राजपथमा हजारौँ व्यक्तिले योगाभ्यास गरिरहँदा मुस्लिम धर्मावलम्बीहरूले ‘अल्लाह’ उच्चारण गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । राजपथमा हिन्दु धर्मावलम्बीले ‘ॐ’ शब्द उच्चारणका साथ योगाभ्यास गरेका थिए । सरकारले सहभागी हुन आउने अन्य धर्मावलम्बीका व्यक्तिलाई आ–आफ्नो धर्मअनुसारका शब्द उच्चारण गर्न जानकारी दिएको थियो । इस्लामिक धर्मावलम्बीले अल्लाहको नामबाट योगाभ्यास गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । सो कार्यक्रममा सूर्य नमस्कार हटाइएको थियो । इस्लाम र क्रिस्चियनले सूर्य दर्शन गर्न नमानेपछि आयोजकले सूर्य नमस्कार कार्यक्रमको लिस्टबाट हटाएको हो ।

स्रोत : नया पत्रिका

Related posts