ताजा खबर

सर्वोच्चको फैसला सच्याउन एमाओवादीको माग

काठमाडौँ, २०७२ असार ५,
एमाओवादीले प्रमुख चार दलका बीच भएको सोह्रबुँदे सहमतिको विपक्षमा सर्वोच्च अदालतले शुक्रबार दिएको फैसला सच्याउन माग गरेको छ ।
पार्टी प्रवक्ता दीनानाथ शर्माले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सर्वोच्चको फैसला सच्याइनुपर्ने बताए ।
उनले विषयवस्तुको गम्भीरतालाई नहेरी कानुनी आधारमामात्रै फैसला गर्दा व्यावहारिक पाटोलाई नहेर्ने प्रवृत्ति अदालतले त्याग्नुपर्ने तथा समयको माग र आवश्यकतालाई ध्यान दिनुपर्ने जिकिर गरे ।
संविधानसभा सार्वभौम निकाय भएकाले उसले गर्ने निर्णयमा अङ्कुश लगाउने काम कोही कसैबाट हुन नहुने भन्दै प्रवक्ता शर्माले राजनीतिक निर्णय अदालतको क्षेत्राधिकारभन्दा बाहिरको विषय भएको बताए ।
‘संविधानसभा सार्वभौम संस्था हो, त्यसको आफ्नै मर्यादा छ’, उनले भने, ‘त्यसलाई ख्याल गर्नुपर्छ, आदेश गर्दा पनि राजनीतिक पाटोलाई विशेष ख्याल गर्नुपर्छ ।’
सर्वोच्चसहितका राज्यका अन्य निकायले संविधान निर्माण प्रक्रियालाई सहयोग गर्नुपर्ने बताउँदै उहाँले राजनीतिक विषयमा चासो राख्ने अधिकार नभएको उनको भनाइ थियो ।
विगतमा पनि संविधानसभाको विघटन भएको स्मरण गर्दै उनले १६बुँदे सहमतिपछि जनतामा संविधान बन्ने आशा पलाएको तर सर्वोच्चको निर्णयले निराश बनाउने काम गर्न नहुने धारणा राखे ।
‘जनतामा संविधान बन्ने आशा पलाएको छ । त्यो आशामा कोही कसैले पनि भाँजो हाल्नु हुन्न’, उनले भने, ‘संविधानको नाममा लामो समयसम्म मुलुकलाई अप्ठ्यारोमा राख्नुहुन्न ।’

स्रोत : अन्नपुर्णपोस्ट

Related posts