राजविराज, असार ३,
राष्ट्रपति रामवरण यादवले बुधबार जीर्णोद्धार गरिएको प्राचीन ठाकुरबाबा दहको उद्घाटन गरेका छन् । सप्तरीको लोहजारा ३ स्थित उक्त दह वर्षौंदेखि जीर्ण थियो । नेपाली सेनाले ८५ लाख खर्चेर साढे ३ महिनामा जीर्णोद्धार गरेको हो ।
कार्यक्रममा प्रधानसेनापती गौरवशमशेर राणाले उक्त दह संरक्षणका लागि स्थानीय ठाकुरबाबा वन उपभोक्ता समूहका अध्यक्ष जयप्रकाश यादवलाई हस्तान्तरण गरे । कमलको फूल फुल्ने र अति प्राचीन भएकाले दहको जीर्णोद्धार गरिएको राणाले बताए ।
दह परिसरमा ठाकुर बाबाको मन्दिर निर्माण, ३ थान डुंगा र वनभोज स्थल निर्माण गरिएको सहसेनानी इन्जिनियर राजेश देवले जानकारी दिए । उक्त दह ५ हेक्टरमा फैलिएको छ । पर्यापर्यटनबाट वार्षिक ४० हजार र माछा पालनबाट वार्षिक ३० लाखसम्म आम्दानी हुने लक्ष्य राखिएको छ । यस्तै, आसपासको ६ सय हेक्टरमा सिँचाइ सुविधा पुग्ने राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको भनाइ छ ।
पूर्वपश्चिम राजमार्गबाट दहसम्म पुग्ने सडक भने निर्माण हुन सकेको छैन । राजमार्गको जन्डौलबाट करिब ८ किलोमिटर यात्रापछि त्यहाँ पुग्नेछ ।
स्रोत : कान्तिपुर