धनकुटा, असार ४,
सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा बिहीबार झापा–११ ले धनकुटा ‘रातो’ लाई १–० ले हराएको छ ।
झापाका लागि एक मात्र गोल कर्ण लिम्बूले गरे । खेलको सुरुदेखि नै धनकुटा ‘रातो’ लाई दबाबमा राखेको झापाले पहिलो हाफमा कुनै गोल भने गर्न सकेन । खेलको ५२ औं मिनेटमा झापाका लागि विशाल राईको पासमा कर्ण लिम्बूले गोल गरे । उक्त गोल झापालाई फाइनलसम्मको यात्रा गराउन सफल भयो । खेलको सुरुमै झापाका कर्ण लिम्बूको कडा प्रहारलाई धनकुटाका गोलकिपर किरण चेम्जोङले बचाए । रवि थापाको प्रहार पोलमा लागेर फर्किएपछि झापाले अर्को गोलको मौका गुमाएका थिए । झापाका खेलाडीले हातले बल छोएपछि पाएको फ्रिकिकलाई धनकुटाका सुजल श्रेष्ठले पोस्टको दिशा दिन सकेनन् ।
स्रोत : कान्तिपुर