ताजा खबर

स्टारबिनै १०० करोड क्‍लबमा

२०७२ असार ६,
अहिले बलिउडमा कसैको चर्चा छ भने ती हुन्, कंगना रनावत र सलमान खान। सफलताको लोभलाग्दो उचाइ चुमेका यी दुई एकसाथ चर्चामा आए पनि इतिहासमै एकै चलचित्रमा काम गर्न भने सकेका छैनन्।
सलमान निरन्तर चर्चा र सफलताका पर्याय बनेका छन्। तर, कंगनाको करिअरका लागि यो वर्ष साँच्चिकै चर्चा गर्नलायक साबित भएको छ।
चलचित्र ‘क्विन’बाट सर्वोत्कृष्ट अभिनेत्रीका रूपमा भारतमा प्रतिष्ठित नेशनल अवार्ड र आइफा अवार्ड चुमेर समकालीन नायिकालाई पछिमात्रै पारिनन्, उनी अभिनीत चलचित्र ‘तनु विड्स मनु’ सय करोड क्लबमा प्रवेश गरेपछि उनलाई ‘लेडी खान’ भन्न थालिएको छ।
अभिनेता त्यसमा पनि तीन खान सलमान, साहरुख र आमिरले बक्स अफिसमा राज गरेका बेला कंगना अभिनीत चलचित्र सय करोड क्लबमा प्रवेश गर्नु चानचुने होइन।
समीक्षकहरू ‘कंगनाले आफ्नो स्टार पावर स्थापित गरेको’ भन्‍न थालेका छन्। बक्स अफिसमा तीन खानलाई टक्कर दिनसक्ने एकमात्रै अभिनेत्रीका रूपमा उनको चर्चा हुन थालेको हो।
निरन्तर मेहनत र जस्तोसुकै चुनौती सामना गर्ने आँटका कारण उनले यो सफलता हासिल गरेकी हुन्। त्यतिमात्रै होइन, सलमान खानसँग चलचित्र ‘सुल्तान’मा अभिनय गर्न आएको प्रस्ताव अस्वीकार गरेर सबैलाई आश्चर्यचकित बनाएकी छन्।
सलमानसँग अभिनय गर्न पाउनु अहिलेका बलिउड अभिनेत्री सबभन्दा सुनौलो अवसर मान्छन् तर समय नमिलेको र सो चलचित्रको छायांकन समयमा अर्कै चलचित्रलाई समय दिएकाले कंगनाले सुल्तानका लागि आएको प्रस्ताव अस्वीकार गरेकी हुन्।
बलिउडमा तीन खान सलमान, साहरुख र आमिरले बक्स अफिसमा राज गरेका बेला कंगना अभिनीत चलचित्र सय करोड क्लबमा प्रवेश गर्नु चानचुने होइन।समीक्षकहरू ‘कंगनाले आफ्नो स्टार पावर स्थापित गरेको’ भन्‍न थालेका छन्।
१६ वर्षको कलिलो उमेरमा चलचित्रमा लाग्ने इच्छा जाहेर गर्दा बाबुबाट समर्थन नपाएपछि घर छाडेर हिँडेकी थिइन् उनी। सामान्य परिवारमा हुर्केकी कंगनाका बाबु व्यवसायी र आमा शिक्षिका थिइन्।
हिमाञ्चल प्रदेशको सामान्य परिवेशमा हुर्केबढेकाले चलचित्र क्षेत्रमा जाने उनको निर्णय परिवारले रुचाएको थिएन।
घर छाडेर भए पनि उनले पहिलोपटक अभिनय गरेको अनुराग वासु निर्देशित चलचित्र ‘ग्यांगस्टार’ सफल भएपछि परिवारमात्रै होइन, सिंगो हिमाञ्चल प्रदेश उनको पक्षमा उभियो। त्यसपछि कंगनाले पछि फर्केर हेर्नु परेको छैन।
उता प्रदर्शनको तयारीमा रहेको सलमान खान अभिनीत बहुचर्चित चलचित्र ‘बजरंगी भाइजान’मा पनि सुरुमा कंगनालाई नै प्रस्ताव गरिएको थियो।
समय नमिलेर उनले सो चलचित्र छाडेपछि करिना कपुरले मौका पाएकी हुन्।
२८ वर्षीया कंगनालाई आफ्नो चलचित्रमा लिन चाहने बलिउड निर्माताको अहिले कमी छैन।

स्रोत :अन्नपुर्णपोस्ट

Related posts