ताजा खबर

थाइल्यान्ड आईकाओको रातो सूचीमा

वासिङ्टन, २०७२ असार ६

उडान असुरक्षित भएको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले थाइल्यान्डलाई रातो सूचीमा राखेको छ ।

आईकाओको सूची प्रकाशित भएलगत्तै राष्ट्रिय ध्वजाबाहक थाई एयरवेजले विज्ञप्ति प्रकाशित गरी आफ्ना उडानमा उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको छ ।

आईकाओले यसअघि अंगोला, बोत्स्वाना, जिबुटी, इरिट्रिया, जर्जिया, हाइटी, कजाखस्तान, लेबनान, मलावी, नेपाल, सियरालियोन र उरुग्वेलाई पनि रातो सूचीमा राखिसकेको छ । सुरक्षाका महत्त्वपूर्ण उडान सुरक्षा मापदण्ड पूरा नभएका देशलाई आईकाओले यस्तो सूचीमा राख्ने गरेको छ । उक्त संगठन राष्ट्रसंघीय एजेन्सी हो ।

गत मार्चमा एक लेखा परीक्षणपछि उक्त संगठनले थाइल्यान्डलाई एयर लाइन्सहरूको पर्यवेक्षणको क्षमतामाथि प्रश्न उठाउँदै सुधार ल्याउन ९० दिनको समय दिएको थियो । समय सीमा सकिँदा पनि उल्लेखनीय सुधार हुन नसकेको भन्दै रातो सूचीमा राखेको हो । थाइल्यान्डको यातायात मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । अन्य देशले यसबारे कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने कुरा महत्त्वपूर्ण भएको नागरिक उड्डयनविज्ञ एलान पोलिभ्निकले बताए । ‘यस क्षेत्रमा नेपाल र थाइल्यान्ड मात्र आईकाओको रातो सूचीमा परेका छन्, पक्कै पनि यसबारेको चासो सार्वजनिक होला,’ उनले भने ।

गत मार्चमा आईकाओले थाइल्यान्डबाट नयाँ उडान भर्न प्रतिबन्ध लगाउँदै हरेक विमानको सूक्ष्म निरीक्षण थालेको थियो । ‘कोरिया, चीन र जापानमा थाई उडानमा यसअघि नै रोक लागिसकेको छ, सिंगापुर, अस्ट्रेलिया र युरोपेली महासंघले अनुगमन बढाएका छन्,’ पोलिभ्निकले भने । उनका अनुसार आईकाओले कुनै एयर लाइन्स विशेषलाई रातो सूचीमा राखेको भने होइन ।

लेखा परीक्षणका क्रममा आईकाओले थाइल्यान्डको नागरिक उड्डयन विभागमा एयर लाइन्सहरूको अनुगमनका लागि कर्मचारी अभाव फेला पारेको थियो । ‘१०–१५ वर्षयताको अवस्था हेर्दा विभागका कर्मचारी धेरै हेरफेर भएको पाइँदैन,’ पोलिभ्निकले भने । थाइल्यान्ड यसलाई गम्भीर रूपमा लिने मनस्थितिमा देखिएको आईकाओ प्रवक्ता फिल्बिन एन्थोनीले बताए । उनका अनुसार थाई उपप्रधानमन्त्री प्रवित वोङसुआनले क्यानाडाको मन्ट्रियलस्थित आईकाओ मुख्यालय भ्रमणमा आउने भएका छन् । ‘गम्भीरतापूर्वक सुधार गर्न थाइल्यान्ड सकारात्मक देखिएको छ,’ उनले भने ।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *