हेटौंडा, २०७२ असार ४,
पहाडी क्षेत्र र तराईलाई आपूर्ति सहजमा सेतुको भूमिकाका लागि पाँच दशकअघि स्थापना भएको हैटौंडा औद्योगिक क्षेत्र पछिल्लो समय सरकारी नीतिकै कारण ओझेलमा परेको छ ।
सरकारले उद्योग दर्ता गर्ने, दर्ता भएकाको संरक्षण, उद्योगमैत्री वातावरण तथा कानुनहरू निर्माण नगरिदिएकाले योसँगै मुलुककै औद्योगिक क्षेत्र ओझेलमा परेको उद्योगीको गुनासो छ । सरकारले २०२० सालमा मध्य तराईका साथै काठमाडौं र पोखरालगायतका क्षेत्रमा उत्पादित सामग्री सहज बनाउन यो औद्योगिक क्षेत्रको स्थापना गरेको थियो । सुरुवाती चरणमा यसले राम्रो फड्को मारे पनि दुई दशकयता सुस्त बनेको छ ।
अहिले पनि औद्योगिक क्षेत्रको राष्ट्रिय अर्थतन्त्रमा ३ प्रतिशत योगदान दिइरहेको छ । राष्ट्रिय औद्योगिक गणना २०६९ अनुसार मकवानपुर जिल्लाका औद्योगिक प्रतिष्ठानले मुलुकको अर्थतन्त्रमा ३ दशमलव ६६ प्रतिशत योगदान पुर्याउने गरेको छ । समग्र औद्योगिक प्रतिष्ठानले करिब ८० अर्ब रुपैयाँबराबरको योगदान गर्ने रहेको छ । मकवानपुरले मात्र २ अर्ब ९६ करोडको योगदान पुर्याएको तथ्यांक अधिकृत नवराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरूले मात्र बर्सेनि करिब साढे ७ अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाउने गरेका छन् । ‘अझ बढी हुन्थ्यो,’ पौडेल भन्छन्, ‘तर अपेक्षित रूपमा औद्योगिक क्षेत्रको प्रगति हुन नसक्दा यतिमै सीमित छ ।’
औद्योगिक क्षेत्रभित्र उद्योगीले निर्माण गरेको भौतिक पूर्वाधारहरू वित्तीय संस्थामा धितो राखेर ऋण लिने व्यवस्था नहुनाले पनि फैलिन नपाएको उद्योगीको गुनासो छ । सरकारको प्रतिनिधिका रूपमा रहेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगीका पक्षमा काम नगरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने बताउँछन् । ‘ऐन कानुन पनि उद्योगमैत्री छैन,’ उनले भने, ‘मजदुर युुनियनको अस्वस्थ प्रतिस्पर्धा पनि उद्योग विस्तार र प्रवद्र्धनको बाधक बन्न गएको छ ।’
नियमनकारी निकायलाई सरकारले सक्षम र बलियो नबनाएका कारणले औद्योगिक क्षेत्रको विकासमा योगदान पुग्न नसकेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रबन्धक दिलीप श्रेष्ठको भनाइ छ । ‘नियमनकारी निकायबारे सरकार स्पष्ट छैन,’ उनले भने, ‘उद्योग दर्ता गर्ने काममा मात्र सरकार सीमित छ, उद्योगमैत्री वातावरण बनाउने कार्यमा ध्यान दिएको देखिँदैन ।’ उद्योगहरू विस्थापित भएका छन् भने नयाँ–नयाँ लगानीकर्ताहरू आकर्षित हुन सकेनन् । दल आबद्ध युनियनले औद्योगिक क्षेत्रलाई ‘बन्दमुक्त’ घोषणा गरे औद्योगिक क्षेत्रले फड्को मार्ने उद्योगीको भनाइ छ । तर, मजदुरको अस्वस्थ मागका कारण स्थापना भएका उद्योग पनि समस्यामा रहेको उद्योग वाणिज्य संघ मकवानपुरका ऋषिराम घिमिरे बताउँछन् ।
जिल्लाका उद्योग प्रतिष्ठानमा करिब ६ अर्ब लगानी छ । करिब ९ अर्ब रुपैयाँबराबरको औद्योगिक उत्पादन गर्ने तथ्यांकले देखाउँछन् । मुलुकभरका उद्योग प्रतिष्ठानमा कार्यरत कर्मचारीहरू १५ प्रतिशतले वृद्धि भएको छ । तर, यो जिल्लामा ४ दशमलव १८ प्रतिशत घटेको छ ।
कस्ता–कस्ता उद्योग
उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र निर्माण सामग्री उद्योगहरू आठवटा छन् । सात उद्योग सिमेन्टका विभिन्न किसिमका सामग्री उत्पादन गर्नेछन् । औद्योगिक क्षेत्रमा विविधखाले प्लास्टिकका सामान उत्पादन गर्ने साना र मझौला गरेर १५ उद्योग सञ्चालित छन् । प्लास्टिकको बिर्को उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी क्लोजर सिस्टम इन्ट पनि छ । एमएम पोलिर्स प्रालिले कोक, फेन्टालगायतका प्लास्टिकको बोतल उत्पादन गर्छ । विद्युत् तथा विद्युत्का सामान उत्पादन गर्ने २ उद्योग छन् । यसैगरी खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने उद्योग ११ वटा छन् । खाद्य उद्योग लिमिटेडदेखि सन्नी डिस्ट्रिलरी उद्योगसम्म छन् । फर्निचर र काठ चिरान उद्योग १० वटा छन् । इन्जिनियरिङ सेवा उद्योग ७ वटा छन् । औद्योगिक क्षेत्रभित्र प्याकेजिङ सामान उद्योग ३ वटा छन् । रङरोगन र केमिकल उद्योग ८ वटा छन् । रङरोगन उद्योगमध्ये २ वटा बहुराष्ट्रिय कम्पनीका उद्योग छन । एसियन पेन्ट्स र बर्जर बहुराष्ट्रिय उद्योग हुन् । पोल्ट्री दाना उद्योग २ वटा छन् भने टेक्सटायल उद्योग एउटा छ । खानीजन्य र अन्य उद्योग गरी ८ वटा उद्योग औद्योगिक क्षेत्रमा छन् ।
औद्योगिक क्षेत्रमा ८१ वटा उद्योग सञ्चालन भए पनि बहुराष्ट्रिय कम्पनी ३ वटा मात्र छन् । एसियन पेन्ट्स, क्लोजर सिस्टम इन्ट र बर्जर उद्योग हुन् । यहाँ रहेका उद्योगहरू मानवीय श्रममा आधारितभन्दा पनि स्वचालित र आधुनिक रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रबन्धक श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार औद्योगिक क्षेत्रभित्र १५ उद्योग निर्माणाधीन छन् । ह्याचरीदेखि पेन्ट्स उद्योगसमेतको निर्माणकार्य भइरहेको छ । व्यवस्थापन लिमिटेडसँग १० उद्योगका लगानीकर्ताले स्थापनाको सम्झौता गरेका छन् ।
युनाइटेड ब्रुअरी जेठो उद्योग
