ताजा खबर

डब्लूएफपीको गोदाममा सयौं टन कुहिएको दाल

नेपालगन्ज ,२०७२ असार ६,

बाँकेको खजुरास्थित कपास विकास समितिको गोदाममा संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले भण्डारण गरेर राखेको दालमा मिसावट भएको फेला परेको छ ।

विश्व खाद्य कार्यक्रमको गोदाममा भण्डारण गरिएको ५ सय ४१ मेट्रिक टन दालमा मिसावट भएको फेला परेको हो । संसदीय अनुगमन टोलीद्वारा (डब्लूएफपी) ले भण्डारण गरेको गोदामको आइतबार अनुगमन गर्दा अखाद्य दाल फेला परेको हो ।

भण्डारण गरेर राखिएको ५ सय ४१ मेट्रिक टन खेसरीको दाल कुहिएको अवस्थामा फेला परेको छ । तर, (डब्लूएफपी) ले उक्त दाल केराउको भएको दाबी गर्दै आएको छ । उक्त दाल टर्कीबाट खरिद गरेर भारतीय ठेकेदारमार्फत् नेपाल ल्याइएको डब्लुएफपीले जनाएको छ ।

मिसावट भएको दालमा किरा परेर खानै नमिल्ने अवस्थामा रहेको अनुगमनमा सहभागी सभासद् दलबहादुर सुनारले बताए । ‘एउटा जातको भनिएको दाल अर्को जातको फेला पर्‍यो,’ सभासद सुनारले भने ।

यसअघि गोरखामा पनि विश्व खाद्य कार्यक्रमको चामल कुहिएको फेला परेको थियो ।

संसदीय समितिले डब्लुएफपीले खजुरासँगै चौलिका र पिपरीको गोदामको आइतबारै अनुगमन गरेको छ । संसदीय टोलीको अनुगमनपछि डब्लुएफपीको कार्यालयले दाल खान योग्य नभएकाले जहाँबाट खरिद गरिएको हो, त्यतै फर्काउने प्रतिवद्धता जनाएको सभासद सञ्जय गौतमले जानकारी दिए ।

विश्व खाद्यले वितरण गरेको खाद्यन्न कुहिएको पाइएपछि संसदीय अनुगमन टोली अनुगमनको लागि खटिएको हो । केन्द्रबाट खटिएको संसदीय अनुगमन टोलीमा सुनार, गौतम र श्रीप्रसाद जबेगु (लिम्बू) छन् ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *