ताजा खबर

मन्त्री होस् वा नेता, कसैलाई छाड्दिनँ: प्रधानमन्त्री

काठमाडौं २०७२ असार ६,
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको रकम दुरुपयोग हुन नदिने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान विभिन्न संस्था तथा व्यक्तिबाट सहयोग ग्रहण गर्दै कोइरालाले भने, यो रकम दुरुपयोग हुन दिन्नँ। कसैले दुरुपयोग गर्न खोज्नेलाई छोड्ने छैन।
उनले कोषका तर्फबाट भूकम्प पीडितहरुलाई राहत र सहयोगको लागि गएको रकम र सामग्री वितरण न्यायोचित हुनुका साथै त्यस्तो सहयोगको सदुपयोगमा सरकार सजग रहेको स्पष्ट पारे। कोइरालाले भने“ अनियमितता र दुरुपयोग गर्नेलाई दण्डित नै गर्छु , चाहे मन्त्री होस् वा सचिव।”
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले दिएको जानकारीअनुसार प्रधानमन्त्री कोइरालाले भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न चाहनेहरुलाई जिल्लामा प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरी काम गर्न पनि आग्रह गरेका छन्।
“ जिल्लामा कहाँ राहत सामग्री पुगेको छ र कहाँ पुगेको छैन भन्ने रेकर्ड प्रमुख जिल्ला अधिकारीसंग हुन्छ” प्रधानमन्त्री कोइरालाले भने,“ उहाँसंगको समन्वयमा काम गर्दा कतै राहत थुप्रिने र कही नपुग्ने हुँदैन।”
आइतबार नेपाल वित्तीय संस्था संघबाट १५ लाख, महर्षि विश्वविद्यालयबाट ११ लाख, नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेण्ट्सले(नाट्टा) बाट ५ लाख, अमेरिकामा बस्ने नम्रता बराल र नवीन वाँस्कोटाबाट ६ लाख, टेवा र नागरिक आवाजबाट ५ लाख, ओशोधारा संघको ५लाख रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका छन् ।
यसैगरी गण्डकी बोर्डिङ्गका पूर्व विद्यार्थीहरुको संस्था,एग्बोसाबाट १ लाख ११ हजार, अमेरिकाको चर्च स्ट्रिट इलिङ्गटन अवस्थित सुवेदी एण्ड सन्स एलएलसी,डिबीए इजी मार्टबाट २ लाख १० हजार रुपैया, अविच्छिन्न बचत तथा ऋण सहकारी संस्थाबाट १ लाख ११ हजार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका छन् । यी संस्थाहरुले प्रधानमन्त्रीलाई आइतबार  रकम हस्तानान्तरण गरेका हुन् ।
स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *