ताजा खबर

केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्डको तयारी पूरा

दिननाथ बराल,

२०७२ असार ४ ,
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्ने सातौं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।
प्रतियोगिताको तयारी पूरा भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड सञ्चालन तथा व्यवस्थापन समितिका सचिव एवं राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले जानकारी गराए । प्रतियोगिता पोखरा रंगशाला हातामा शनिबारदेखि सुरु हुँदैछ ।

प्रतियोगिता पहिलोपटक मोफसलमा हुन लागेको हो । अघिल्ला सबै संस्करण काठमाडौंमा भएको थियो ।
गत बेशाखको शक्तिशाली भूकम्प र लगातारको पराकम्पनका कारण दुईपटक प्रतियोगिताको मिति स्थागित भएको थियो । यसअघि बैशाख २७ देखि २९ तथा जेठ २४ देखि २६ गतेसम्म प्रतियोगिता काठमाडौंमा हुने भनिएको थियो ।

एथलेटिक्समा २६, भलिबलमा २, करातेमा ८ तथा उसु र तेक्वान्दोमा ६–६ गरी जम्मा ४८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । पाँच विकास क्षेत्रबाट जम्मा ३ सय ६० खेलाडीको सहभागिता रहनेछ ।
टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसमा एथलेटिक्स र भलिबलको पदकलाई मात्र निश्चित अंक दिइ टिम च्याम्पियनको घोषणा गरिनेछ ।

पाँचै खेलको व्यक्तिगत स्पर्धामा पहिलो हुनेले ३ हजार, दोश्रोले २ हजार र तेश्रोले १ हजार नगद पुरस्कार हात पार्नेछन् । त्यस्तै समूहगतमा पहिलोले १ हजार ५ सय, दोश्रोले १ हजार र तेश्रोले ५ सय नगद पुरस्कार जित्नेछन् । कुल नगद पुरस्कार राशी ४ लाख १४ हजार रुपैयाँ रहेको छ । विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान भंग गर्ने खेलाडी १० हजार नगद पुरस्कारको हक्दार बन्नेछ ।
पाँच विकास क्षेत्रको प्रत्येक क्षेत्रबाट एक सर्वोत्कृष्ट र एक उत्कृष्ट विद्यालय छनोट गरी नगद पुरस्कार समेत प्रदान गरिने घिमिरेले जानकारी दिएका छन् । सर्वोत्कृष्टलाई ३ लाख र उत्कृष्ट विद्यालयलाई २ लाख नगदबाट पुरस्कृत गरिनेछ । प्रतियोगिता सोमबारसम्म चल्नेछ ।

कुशल र सनितालाई स्वर्ण
कुशल न्यौपाने र सनिता भट्टराईले साउन्ड टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।
कीर्तिपुरस्थित लेबोरेटरी उमाविमा भएको पुरुष एकलको फाइनलमा कुशलले सागर लामालाई ११–९ र ११–७ ले पराजित गरे । फुर्निमा शेर्पा र क्षत्रबहादुर तामाङ तेश्रो भए ।

युवा साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला खेलकुद विकास समिति, युवा सूचना केन्द्र, काठमाडौं र नेपाल पारा ओलम्पिक कमिटीको आर्थिक सहयोगमा नेपाल दृष्टिविहीन टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला एकलको उपाधि भिडन्तमा सनिताले बर्मा बुढा मगरलाई ११–३ र ११–५ को सोझो सेटमा हराइन् । सरिता अर्याल र हीराकुमार खत्रीले तेश्रो स्थानमा चित्त बुझाए ।
विजेतालाई तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक महेन्द्रकुमार राईले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

प्रतियोगिताअघि दृष्टिविहीन टेबलटेनिस संघले जेठ ५ गतेदेखि असार ३ गतेसम्म साउन्ड टेबलटेनिस प्रशिक्षण आयोजना गरेको थियो । काठमाडौं जिल्ला खेलकुद विकास समितिका साउन्ड टेबलटेनिस प्रशिक्षक कुमार पौडेल र राजु महर्जनले प्रशिक्षण सञ्चालन गरेका थिए । प्रशिक्षणमा समान १५–१५ पुरुष र महिला गरी ३० जना सहभागी थिए । प्रशिक्षणमै सहभागीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरेका हुन् ।

