ताजा खबर

२२ सेकेन्डअघि भूकम्पको ‘वार्निङ’

काठमाडौं, २०७२  असार ४,

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले भूकम्प आउनुभन्दा १० देखि २२ सेकेन्डअघि नै जानकारी दिने प्रविधि जडान गरेको छ । चीन सरकारको अनुदान सहयोगमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पु¥याउन मोबाइल एप, एफएम रेडियो, अस्पताल तथा सार्वजनिक ठाउँमा साइरन प्रयोग गरिनेछ । नास्टले बिहीबार खुमलटार कार्यालयमा मुख्य सिस्टम जडान गरेको छ ।
नास्टका उपकुलपति प्राध्यापक डा. जीवराज पोखरेलका अनुसार भूकम्प आउनुअघि जानकारी दिने यो प्रणाली नेपालमै पहिलो पटक ल्याइएको हो । “सुरुमा चिनियाँ सहयोगका ८० सेन्सर राखेर काम सुरु हुनेछ, देशभर राख्न ३२० सेन्सर चाहिन्छन्, जुन नास्टले नै किन्नुपर्नेछ,” उनले भने ।

चीनको इन्स्टिच्युट अफ केयर लाइफ (आईसीएल) सिचुवानले नास्टलाई यो प्रविधि र उपकरण प्रदान गरेको हो । भूकम्पको केन्द्रबिन्दु जति नजिक हुन्छ, सेन्सरले त्यति छिटो जानकारी पठाउँछ । नेपालका विभिन्न क्षेत्र पहिचान गरेर सेन्सर जडान गरिने पोखरेलले बताए ।
भूकम्प गइरहने मुलुकहरू जापान, मेक्सिकोले ७ सेकेन्डदेखि १ मिनेटअघिसम्म ‘अर्ली वार्निङ सिस्टम’ सञ्चालनमा ल्याएका छन् । नेपाल भूकम्पीय जोखिमयुक्त मुलुक भए पनि हालसम्म यस्तो प्रविधि नहुँदा मानवीय क्षति बढी भएको छ । वैशाख १२ को विनाशकारी भूकम्पमा यो प्रविधि भएको भए मानवीय क्षति एकदमै न्यून हुने दाबी नास्टको छ ।

नेपालका विभिन्न क्षेत्रमा जडान गरिने सेन्सरले केन्द्रीय सिस्टममा जानकारी पठाउँछन् । प्राइमरी वेभमा भूकम्प आइसकेपछि सेकेन्डरी वेभसम्म आउन लाग्ने समयबीचको अवधिमा सेन्सरहरूले केन्द्रीय सिस्टमलाई अवगत गराइसक्छन् । प्राइमरी वेभमा आएको भूकम्पअनुसार कति म्याग्निचुड भन्ने जानकारी पनि आउँछ । यो सिस्टमका लागि उच्च गतिको इन्टरनेट र विद्युत् चाहिने भएकाले दूरसञ्चार÷इन्टरनेट सेवाप्रदायक र विद्युत् प्राधिकरणसँग छलफल भइरहेको नास्टले जनाएको छ ।
यो सिस्टमले दिने सूचना चिनियाँ भाषामा भएकाले अंग्रेजी र नेपाली भाषामा रुपान्तरण गर्ने क्रम जारी रहेको पोखरेलले बताए । अरु माध्यमभन्दा मोबाइल एप बढी प्रभावकारी हुने भन्दै नास्टले यसैमा जोड दिएको छ । सँगसँगै एफएममा ‘अर्जेन्ट’ सूचना र संवेदनशील क्षेत्रमा साइरन पनि प्रयोग गरिनेछ ।

“नेपालमा स्मार्टफोन प्रयोगकर्ता बढ्दै गएकाले एप बढी प्रभावकारी हुन्छ,” पोखरेल भन्छन्, “मोबाइल अधिकांश समय व्यक्तिसँगै हुने भएकाले यसमै जोड दिँदैछौं ।”
नास्टका अनुसार ३ वटा सेन्सर नेपाल आइसकेका छन् । एउटा बिहीबार खुमलटारमा जडान गरिएको छ । प्रारम्भिक सफलतापछि देशका कुनाकाप्चामा सेन्सर राखिने पोखरेलले बताए ।

स्रोत : कारोबार

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *