ताजा खबर

एक्लै योग र ध्यान गरेँ

२०७२ असार ७,

सन्दर्भ : अन्तर्राष्ट्रिय योग दिवस राष्ट्रपति डा. रामवरण यादवपुत्री अनिताको दैनिकी योग अभ्याससँगै सुरु हुन्छ । उनी आफैँ मात्र योग गर्दिनन्, अरूलाई पनि सिकाउँछिन् । योग गर्न उत्प्रेरित गर्छिन् । झम्सिखेलमा आफ्नै लगानीमा ‘अनुज योग सेन्टर’ स्थापना गरेकी छिन् । ‘योग आफूले मात्र सिकेर हुँदैन, अरूलाई पनि सिकाउनुपर्छ,’ यादव भन्छिन्, ‘हामी बाहिरी सुन्दरतालाई मात्रै ख्याल गर्छौँ, भित्री सुन्दरताको गर्दैनौँ । भित्री सुन्दरता बनाउन त योग पो गर्नुपर्छ ।’ आइतबार योग दिवसमा उनले बिहानै योग अभ्यास गरिन् । गुरुहरूलाई सम्झिइन् । आइतबारको सबै समय आफैँलाई दिइन् । आइतबार साँझ आफ्नो योग अनुभव नयाँ पत्रिकासँग टेलिफोनमा सेयर गरिन् ।

जुनवेलादेखि योगप्रति लगाब बढ्यो, योगसम्बन्धी गतिविधिको ख्याल गरिराख्छु । संयुक्त राष्ट्रसंघले घोषण गरेबमोजिम आइतबार अन्तर्राष्ट्रिय योग दिवस थियो । यो हामी योगप्रेमीहरूका लागि असाध्यै सुखद खबर हो । तैपनि, आइतबार मैले योग दिवस खासै कुनै नयाँ तरिकाले मनाइनँ । आइतबार बिहानै उठेँ । एक्लै बसेर ध्यान गरेँ । योग गुरुहरूलाई सम्झेँ । योग दिवसमा आयोजित धेरैवटा कार्यक्रममा निम्तो थियो । तर कतै गइनँ । आजको दिन आफैँलाई दिएँ । चार महिना भयो, झम्सिखेलमा योग सेन्टर खोलेकी छु । भूकम्पपछि रोकिएको सेन्टरलाई सुचारु गर्न सकेको छैन । आज त्यहाँ पुगेँ । योग सेन्टरको निरीक्षण गरेँ । अनि निवास फर्किएँ ।

मैले योग सिकेको धेरै वर्ष भएको छैन । जब मैले योगले मान्छेको स्वास्थ्य र सोचाइलाई कनेक्सन गर्छ भन्ने बुझँे, बुबालाई सोधेँ, ‘म योग सिक्छु ।’ उहाँले ‘तिम्रो इच्छा छ भने सिक’ भन्नुभयो । योग गुरुकहाँ पुगेँ, सिकेँ । नियमित अभ्यास गर्न थालेँ । सानैदेखि समाजसेवामा रुचि थियो । योग सिकेपछि आफूले मात्रै सिकेर हुँदैन अरूलाई पनि सिकाउनुपर्छ, सिक्न प्रेरित गर्नुपर्छ भन्ने लाग्यो । यसबाट मैले हेल्थ सेक्टरमा कन्ट्रिब्युट गर्न सक्छु भन्नेमा पुगेँ । र, योग सेन्टर स्थापना गरेँ । यो मेरो जीविकोपार्जनको माध्यम होस् भन्ने पनि चाहेकी छु । मुख्यत: सबैलाई योगप्रति जनचेतना दिन खोजेकी छु । हामी नेपाली ‘हेल्थ’प्रति एकदमै कम ख्याल गर्छौर्ँ । हाम्रो जीवनशैलीसँग हाम्रो स्वास्थ्य जोडिएको छ भन्ने ख्याल राख्दैनौँ । जब स्वास्थ्य बिग्रन्छ, अनि सोच्छौँ, ‘अब कसरी उपचार गर्ने ?’ हामीले आधा रोग हाम्रो जीवनशैलीबाटै कम गर्न सक्छौँ । तर दु:खको कुरा, हामी त्यसैमा लापरबाही गर्छौँ । यो सन्देश सबैले बुझून् भनेर पनि योग सेन्टर खोलेकी हुँ । योग सेन्टर चल्दा म आफैँ पनि सिकाउँथेँ । आफैँले यसको कोर्स डिजाइन गरेकी छु।

त्यसैगरी हाम्रो अर्को खराब बानी छ । हामी जहिल्यै बाहिरी सुन्दरताको मात्रै ख्याल गर्छौँ । बाहिर सुन्दरताका लागि जति पनि खर्च गर्न तयार हुन्छौँ । तर, भित्री सुन्दरताबारे कहिल्यै सोच्दैनौँ । हामीले भित्री सुन्दरताप्रति पनि ध्यान दिनुपर्ने हो । भित्री सुन्दरता बढ्यो भने बाहिरी सुन्दरता आफैँ बढ्छ । योगले भित्री सुन्दरतालाई बढाउँछ । दिमाग र शरीरलाई योगले जब ‘कनेक्ट’ गर्छ, बाहिरी र भित्री सुन्दरता एकसाथ बढ्छ । यसले भौँतारिरहेको मनलाई पनि सन्तुलित बनाउँछ । अहिले धेरै मानिसले योगप्रति लगाब बढाएका छन् । योगप्रतिको लगाब बढ्नु स्वास्थ्यप्रतिको चेतना बढ्नु पनि हो । भूकम्पपछि मेरो योग सेन्टर रोकिएको छ । अब यसलाई सुचारु गर्छु । टार्गेट ग्रुप बनाएर योग सेन्टर खोलेकी होइन, मेरो योग सेन्टरमा जो पनि आउन सक्नुहुन्छ ।

स्रोत : नयापत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *