ताजा खबर

पाकिस्तान दश विकेटले विजयी

गाले, २०७२ असार ७,

असार पाकिस्तानले श्रीलंकालाई पहिलो टेस्ट दश विकेटले पराजित गरेको छ । श्रीलंकाले दोस्रो इनिङमा जितका लागि पाकिस्तानलाई ९० रनको लक्ष्य दिएको थियो । टेस्टको पाँचौँ तथा अन्तिम दिन आइतबार पाकिस्तानले विनाविकेट ९२ रन जोड्दै सानदार जित हात पार्‍यो । पाकिस्तानले ११.२ ओभरमा ९२ रन जोड्दै लक्ष्य भेटायो । जितसँगै पाकिस्तान तीन टेस्ट सिरिजमा १–० ले अगाडि रहेको छ । श्रीलंकाली भूमिमा पाकिस्तानलाई पहिलोपटक दश विकेटको जित दिलाउने क्रममा ओपनरद्वय अहमद सेहजादले ४३ तथा मोहमद हफिजले ४६ रनको नटआउट योगदान दिए । सेहजादले ३५ बलमा ६ चौका र हफिजले ३३ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए । घरेलु टोली श्रीलंका दोस्रो इनिङमा २०६ रनमा समेट्दा पाकिस्तानले ९० रनको सहज लक्ष्य पाएको हो ।

पाकिस्तानका यासिर साहको घातक बलिङकै कारण श्रीलंकाको दोस्रो इनिङ कमजोर बनेको हो । साहले जीवनकै उत्कृष्ट बलिङ गर्दै ७६ रन खर्चेर श्रीलंकाका सात ब्याट्सम्यानलाई आउट पारे । श्रीलंकाको दोस्रो इनिङमा दिमुथ कुरुनारत्नेले सर्वाधिक ७९ रनको योगदान दिएका थिए । उनले १७३ बलमा दश चौका प्रहार गरे । त्यसपछि लहिरू थिरिमानेले ९५ बलमा ४४ रन जोडे । दिनेश चन्दिमालले ७३ बलमा ३८ रन बनाए । इनिङको एक समय श्रीलंका १३२–४ को अवस्थामा थियो ।

श्रीलंकाले अन्तिम ६ विकेट ७२ रनमा गुमायो । श्रीलंकाले पहिलो इनिङमा ३ सय रनको योगफल बनाएको थियो । सो इनिङमा कौसल सिल्भाले १२५ रनको शतकीय योगदान दिएका थिए । उनले ३ सय बलमा १६ चौका प्रहार गरे । पाकिस्तानले ४१७ रनको योगफल खडा गर्दै श्रीलंकाविरुद्ध पहिलो इनिङमा ११७ रनको अग्रता लियो । पाकिस्तानको पहिलो इनिङ असद सफिकले १३१ रनको योगदान दिए । सफ्रराज अहमदले ९६ रन बनाएका थिए ।

श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युजले पहिलो इनिङमा अग्रता बनाउन नसक्दा पराजित भएको बताए । ‘हामीले पहिलो इनिङमा बलियो योगफल बनाउन सकेनाँै, यसकारण हामी दोस्रो इनिङमा कमजोर देखियौँ,’ म्याथ्युजले भने, ‘पाकिस्तानले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्‍यो ।’ घरेलु टोलीका कप्तान म्याथ्युजले दोस्रो टेस्टमा फर्कने अवसर भएको जनाए । ‘हामीसमक्ष दोस्रो टेस्टमा फर्कने अवसर छ, यसका लागि खेलाडीले कडा मिहिनेत गर्नेछन्,’ उनले भने, ‘विशेषत ब्याटिङतर्फ सुधार हुनुपर्छ ।’ यता पाकिस्तानी कप्तान मिस्बाह उल हकले दोस्रो इनिङमा साहकै घातक बलिङका कारण जित सम्भव भएको बताए । ‘अनपेक्षित रूपमा साहले दोस्रो इनिङमा घातक बलिङ गरे, यसैकारण श्रीलंकाको दोस्रो इनिङ सोचेजस्तो भएन,’ मिस्बाहले भने, ‘ओपनरद्वयले धैर्यपूर्वक ब्याटिङ गर्दा पाकिस्तानले गाले मैदानमा कीर्तिमान जित दर्ता गर्न सफल भयो ।’

स्रोत  : नया पत्रिका

Related posts