दिननाथ बराल
पोखरा, २०७२ असार ६,
पोखराको मुक्तिनाथ विकास बैंक लिमिटेडले धादिङ्ग जिल्लामा केन्द्रीय कार्यालय रहेको सिभिक डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न अन्तिम सहमतिको प्रस्ताव पारित भएको छ । मुत्तिनाथ बैंक सञ्चालक समितिका अध्यक्ष मिन प्रसाद गुरुङ्गको अध्यक्षतामा आईतबार पोखरामा आयोजना भएको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए ।
उनका अनुसार साधारण सभामा बैंकलाई एक राष्ट्रीय स्तरको विकास बैंकमा परिणत गर्ने प्रस्ताव समेत पारित गरेको छ । तत्पश्चात राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेपछि बैंकले मुक्तिनाथ विकास बैंक लिमिटेडको नामवाट एक राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोवार गर्ने भएको छ ।
उक्त अवसरमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ । मुक्तिनाथ विकास बैंक लिमिटेड तथा यस बैंकमा कार्यरत कर्मचरीहरुको तर्फवाट सङ्कलन गरिएको राहत रकम १० लाख ७ हजार ७७ रुपैयाको चेक बैंकका अध्यक्ष मिन प्रसाद गुरुङ्गले अर्थमन्त्री डा. रामशरण महतलाई हस्तान्तरण गरेका हुन । गत बैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसपछि पटक पटक गएका पराकम्पनहरुले देशको बिभिन्न ठाउँमा अकल्पनिय जनधनको क्षति बनाएकोमा पिडित परिवारका सदस्यहरुलाई राहत स्वरुप उक्त रकम सहयोग गरीएको बैंकले जनाएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री महतले बैंक तथा विक्तिय क्षेत्रबाट पछिल्लो क्रममा बार्षिक रुपमा ३०÷३५ अर्व राजश्व संकलन हुने गरेको बताउदै बैंकहरु अझै पनि गाँउसम्म पुग्न नसकेको गुनासो गरे । उनले भने “ बैंकीङ क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धाले गर्दा केहि समस्या भएको छ, सरकारको निति अनुसार मर्जरमा जादा धेरैलाई फाईदा पुग्छ । ” असली ऋणिलाई बैंकले पनि पत्याउने हुदा बैंकहरुले अब नयाँ क्षेत्रमा पनि लगानी गर्न उनले आग्रह गरे ।