लन्डन, २०७२ असार ७,
इंग्ल्यान्डले पाँचौँ तथा अन्तिम एकदिवसीय क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई तीन विकेटले हराउँदै ३–२ ले सिरिज कब्जा गरेको छ । पाँचौँ खेल खेल्नुअघि इंग्ल्यान्ड र न्युजिल्यान्डले समान दुई खेल जितेका थिए । निर्णायक खेलमा न्युजिल्यान्डले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा नौ विकेट गुमाउँदै २८३ रनको योगफल बनायो । इंग्ल्यान्डको इनिङमा वर्षाले अवरोध पुर्यायो । इंग्ल्यान्डले २६ ओभरमा १९१ रनको नयाँ लक्ष्य पायो । इंग्ल्यान्डले २५ ओभरमा सात विकेटको क्षतिमा १९२ रन जोड्दै सानदार जित हात पार्यो । इंग्ल्यान्डको जितमा जोनी बैस्टोभ र साम वालिग्सबीच छैटौँ विकेटका लागि बलियो साझेदारी भएको थियो । दुवैले छैटौँ विकेटका लागि ९० रनको साझेदारी गर्दै इंग्ल्यान्डको जित सम्भव पारे । उनीहरूले ब्याटिङ गर्नुअघि इंग्ल्यान्ड ८.१ ओभरमा ४५–५ को कमजोर अवस्थामा थियो । बैस्टोभ र वालिग्सले घरेलु टोलीलाई १७.४ ओभरमा १२५–६ को स्थितिमा पुर्याए । वालिग्सले ३० बलमा चार चौका र एक छक्काको सहयोगमा ४१ रन बनाए । अन्तिमसम्म आउट नभएका बैस्टोभले ८३ रन बनाए । उनले ६० बलमा ११ चौका प्रहार गरेका थिए । यसअघि ब्याटिङ गरेको न्युजिल्यान्डले मार्टिन गुप्तिल र केन्स विलियम्सको अर्धशतकीय योगदान पाएको थियो । न्युजिल्यान्डले कप्तान ब्रेन्डान म्याककुलम (६) लाई इनिङको पहिलो ओभरमै गुमाएको थियो । गुप्तिल र विलियम्सले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे । विलियम्सले ६५ बलमा पाँच चौकाको सहयोगमा ५० रन जोडे ।
स्रोत : नया पत्रिका