२ हजार ८ सय २९ रोपनीमा फैलिएको औद्योगिक क्षेत्रका ८१ उद्योगमध्ये सबैभन्दा पुरानो युनाइटेड ब्रुअरी हो । यो उद्योग औद्योगिक क्षेत्र स्थापना भएको २ वर्षमै सञ्चालनमा आएको थियो । अहिलेसम्म सञ्चालनमै छ । सञ्चालकहरू फेरिए पनि उत्पादनले निरन्तरता पाइरहेको छ । अहिले यो उद्योगको उत्पादन नेपालमा मात्र होइन भारतमा समेत निर्यात हुने गरेको छ । मुलुकको कुल मागको १० देखि १२ प्रतिशत बियर परिपूर्ति गर्ने उद्योगका प्रबन्धक विजय वैद्यको दाबी छ । ‘यकिन तथ्यांक नभए पनि १०/१२ प्रतिशत ओगटेको छ,’ उनले भने । एक सय ६० जनाले रोजगारी पाएका छन् । अर्को पुरानो उद्योग २०२४ सालमा स्थापना भएको नेपाल टोबाको कम्पनी हो । यो उद्योगका नामहरू बेला–बेलामा परिवर्तन भए पनि यसको उत्पादन र सञ्चालक सधैं एउटै छन् । अहिले यो उद्योग गोर्खालहरीको नामबाट सञ्चालित छ । यसले विभिन्न किसिमका चुरोटहरू उत्पादन गर्दै आएको छ ।
बन्द उद्योगहरू
औद्योगिक क्षेत्रभित्र रहेकामध्ये १० उद्योग लामो समयदेखि बन्द छन् । मुलुककै चर्चित कपडा, छाला, घिउ, सिन्थेटिक, महाशक्ति सोपजस्ता उद्योग बन्द छन् । चिनियाँ सरकारको सहयोगमा २०३२ सालमा स्थापना गरिएको हेटौंडा कपडा उद्योग २०५७ सालदेखि बन्द छ । उत्पादित वस्तुहरूले बजारमा प्रतिस्पर्धा गर्न नसकेको र उद्योग व्यवस्थापनको कमजोरीका कारण बन्द भएको हो ।
सरकारले अहिले कपडा उद्योगले चर्चेको जग्गा भवनहरू औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई जिम्मा लगाएको छ । व्यवस्थापनले कपडा उद्योगको जग्गामा उद्योग विस्तारको कार्यक्रम ल्याएको छ । कपडा उद्योगको २ सय ४३ रोपनीमा औद्योगिक पूर्वाधार निर्माण गरेर उद्योग स्थापनाका लागि
आह्वान गरिने श्रेष्ठले जानकारी दिए । ‘पहिलाजस्तो बेथिति गरेर जग्गा दिँदैनौं,’ उनले भने ।
सरकारी गलत नीति र मजदुरको नकारात्मक प्रवृत्तिका कारण बहुराष्ट्रिय कम्पनी कोल्गेट र कोडाक कम्पनी भारततर्फ पलायन भए । बन्द रहेको कपडा उद्योगबाहेक अन्य बन्द उद्योगले २ सय ६५ रोपनी जग्गा ओगटेको छ । व्यवस्थापनले बन्द उद्योगहरूलाई तत्काल सञ्चालन गर्न वा लिमिटेडलाई हस्तान्तरण गर्न पत्राचार गरेको छ । तर, उद्योगीहरूले टेरेका छैनन् । औद्योगिक क्षेत्रमा जग्गाको अभावले गर्दा उद्योगीहरूले उद्योग स्थापना गर्न पाएका छैनन् । ‘खाली छ तर अन्य उद्योगीलाई दिन सकेका छैनौं,’ श्रेष्ठले भने, ‘बन्द उद्योगले जग्गा ओगटेका छन् ।’
सुरक्षित छैन औद्योगिक क्षेत्र
पाँच दशक बितिसक्दा पनि औद्योगिक क्षेत्र अझै सुरक्षित हुन सकेको छैन । औद्योगिक क्षेत्रको आन्तरिक सुरक्षालाई मजबुत बनाउन सरकारले सशस्त्र प्रहरी बलको बेसक्याम्प राखेको छ । तर, पर्याप्त नभएको उद्योगीको भनाइ छ । औद्योगिक क्षेत्रभित्र सार्वजनिक सडक भएका कारणले बढी असुरक्षित बनेको उनीहरूको तर्क छ ।
‘औद्योगिक क्षेत्रभित्र सार्वजनिक सडक भएका कारणले चौबीसै घण्टा औद्योगिक क्षेत्रको प्रवेशद्वार खुला राख्नुपर्ने बाध्यता छ,’ श्रेष्ठले भने । औद्योगिक क्षेत्रभित्र प्रवेश गर्न सर्वसाधारणले पनि स्वीकृत लिनुपर्ने हुन्छ । तर, हेटौंडाको औद्योगिक क्षेत्रभित्र सर्वसाधारण मात्र होइन, सवारीसाधनहरूलाई नै जुनसुकै समयमा पनि आवत–जावत गर्न छुट छ । हेटौंडाका पूर्वी भेकका सवारीसाधन यही बाटो भएर आवत–जावत गर्छन् ।
लामो समयदेखि औद्योगिक क्षेत्रभित्रको सार्वजनिक बाटो बन्द गरी औद्योगिक क्षेत्रभन्दा तल र माथिबाट सवारी आवत–जावत गर्नुपर्ने माग गर्दै आएको छ । तर, कार्यान्वयनमा आउन सकेको छैन । ‘सुरक्षाका लागि पर्खालसम्म छैन,’ श्रेष्ठले भने, ‘लगाइएका तारबारहरू पनि चुँडिएका अवस्थामा छन् ।’
औद्योगिक क्षेत्रभित्र एउटा वारुणयन्त्रसमेत छैन । आगलागी भए नगरपालिकाको वारुणयन्त्रमा भर पर्नुपर्ने बाध्यता छ । चुरियामाईको जंगलसँग जोडिएको औद्योगिक क्षेत्रमा २०३९ सालमा ठूलो आगलागी भएको थियो । त्यतिबेला ५५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको थियो । उक्त आगलागी नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । ‘औद्योगिक क्षेत्र व्यवस्थापनले उद्योगीसँग भाडा मात्र लिने गरेको छ,’ उद्योग संघ हेटौंडाका अध्यक्ष घिमिरेले भने, ‘औद्योगिक क्षेत्रभित्र सुरक्षा अत्यन्त कमजोर छ ।’
लोडसेडिङको समस्या
लोडसेडिङको कारणले हेटौंडा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरू पूर्ण क्षमताका साथ सञ्चालनमा आउन सकेका छैनन् । तीन सिफ्ट चल्ने उद्योगहरू एक सिफ्टमा खुम्चिनुपरेको छ । ‘लोडसेडिङको कारणले गर्दा औद्योगिक क्षेत्र उत्पादकत्वमा ह्रास आएको छ,’ उद्योग संघ मकवानपुरका अध्यक्ष घिमिरेले भने, ‘मुलुकको अर्थतन्त्र र रोजगारीमा योगदान पुर्याउने तथा आयात प्रतिस्थापन गर्ने औद्योगिक क्षेत्रलाई प्राधिकरणले चौबीसै घण्टा विद्युत् आपूर्तिको व्यवस्था गर्नुपर्छ ।’ लोडसेडिङका कारणले गर्दा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूको सरदर ४० प्रतिशत उत्पादनमा ह्रास आएको छ । औद्योगिक क्षेत्रमा अहिले १२ घण्टा लोडसेडिङ हुने गरेको छ ।
भूकम्पको असर
०७२ वैशाख १२ गते आएको भूकम्प र त्यसपछिका परकम्पहरूले हेटौंडा औद्योगिक क्षेत्रमा खासै ठूलो असर वा नोक्सानी गरेन । भूकम्प आएको एक सातासम्म औद्योगिक क्षेत्रका सबै उद्योगहरू बन्द भएका थिए । बहुराष्ट्रिय कम्पनीका उद्योगहरू दुई सातासम्म बन्द भएका थिए । उनीहरूले बाहिरबाट प्राविधिकहरू ल्याएर उद्योगका मेसिनहरू परीक्षण गराएपछि मात्र सञ्चालनमा ल्याएका थिए । ‘भूकम्पले औद्योगिक क्षेत्रका उद्योगहरूलाई खासै नोक्सानी पुर्याएको छैन,’ उद्योग संघ हेटौंडाका अध्यक्ष ऋषिराम घिमिरले भने, ‘औधोगिक क्षेत्रभित्रका पुराना केही भवनहरू भत्केका छन् ।’ औद्योगिक क्षेत्रमा सबै उद्योगहरू सुचारु छन् भने अर्कोतिर निर्माणाधीन उद्योगहरूले पनि निरन्तरता दिइरहेका छन् ।
स्रोत : कान्तिपुर