काठमाडौं, २०७२ असार ७,
नेपाल वायुसेवा निगमले भित्र्याएको दुईवटा एयरबस कम्पनीका ए–३२० जहाज उडान गर्ने कमान्डर चालक (क्याप्टेन) नभएपछि विदेशीलाई करारमा लिने तयारी गरेको छ । जर्मनीबाट कमान्डर ल्याउने सम्झौता २ साताभित्र सम्पन्न गरिने निगमले जनाएको छ । निगमका प्रवक्तासमेत रहेका कर्पोरेट डाइरेक्टर रामहरि शर्माले ६ जना विदेशी लिने तयारी भएको बताए । ‘ती पाइलटले नेपाली पाइलटलाई पनि तालिम दिनेछन्,’ उनले भने ।
दुईवटा जहाजबाट सातामा सजिलै ३० वटा उडान गर्न सकिने निगमले जनाएको छ । हाल सातामा ९ वटा उडान मात्र भइरहेको निगमका एक अधिकारीले बताए । निगमले जहाज थप्नेबित्तिकै नयाँ गन्तव्य उडान गर्ने योजना बनाएको थियो । सुरुमा नेपाली पाइलटलाई तालिम दिएर उडान गर्ने योजना भए पनि यो सम्भव नभएपछि निगमले आउटसोर्सिङमा पाइलट ल्याउने भएको हो । कमान्डर पाइलटको अभावमा क्षमताअनुसार सञ्चालन हुन सकेको छैन । हाल दुईवटा जहाजले सातामा दिल्ली ७ र बैंकक २ गरी ९ उडान मात्र गर्दै आएका छन् । हाल नेपालमा एयरबस उडाउन सक्ने कमान्डर ३ जना मात्र छन् । ४ जना भने फ्रान्समा तालिम लिएर आइसकेका र नेपालमै उडानसम्बन्धी प्रयोगात्मक तालिममा सहभागी भइरहेको शर्माले जानकारी दिए । ‘६ जना आउट सोर्सिङका कमान्डर आएर उडान गर्दा हामीलाई दोहोरो फाइदा हुन्छ,’ उनले भने, ‘उनीहरूले जहाज उडाउँदा जहाजको उडान संख्या बढ्ने र नेपाली विमान चालकलाई तालिम पनि दिने हुँदा एयरबस उडाउने कमान्डर उत्पादन हुने छ ।’ एउटा जहाजलाई पूर्ण क्षमतामा उडाउन ७ जना पाइलट र ७ जना कमान्डरको आवश्यक पर्ने निगमले जनाएको छ ।
२ वटा जहाजका लागि १४ जना पाइलट र १४ जना कमान्डर आवश्यक पर्छ । यसले गर्दा निगमले मासिक रूपमा ऋणको किस्ता तिर्नपर्ने रकमसमेत आम्दानी गर्न नसकेको निगम स्रोतले जनायो । निगमका प्रवक्ता शर्माले आउट सोर्सिङ गरिने कमान्डर पाइलट आएपछि निगमले ती जहाजबाट नाफा र विश्वास दुवै कमाउन सक्ने जानकारी दिए । ऋणमा जहाज खरिद गरिएकाले निगमले प्रतिजहाज मासिक ६ करोड रुपैयाँ कर्मचारी सञ्चयकोषलाई बुझाउनुपर्छ । खुला प्रतिस्पर्धाबाट निगमलाई सफल बनाउने कार्ययोजनासहित आएका निगमका तत्कालीन महाप्रबन्धक मदन खरेलले १० वर्षभित्रमा १० वटा अन्तर्राष्ट्रिय उडानका लागि ठूला जहाज खरिद गर्ने कार्ययोजना पेस गरेका थिए । उनले आकस्मिक रूपमा राजीनामा दिएपछि निगमको योजना केही समय अन्योलमा परेको थियो ।
सन् १९८७ र १९८८ मा २ वटा बोइङ–७५७ भित्र्याएपछि निगमले नयाँ जहाज खरिद गर्न सकेको थिएन । २७ वर्षपछि नयाँ जहाज ल्याए पनि पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेपछि निगमका कर्मचारी चिन्तित छन् । ०६८ मंसिर ४ गतेदेखि रोकिएको दिल्ली उडान १५ फागुनदेखि सुरु भएको थियो । यसबाहेक निगमले अन्य गन्तव्य थप्न सकेको छैन । निगमका प्रवक्ता शर्माले आउट सोर्सिङ गरेपछि समस्या समाधान हुने जिकिर गरे । निगमले २ वटा एयरबसले हाल उडान गरिरहेका बाहेक ग्वान्झाउ, दुबई, मुम्बई र बेंग्लोर उडान गरी कुल गन्तव्य ९ वटा पुर्याइने योजना बनाएको छ ।
स्रोत : नया पत्रिका