ताजा खबर

त्रिपालमा अझै लुछाचुँडी

बन्सार (लमजुङ), असार ३,
ढोडेनी ४ की देवीमाया घले त्रिपाल लिन बिहान ७ बजे बन्सारको हिलेबजार आइपुगिन् । साँझ ५ बजे मात्र त्रिपाल उनको हातमा पर्‍यो ।

दुवार घर भई हिलेबजारमा बस्दै आएकी बुधमाया गुरुङले नजिकै बाँडिएको त्रिपाल पाइनन् । दुवारकै बजरी विकले बल्लतल्ल पाइन् । ‘राहतको त्रिपाल खोसाखोस भयो,’ त्रिपाल वितरणका स्थानीय संयोजक टीकाराम घलेले भने, ‘सामाजिक काम गर्न धेरै गाह्रो, नपाउनेले गाली पनि गरे ।’ जिल्ला दैवी प्रकोप उद्धार समितिले सबै पीडितलाई राहत सामग्री वितरण गरिएको दाबी गर्दै आएको छ । पीडित भने अझै त्रिपालमै लुछाचुँडी गरिरहेका छन् ।

‘राहत भनेर चिउरा, चाउचाउ, आलु, प्याज र सानो पाल पाइयो,’ देवीमायाले भनिन्, ‘बिस्कुन सुकाउन पनि नहुने पालले कसरी वर्षा छेक्ने ।’ बुधमायाको परिवार भने घरमा बस्न नमिल्ने भएपछि आफैंले किनेको पाल भान्सा नजिकै टाँगेर बसेको

छ । ‘सरकारले दिएको कालो प्लास्टिक चुहिने रहेछ,’ उनले भनिन्, ‘बच्चाहरू कुखुराको खोरमा सुत्छन्, बूढाबूढी टारमुनि ।’लौराको सहारामा त्रिपालको लाइनमा भेटिएका ७७ वर्षीय विशुराज गुरुङ त्यसले ठाडो र तेर्सो पाली ढाक्न पुग्ने आशामा थिए ।

‘टिन किनौं सम्पत्ति छैन । भित्रै बसौं मर्ने डर,’ हिलेटक्सार १ बाट साढे ३ घण्टा हिँडेर आएका जसबहादुर गुरुङले त्रिपाल पाएकामा खुसी व्यक्त गरे । भूकम्पपीडितलाई तमू समाज बेलायतले त्रिपाल वितरण गरेको हो । बाँझेखेत ६ भाचोकबाट वडा संयोजक प्रेमराज गुरुङसहित ३ युवा आएका थिए । गाउँमा सबैभन्दा बढी पीडितलाई बाँड्ने उनीहरूको योजना छ ।

‘महाभूकम्पको भोलिपल्टै बैठक बोलाएर राहत संकलन थाल्यौं,’ समाजका उपाध्यक्ष शिवचन्द्र गुरुङले भने । बन्सार र आसपासका गाविसमा त्रिपाल, गोरखाको सौरपानीमा चामल र दाल तथा कास्की लान्द्रुकका पीडितलाई रकम वितरण गरिने उनले बताए । पोखराका अस्पतालमा भर्ना भएका लमजुङ, गोरखा, तनहँु, स्याङ्जा, पर्वतलगायत जिल्लाका घाइतेलाई खाना व्यवस्था मिलाइएको रेडक्रस उपशाखा १०, ११ पोखराका अध्यक्ष सम्मरबहादुर श्रेष्ठले बताए ।

मृतक परिवारलाई सहयोग

भूकम्पका कारण जिल्लामा मृत्यु भएकाको परिवारलाई लमजुङ सम्पर्क समिति यूएईले नगद सहयोग गरेको छ । बिचौर ९ बलेडाँडाका ८१ वर्षीय वाग्दी घले, इलमपोखरी ६ भीरकुनाका ६५ वर्षीय शेरबहादुर तामाङ, ठाँडस्वाँराकी ८९ वर्षीया नेप्टी तामाङ, बिचौर १ घर भई भलायखर्कको मसारोमा बसोबास गर्दै आए पनि इलमपोखरी ५ जामुनेमा ज्यान गुमाएका साढे ३ महिने सुमित विक र कोल्की २ तस्यो घर भइ माइती गौंडा ६ सिमलचौरमा घर भत्किँदा मृत्यु भएकी १९ बर्षीय लक्ष्मी गुरुङको परिवारलाई जनही ४०/४० हजार वितरण गरिएको हो । ‘जिल्लाको पीडामा हामीले सानो साथमात्रै दिएका हौं,’ समितिका महासचिव यमराज तामाङले भने ।

राहत वितरणमा विवाद

नुवाकोट (कास)– राहत वितरणमा विदुर नगरपालिकाको रवैयाप्रति भूकम्पपीडितले असन्तुष्टि जनाएका छन् । प्राविधिक टोलीद्वारा संकलित फारामलाई आधार मानेको भन्दै नगरपालिकाले अस्थायी टहरा निर्माणको १५ हजार र सेल्टरका लागि ५ हजार वितरण थालेको थियो ।

प्राविधिक टोलीले संकलन गरेको विवरणविपरीत नगरपालिकाले आफूखुसी नामावली प्रकाशन गरेको पीडितको भनाइ छ । राष्ट्रिय वाणिज्य बैंक जिल्ला शाखामार्फत मंगलबारदेखि उक्त रकम वितरण सुरु भएको थियो । विवाद आएपछि दोस्रो दिनदेखि बन्द गरिएको प्रबन्धक केशव गजुरेलले बताए ।

आंशिक क्षति भएकालाई पूर्ण र पूर्ण क्षति भएकालाई आंशिकको सूचीमा राखेर नामावली सार्वजनिक भएपछि पीडित आक्रोशित भएका हुन् । निर्देशिका लत्याउँदै वडा सचिवहरूले आफूखुसी तथ्यांक सार्वजनिक गराएको उनीहरूको आरोप छ । सचिवको इच्छाअनुसार एउटा घरलाई ३ वटासम्म बनाएर पूर्ण क्षतिमा नाम समावेश गरिएको विदुर २ की अनिता खरेलले बताइन् । नगरपालिकाले पूर्ण क्षतिलाई २० हजार र आंशिकलाई ३ हजारका दरले राहत बाँडेको छ । प्रकाशित सूचीमा हरेक वडामा १ सयदेखि २ सय घरधुरीको नाम छुटेको छ । कर्मचारीले पक्षपात गरेको पीडितको आरोप छ । ‘प्राविधिकले बस्न उपयुक्त नभएको भन्दै पूर्ण क्षतिमा समावेश गरेको नाम नगरपालिकाबाट हटाइएको छ,’ विदुर ५ का वीरबहादुर तामाङले भने । वडा सचिवहरूले २ हजारका दरले बाँडेको भनिएको राहत रकम किर्ते गरी खर्च गरेको गुनासो यसअघि भूकम्पपीडितले गरेका थिए । त्यसलाई बेवास्ता गर्दै नगरपालिकाले पुन: वडा सचिवलाई नै वितरणको जिम्मेवारी दिएको छ । पछिल्लो सूचीमा करिब २० प्रतिशत नाम छुटाइएको छ । जबकि, ती नाम वडा सचिव र प्राविधिक टोली दुवैले टिपेर लगेका थिए । छुट भएका नामावलीउपर छानबिन गरिने कार्यकारी अधिकृत मानबहादुर खड्काले बताए ।

स्रोत : कान्तिपुर

Related posts