काठमाडौ, २०७२ असार ७,
कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा ३ हजार १ सय ५० अस्थायी टहरा निर्माण गरेको जनाएको छ । प्रभावित जिल्लाहरूमा खटिएका विभिन्न टोलीले श्रमदानबाट ३ हजार १ सय ५० टहरासँगै १ हजार १ सय २५ भग्नावशेष हटाइएको, १ हजार ८५ विद्यालय कक्षाकोठा निर्माण गरेका छन् । त्यसैगरी एउटा मन्दिर र १० वटा सामुदायिक भवन निर्माण गरेको जनाएको छ ।
पार्टीको अभियानमा १५ हजार नेता, कार्यकर्ता स्वयंसेवकका रूपमा सहभागी भएको कांग्रेस प्रवक्ता दिलेन्द्र बडूले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार श्रमदानमा झापादेखि कञ्चनपुरसम्मका तराई क्षेत्रका विभिन्न जिल्लाबाट पार्टी, भ्रातृ एवं शुभेच्छुक संस्थाका नेता कार्यकर्ता खटिएका छन् ।
कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले भूकम्पपछि ‘कस्ता बस्ती, कस्ता घर’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । कांग्रेसको भूकम्पपीडित राहत कोषमा हालसम्म १ करोड ६४ लाख ३९ हजार ९ सय २९ रुपैयाँ जम्मा भएको छ ।
स्रोत : कान्तिपुर