बक्सिङमा अरुणलाई स्वण

ओलम्पिक डेको अवसरमा पोखरामा आयोजीत बक्सिङ प्रतियोगितामा अरुण गुरुङले स्वण पदक जितेका छन् । उनले ४९ केजी तौलसमूहतर्फ किसन गुरुङलाई पराजीत गर्दै स्वर्ण पदक जितेका हुन् । त्यसैगरि ५६ केजीतर्फ मिलन थापा मगर अमृत गुरुङलाई हराउँदै स्वर्ण जिते ।

६४ केजीतर्फ योक्ता राजले लिलाराज गुरुङलाई हराउँदै स्वर्ण जिते । त्यैगरि ६० केजीसमूहको प्रतिस्पर्धामा अविनाश गुरुङले स्वर्ण जिते भने टेकबहादुर कुँवरले रजत जिते ।
६५ केजीतर्फ सुमित पुनले गणेश सुनारलाई हराउँदै स्वर्ण जिते । त्यसैगरि ८१ केजीको हेभि तौलतर्फ मधुसुदन श्रेष्ठले स्वर्ण र सुजित गुरुङले रजत जिते ।

९१ क्ेजीमा दर्शन गुरुङले दिपक परियारलाई हराउँदै प्रथम स्थान हासिल गरे । ४९ खतर्फ अजय मानन्धर र विष्णु गौतम क्रमश प्रथम र दोस्रो भए । ६४ गतर्फ मन्जित मगरले स्वर्ण र मानबहादुर मगरले रजत जिते । ६९ केजीमा आशिष गुरुङले स्वर्ण र विशाल श्रेष्ठले रजत जिते । राहिेत गुरुङले ५६ केजीमा स्वर्ण जिते भने रसबहादुर गुरुङले रजत जिते ।
त्यसैगरि महिलातर्फ ५२ केजीमुनिको तौलसमूहमा शिसमा थापाले सोनी लामालाई हराउँदै स्वर्ण जितिन् । खेलाडीलाई ओलम्पिक कमिटीका सदस्य तथा नेपाल बक्सिङका अध्यक्ष राजीव श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । नेपाल ओलम्पिक कमिटीअन्तर्गत रहेको स्पोट्स फर अल कमिसनको आयोजनामा गत १३ जुनदेखि ओलम्पिक डे कार्यक्रमका विभिन्न गतिविधि सचालन भइरहेको छ । २३ जुनलाई ओलम्पिक डेका रुपमा मनाइन्छ । यस पटक विपत्सँग हामी लड्न सक्छौ भन्ने नाराका साथ ओलम्पिक डे मनाइदै छ ।

फेन्सिङको पुरुष व्यक्तिगततर्फ छितिज प्रथम
ओलम्पिक डेको अवसरमा आयोजीत फेन्सिङ प्रतियोगिता पुरुष व्यक्तिगत प्रतिस्पर्धामा छितिज विक्रम हमालले स्वर्ण पदक जितेका छन् । नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठका अनुसार पुरुष व्यक्तिगत प्रतिस्पधामा विजय गुरुङले रजत र कपिल विक तथा आनन्द हरिजनले काश्य पदक जिते ।त्यसैगरि महिला व्यक्तिगतर्फ रुक्सना मियाले स्वर्ण जितिन् । सुजता गुरुङले रजत जितिन् । सुनिता गुरुङ र सम्झना भुसालले काश्य पदक जिते ।

पुरुषको टिम इभेन्टतर्फ हिमालयन फेन्सिङ क्लबले स्वर्ण पदक जितेको छ । पोखरा टप माउन्टेन क्लबले रजत जित्यो । सहिद स्मृति क्लवले काश्य पदक जितेको सुजन श्रेष्ठले बताए ।
महिलाको टिम इभेन्टतर्फ पोखरा टप माउन्टेनले स्वर्ण पदक जित्यो । भने शहिद स्मृतिले रजत जित्यो । विजेतालाई नेपाल ओलम्पिक कमिटीका सदस्य राजीव श्रेष्ठ, फेन्सिङका महासचिव सुजनलाल श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *