ताजा खबर

‘जीवहरू लोप हुने खतरा’

न्युयोर्क, २०७२ असार ६,

पृथ्वीका जीवहरू विनाशको नयाँ चरणमा प्रवेश गरेको अमेरिकाका प्रसिद्ध विश्वविद्यालयहरूको अध्ययनले देखाएको छ । अध्ययनले त्यसका कारण पहिलो क्षति मानिसमा पर्न सक्नेतर्फ सचेत गराएको छ ।

स्टाफोर्ड, प्रिङ्स्टन र बेर्केली युनिभर्सिटीले नेतृत्व गरेको अध्ययन प्रतिवेदनका अनुसार मेरुदण्डी (ढाड हुने) जीवहरू सामान्य अवस्थाभन्दा ११४ गुणा छिटो लोप भइरहेका छन् । गत वर्ष ड्युक युनिभर्सिटीले पनि यस्तै प्रतिवेदन प्रस्तुत गरेको थियो ।

नयाँ अध्ययनका एक लेखक भन्छन्, ‘हामी ठूलो छैटौं आमविनाशको चरणमा प्रवेश गरिरहेका छौं ।’ यस्तो अन्तिम घटना ६ करोड ५० लाख वर्षअघि भएको थियो, जति बेला पृथ्वी तातेर सबै डाइनोसर सखाप भएका थिए ।

‘यदि यो अवस्थाले निरन्तरता पाउन पायो भने जीवहरूलाई साविकमा आइपुग्न लाखौं वर्ष लाग्न सक्छ,’ अध्ययन प्रतिवेदनका मुख्य लेखक गेरार्डो सेबालोसले भने । वैज्ञानिकहरूले ऐतिहासिक अस्थिपञ्जरहरूको समीक्षाका आधारमा मेरुदण्डी जीवहरूको विनाशको दर पहिल्याएका हुन् । उनीहरूले वर्तमान विनाशको दर पृथ्वीको सामान्य अवस्थाको तुलनामा सय गुणाभन्दा बढी भएको निचोड निकालेका हुन् ।

प्रतिवेदन भन्छ– सन् १९०० यता ४ सयभन्दा बढी मेरुदण्डी जीव लोप भएका छन् । ‘यति ठूलो क्षति सामान्यत: १० हजार वर्षमा मात्र देखिन्थ्यो,’ वैज्ञानिकहरू भन्छन् ।

साइन्स एड्भान्सेस जर्नलमा प्रकाशित उक्त अध्ययनले यसो हुनुको कारणमा जलवायु परिवर्तन, प्रदूषण र वनविनाशलाई देखाएको छ । इकोसिस्टमको गडबडीका कारण मानिसका तीन पुस्ताभित्र मौरीको परागसेचन रोकिनेसमेत उनीहरूको निष्कर्ष छ । स्टानफोर्ड युनिभर्सिटीका प्रोफेसर पाउल इर्लिच भन्छन्, ‘संसारभरिका धेरै जीवका प्रजातिहरू सकिँदै गएका प्रशस्त उदाहरण छन् ।’ दि इन्टरनेसनल युनियन फर कन्जरभेसन नेचर (आईयूसीएन) का अनुसार प्रत्येक वर्ष कम्तीमा ५० थरी जीव विनाशको नजिक पुग्छन् ।

‘करिब ४१ प्रतिशत उभयचर र २५ प्रतिशत स्तनधारी जनावर विनाशको खतरामा छन्,’ प्रतिवेदन भन्छ । त्यसो त डयुक युनिभर्सिटीका बायोलोजिस्ट एवं जीव लोप विज्ञ स्टुआर्ट पिमले यो विनाशमा मानव जातिसमेत पर्न सक्ने चेतावनी दिएका थिए । तर, उनले वर्तमान प्रतिवेदनले देखाएजति ११४ गुणा होइन, सामान्य अवस्थाभन्दा हजार गुणा बढी लोप भइरहेको बताएका थिए । नयाँ प्रतिवेदनका लेखकहरू क्षतिलाई नाटकीय रूपबाट कम गर्न सकिनेमा आशावादीसमेत छन् । यसका लागि प्रकृति र वातावरणमा भइरहेका विनाश त्यसभन्दा द्रूत गतिमा रोक्नुपर्नेछ ।

स्रोत : कान्तिपुर

Related posts