दिननाथ बराल
पोखरा, २०७२ असार ५,
पर्यटनमन्त्री कृपाशुर शेर्पाले पर्यटन क्षेत्रमा जो कसैले दलाली गरेमा देश निकालासम्मको कारवाहि गर्ने चेतावनि दिएका छन । पोखरा पर्यटन पुर्नजागरण समिति (पिटिआरसी) ले शनिबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शेर्पाले पर्यटन क्षेत्रमा मूल्य घटाएर दलाली गर्ने टुर अपरेटर्स सहित जो कोहिलाई कारवाहि गर्ने चेतावनि दिएका हुन ।
उनले भने “ दलाली गरेर पर्यटकलाई कम मुल्यमा प्याकेज उपलब्ध गराउने जोकोहिलाई २४ घण्टाभित्र देश निकाला गर्नेसम्मको कारवाहि गर्छु ।” वार्गेनिङ गरेर कम मूल्यमा पर्यटकलाई प्याकेज दिलाउँदा गुणस्तरीय पर्यटकको आगमन कम हुने उनको भनाई थियो । उनले भने ‘पर्यटन क्षेत्रमा करीब १५ प्रतिशत मात्र असर परेको छ, तर यहाँ सबै सकिए जस्तै हल्ला भएको छ ।” नकरात्मक हल्लाले गर्दा धेरै नोक्सान देखिएको बताउदै मन्त्री शेर्पाले काठमाडौं उपत्यकामा २० प्रतिशत जसो पर्यटनका संरचनामा असर परेको दाबी गरे ।
उनले नेपालस्थित विभिन्न दुतावासका राजदूत र अन्य कुटनीतिक निकायका पदाधिकारीलाई बोलाएर ट्राभल एडभाइजरीमा रहेको गलत सन्देश सहितको सूचना हटाउन लगाउने आवश्वास पनि दिए । मन्त्री शेर्पाले अग्ला हिमाल आरोहण गरेका स्वदेशी र विदेशी आरोहीलाई विशेष दुत बनाएर पर्यटन प्रवद्र्धन गर्ने तयारी गरेको बताए । भूकम्प पछिको पर्यटन क्षेत्र उकास्न सरकारले सक्दो पहल गर्ने आश्वासन दिएका मन्त्री शेर्पाले पर्यटनको सिमित क्षेत्रमा मात्र असर पारेकोले आगामि सिजनमा केहि पर्यटक भित्रयाउने गरि काम गर्न लागेको जनाए। उनले भने “भूकम्पले धेरै क्षति नपुगेपनि हल्ला बढि भएको छ, यसलाई चिर्न सवै लाग्नु पर्दछ । ”
पिटिआरसीका संचार संयोजक टिकाराम सापकोटाले पर्यटन बोर्ड सिइओविहीन हुँदा भूकम्पछिको प्रवद्र्धनमा कठिनाई परेको गुनासो गरे । उनले छिटो बोर्डलाई पूर्णत दिन माग गरे । पिटिआरसीका संयोजक गणेशबहादुर भट्टराइले भूकम्पपछि पनि पर्यटन क्षेत्र खस्किन नपाओस भनेर आफुहरु एकजुट भएर लागेको बताए । भारत र चीनमा पुगेर पर्यटन व्यवसायीले प्रवद्र्धनात्मक गतिविधि गर्ने आफुहरुले तयारी गरेको समेत भट्टराईले बताए ।
अहिलेकै अवस्थामा प्रवद्र्धन नगरे आगामि दिनमा पोखरामा प्रयाप्त पाहुना भित्रयाउन नसकिने उनले दाबी गरे । ट्रेकिङ एजेन्टस एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष रामचन्द्र शर्माले पदयात्रा क्षेत्रमा मोटरबाटोले पनि अप्ठेरो पारेकोले आगामि दिनमा विकल्प खोजिनु पर्ने बताए । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष गोपिबहादुर भट्टराईले अहिले पर्यटन क्षेत्र पूनरुत्थान गर्न सबैको सहयोग आवश्यक भएको बताए ।
नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्ष पोमनारायण श्रेष्ठले विभिन्न विमा कम्पनिले नेपाल आउने विदेशी पर्यटकको बिमा गर्न हिच्किचाएकोले समस्या आएको बताए । पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले पोखराको पर्यटन क्षेत्रमा करिब ८० खर्ब रुपैयाँ लगानी रहेकोले पर्यटन क्षेत्रलाई सुरक्षित रुपमा राख्न सवैले सहयोग गर्न आग्रह गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले टुर अपरेटर्स मार्फत सरकारले सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरे । उनले गलत सन्देशका कारण नै अहिले धेरै पर्यटक नेपाल आउन तर्सेको दाबी गरे । नेपाल माउन्टेनियरिङ एशोसिएसन (एनएमए) का अध्यक्ष आङछिरिङ शेर्पाले आगामि सिजनमा पर्यटक भित्रयाउन नसके त्यसको मार अन्य सिजनमा पर्ने दाबी गरे ।