२०७२ असार ३,
धनकुटा : भीमनारायण अन्तर्राष्टिय गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा आयोजक धनकुटा रातोलाई १-० ले हराउँदै झापा ११ उपाधिनजिक पुगेको छ ।
बिहीबार भएको पहिलो सेमीफाइनलमा दोस्रो हाफको १२ औं मिनेटमा विशाल राईको पासमा कर्ण लिम्बूले गरेको गोल झापाका लागि उपाधि नजिक पुर्याउन निर्णायक बन्यो ।
थ्रीस्टार र मनाङका खेलाडीसहित उत्रेको धनकुटालाई हराउने क्रममा झापाका कर्ण लिम्बू र गणेश खड्काले गोलका आधा दर्जन प्रयास गरेका थिए ।
झापाका खेलाडीले हातले बल छोएपछि डिबक्स बाहिरबाट पाएको फ्रिकिक धनकुटाका सुजल श्रेष्ठले सदुपयोग गर्न नसक्दा धनकुटाका खेलाडी निराश भएका थिए ।
खेलको म्यानअफ दि म्याच झापा ११ का कर्ण लिम्बू भए । झापाले अब भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्ने छ ।
शुक्रबार फेन्स क्लब बीआरसी भुटान र ब्वाइज युनियन काठमाडांैवीच दोस्रो सेमिफाइनल भिडन्त हुने ।
यो प्रतियोगिताका विजेताले नगद एक लाख पाँच हजारसहित गोल्डकप र उपविजेताले नगद ६० हजार र ट्रफी पाउने छन् ।
स्रोत : अन्नपुर्णपोस्ट