ताजा खबर

एसएलसीको नतिजा सार्वजनिक, ४७.४३ प्रतिशत उत्तीर्ण

२०७२ असार ४,

काठमाडौं: २०७१ को एसएलसी (प्रवेशिका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष  ४७.४३  प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्षको एसएलसीमा ५३.९४ प्रतिशत पुरुष र ४४.९६ प्रतिशत महिला परीक्षार्थी उत्तीर्ण भएका छन् ।

त्यसैगरी २१ हजार २  सय ४७ जना डिस्टिङ्सन ल्याइ उत्तीर्ण भएका छन् । १२ हजार ४ सय २६ पुरुष र ८८ सय २१ महिला परीक्षार्थीले डिस्टिङ्सन ल्याएका छन् ।

९० हजार १ सय ७६ जना परीक्षार्थी फस्ट डिभिजन ल्याउँदै उतीर्ण भएका छन । जसमा ५२ हजार ५ जना पुरुष  र ३८ हजार एक सय ७१ महिला परीक्षार्थी रहेका छन् ।

सेकेन्ड डिभिजन ल्याएर ७६ हजार ४ सय ८२ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । जसमा ४२ हजार एक सय ७३ जना पुरुष र ३४ हजार ३ सय ६ महिला परीक्षार्थी रहेका छन् ।

थर्ड डिभिजनमा छात्र दुई हजार ४३६ जना र छात्रा एक हजार ९२६ जना उत्तीर्ण भएका छन् ।

यो वर्ष गत वर्षभन्दा ४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका हुन् । गत वर्ष ४३.९२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।

गत वर्षको एसएलसी (प्रवेशिका) परीक्षामा नियमिततर्फ ३ लाख ९४ हजार ९ सय ३३ ले परीक्षा दिएकामा १ लाख ७३ हजार ४ सय ३६ उत्तीर्ण भएका थिए ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले एसएलसीको नतिजा एसएमएस, आइभीआर र वेबसाइटमा  थाहा पाउन सकिने जानकारी दिए ।

परीक्षा नियन्त्रक द्वारेले इन्टरनेटबाट हेर्न नसक्नेहरुले एसएमएसबाटै परिणाम थाहा पाउन सकिने बताए । ‘नतिजा थाहा पाउन आफ्नो मोबाइलको म्याजेज बक्समा SLC लेखेर एक स्पेस दिएपछि सिम्बोल नम्बर लेखी  १६००,५००१, ५२२५, ५५६६, ४९४९ र  ७६७६ मा एसएमएस गर्नुहोला’, द्वारेले भने, ‘नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि नतिजा जान्न सक्नुहुन्छ ।’

एसएलसीको परिणाम शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मार्फत पनि थाहा पाउन सकिने सुविधा छ । त्यसैगरी अन्य सरकारी साइटहरुमा शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यालयकै वेबसाइट www.soce.gov.np बाट पनि नतिजा जान्न सकिने छ ।

त्यसैगरी नेपाल टेलिकमको वेबसाइट www.slc.ntc.net.np मा गएर पनि एसएलसीको नतिजा थाहा पाउन सकिनेछ ।

एकजाम्टेडतर्फ उत्तीर्ण दर न्यून
यसै वर्ष सञ्चालित एसएलसी एक्जाम्टेडतर्फको परीक्षामा १३.८० प्रतिशतमात्र परीक्षार्थी उत्तीर्ण हुन सफल भएका छन् ।

एक्जाम्टेडतर्फबाट जम्मा २ जना विद्यार्थीले मात्र डिस्कटिन्सन ल्याउन सफल भएका छन्। डिस्टिङ्सन ल्याउनेमा एक पुरुष र एक महिला परीक्षार्थी छन् ।

त्यसैगरी फस्ट डिभिजन ३ सय ४८ जना विद्यार्थी फस्ट डिभिजन ल्याएर उत्तीर्ण भएका छन् । जसमा १८५ पुरुष र १६३ महिला परीक्षार्थी रहेका छन् ।

एक्जाम्टेडतर्फ सेकेन्ड डिभिजन ल्याएर ११ हजार ४ सय १३ विद्यार्थी सफल भएका छन् । जसमा ६५ सय ९८ पुरुष र ७८ सय १५ महिला परीक्षार्थी रहेका छन् ।

थर्ड डिभिजन ल्याएर ४ हजार १५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । थर्ड डिभिजनमा उत्तीर्ण हुनेमा १९ सय १६ जना पुरुष र २ हजार ९९ सय जना महिला परीक्षार्थी छन् ।

अनुर्तीण भएकाहरुको पूरक परीक्षा साउन २० गते देखि सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

२ विषय लाग्नेलार्इ ग्रेस मार्क
परीक्षा नियन्त्रण कार्यालयले २ विषय लाग्ने परीक्षार्थीहरुलार्इ ५ ग्रेस मार्क दिएर उत्तीर्ण गराएको जानकारी दिएको छ ।

शिक्षा सचिव विश्वप्रकाश पण्डितले २ विषय लाग्नेलार्इ ५ ग्रेस मार्क दिएर उत्तीर्ण गराइएको नतिजा सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्राविधिकको एक सातापछि आउने
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने भएको  छ । श्रेणीकरण पद्धतिबाट प्राविधिक तर्फको नतिजा निकालिने द्वारेले बताए ।

यस वर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६८५, पुनःपरीक्षातर्फ एक लाख ४५ हजार १८३ तथा प्राविधिकतर्फ तीन हजार दुई सय ८८ छन् । परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो ।

चैत ५ गतेबाट भएको प्रवेशिका (एसएलसी) परीक्षामा पाँच लाख ७२ हजार २०७ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ चार लाख २७ हजार ८२ र आम्सिकतर्फ एक लाख ४५ हजार १२५ विद्यार्थी सहभागी भएका थिए ।

कार्यालयका अनुसार परीक्षामा मनाङमा सबैभन्दा थोरै ७४ जना र सबैभन्दा धेरै काठमाडौँमा ३४ हजार ४२१ विद्यार्थी एसएलसी परीक्षामा सहभागी भएका थिए ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts